सेवाग्राही भन्छन्, ‘हामी ठगिएका होइनौँ, लुटिएका हौँ’

|

जनकपुरधाम : धनुषाको सरकारी कार्यालय अगाडि नै हुलाक टिकट ब्ल्याकमा खुलेयाम बिक्री वितरण हुँदै आएको छ। सरकार मातहत जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूको नियमन तथा निर्देशनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयमै हुलाक टिकट खुलेयाम ब्ल्याकमा बिक्री वितरण भइरहेको सेवाग्राहीहरूको गुनासो छ। 

अधिकांश सरकारी तथा केही गैरसरकारी कार्यालयहरूमा हुलाक टिकट आवश्यक हुने भएकाले कार्यालय लक्षित हुलाक काउन्टरको व्यवस्था नहुँदा टिकट ब्ल्याकमा खुलेयाम बिक्री वितरण भइरहेको हो। सरकारी कार्यालय लक्षित काउन्टरको व्यवस्था जिल्ला हुलाक कार्यालयले गर्न नसक्दा सेवाग्राहीले दोब्बर महँगो मूल्य तिरेर टिकट किनिरहेका छन्। जिल्ला प्रशासन, मालपोत, नापी, यातायात, आन्तरिक राजश्वलगायत प्रदेश तथा स्थानीय निकाय र अन्य गैरसरकारी कार्यालय अगाडि नै ब्ल्याकमा हुलाक टिकटको बिक्री भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ। 

१, २, ५, ८, १०, २०, ५० देखि १०० रुपैयाँसम्मका टिकटहरू किन्न पाइन्छ। तर बाहिरबाट किन्दा यसको मूल्य करिब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका अजयकुमार झाको गुनासो छ। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमै लुटतन्त्र छ, सरकारी अड्डाका कागजपत्र तथा सिफारिसको सरकारी दररेटभन्दा विचौलीयाहरूले चार गुणा बढाएर लिने गर्छन् तर जिल्लाको नियमनकारी निकाय र सिडिओ मुकदर्शक बनेका छन्।’ 

जिल्ला हुलाक कार्यालय धनुषाका प्रमुख रामटहल यादवले हुलाकको काउन्टरबाट बढी मूल्यमा बिक्री नभएको दाबी गरे। तर एक दिनमा ३०० देखि ५०० सम्म व्यापारी तथा सर्वसाधारणदेखि व्यापारीसम्मले टिकट लाने गरेकामा बढी मूल्य बराबरको टिकट लिन आउँदा सिफारिस लिएर मात्र दिने गरेको भए पनि बजारमा पाउने हुलाक टिकट त्यति महँगो कसरी भयो भन्नेमा आश्चर्य प्रकट गरे। उनले भने, ‘हामी यहाँबाट बढी मूल्यको टिकट सिफारिसमा दिन्छौँ, त्यसपछि कसले कसरी बेच्छन्, कतिमा बेच्छन्, हामीलाई जानकारी हुने कुरा भएन।’ 

हुलाक कार्यालयका प्रमुख यादवले अतिरिक्त हुलाक जिल्लाभरिमा संचालनमा रहे पनि बिहान १० बजेदेखि १२ सम्म मात्र खुल्ने र अन्य समयमा बन्द हुने भएका कारण सेवाग्राहीहरू बढी मूल्य तिर्न बाध्य भएको तर्क गर्छन्। उनले भने, ‘सरकारले सेवा सुविधा मिलाए १० बजे नै काउन्टर खोल्न र दिनभरि सेवा दिन सकिन्छ तर अतिरिक्त हुलाक कार्यालयमा पूरा समय कर्मचारी राख्ने परिपाटी नहुँदा दुई घण्टाका लागि मात्र खुल्ने र अन्य समयमा आएका व्यक्ति ठगिन बाध्य छन्।’ धनुषा जिल्लाभरिमा ७५ वटा अतिरिक्त हुलाक कार्यालयहरू रहेका छन् भने १३ वटा इलाका हुलाक कार्यालयहरू रहेका छन्।

जनकपुर यातायात कार्यालयमा मोटरसाइकलको आवेदन फर्म भर्न आएका महोत्तरी गौशाला नगरपालिका– १ का सेवाग्राही हरिश्चन्द्र महतो सरकारी कार्यालय अगाडि दिउँसै लुटिएको गुनासो गर्छन्। ‘व्यापारीहरूले हुलाकसँग टिकट किन्छन् र यातायात कार्यालय अगाडि बसेर ब्ल्याकमा बेच्छन्। त्यो पनि १० रुपैयाँको टिकटलाई हामीले यहाँ ५० रुपैयाँ तिर्नुपर्छ’, उनले भने, ‘यो ठगिएको भन्दा पनि लुटिएको जस्तो हो। यसलाई हामीले कसरी रोक्ने? प्रशासनले यसको नियन्त्रण गर्न पहल गर्नुपर्ने हो।’ 

धनुषाका प्रमुख जिल्ला अधिकारी गोविन्द पराजुलीले थाहाखबरसँग कुरा गर्दै भने, ‘पहिलो पटक यस्तो संवेदनशील मुद्दा उठाउनुभयो। यसबारे म बुझ्छु र छलफलपश्चात् मात्र केही भन्न सक्छु।’ उनले पहिलो पटक यसरी गुनासो आएको र यसभन्दा अघि गुनासो नै नआएको बताए। ‘तपाईंले भनेपछि यो विषय एकदमै पृथक भएकाले छलफल गरेर मात्र केही गर्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी पराजुली पन्छिन खोज्दै भने, म अहिले एउटा सानो मिटिङमा छु। यससम्बन्धमा पछाडि कुरा गरौँला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.