|

सोलुखुम्बु : हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार बिहानदेखि काम सुरु गरेको छ। मंगलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले बिहान ९:४५ देखि काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए।

४८ मिटर गहिरो उक्त हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिईएको छ। मंगलबार दिउँसो २ बजे खुम्बुपासाङल्हमु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदल यात्रापछि साँझ गोक्यो पुगेको थियो। गोक्योमानै अवतरण गर्ने योजना भए पनि मौसम प्रतिकूलताको कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।

जिल्लामा तालिम प्राप्त जनशक्ति र साधन नहुँदा उद्धारमा समस्या भएकाले ५ जनाको गोताखोरसहितको टोली गोक्यो आएको हो। सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा ५ जनाको गोताखोर टोली गोक्यो पुगेको छ।

खुम्बु पासङ गाउँपालिकाका जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा (क) का सांसद उत्तम कुमार बस्नेत र प्रदेशसभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा गृह मन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रजिअ रानाको भनाइ छ।

उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासङल्हमु गाउपालिकाले लिएको छ। भौगोलिक विकट्ताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने संभावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ। हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बुपासाङ ल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए। उनले भने, 'घट्ना भएपछि गाउँपालिकाको ध्याननै अन्त छैन, गोक्योमा मात्र छ।'

शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बित

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई जना शिक्षकलाई निलम्बन गरिएको छ। गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए। शेर्पाले भने, 'घट्नाको सत्यतथ्य छानबिन गरी कार्वाही प्रकृयामा सहयोग गर्ने उदेश्यले शिक्षकलाई निलम्बन गरिएको हो।'

हिमालयन ट्रष्टको सहयोगमा खुम्जुङका स्थानीय छुङजिङ दोर्जे शेर्पा र भक्तपुरका रन्जित बललाई विद्यालय प्रशासनले मौसम प्रतिकूलता भएकाले शैक्षिक भ्रमण रद्ध गर्न आग्रह गरेका थिए। तर, विद्यालय प्रशासनको उक्त भनाइलाई लक्षित गर्दै उनीहरूले सामाजिक सञ्जालमा प्रशासनको आलोचनासमेत गरेका थिए, अध्यक्ष शेर्पाले भने, 'विद्यालय प्रशासनको निर्देशनविपरीत काम गर्नेलाई कारबाही गर्न गाउँपालिका सकरात्मक छ।'

विद्यार्थी डुबेको भिडियोसमेत बाहिरियो

पौडी खेल्ने क्रममा पौडन नजानेर ती बालक डुबेको भिडियोसमेत सार्वजानिक भएको छ। पाँच/छ जनाको टोली तालको छेउमा पौडी खेल्छन्, छोटो समय पौडी खेल्दै गर्दा एकजनाले आफूले लगाएको भेस्‍टसमेत फुकालेर राख्छन् र पुन: पौडन जान्छन्। सोही क्रममा अर्का एकजना बालक पनि पौडन जान्छन् र लगत्तै पौडन नजानेपछि तालको गहिराइतिर गएको देखिन्छ। सोही क्रममा भेस्‍ट फुकालेर पौडने बालक पनि उनलाई उद्धार गर्न गएजस्तो देखिन्छ।

दुवैजना झन् तालको गहिराइतिर जान्छन् सोही समयमा अर्का एकजना पनि उद्धार गर्न गएजस्तो देखिन्छ। उक्त समयमा माथिबाट रमित हेर्न विद्यार्थी उनीहरूको नाम बोलाउँदै काल्लिन्छन्। पानीमा पौडँदै गरेका साथीलाई उद्धार गर्न अर्का एकजना कालो कपडा लगाएका जान्छन् र एकजनालाई भने तानेर उद्धार गर्न सफल भएको भिडियो सार्वजानिक भएको छ। त्यस समयमा केही विद्यार्थीले डोरी दिनुपर्छ भन्ने पनि आवाज आउँछ।

हिमतालको पानी अत्याधिक चिसो भएको कारण र पौडन नसक्ने भएको कारण बालकको मृत्यु भएको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ। तत्काल पौडी खेल्न सक्ने व्यक्ति भएको भए उनीहरुलाई उद्धार गर्न सकिने सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक रेशमबहादुर पराजुलीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.