साहित्य

गौतमको जीवनी ‘ग्लोबल सिटिजन फर्म गुल्मी’ विमोचित
SHARES

साउन २३, २०७५

    काठमाडौं : कुलचन्द्र गौतमको जीवनी पुस्तक ‘ग्लोबल सिटिजन फर्म गुल्मी’ (गुल्मीबाट उदाएको विश्व नागरिक) मंगलबार सत्यमोहन जोशीद्वारा विमोचन भएको छ। विमोचनको प्रारम्भ गायिका आनी छोइङ ड्रोल्माको बौद्ध मन्त्र मंगलगीतबाट भएको थियो।

    पुस्तक विमोचन कार्यक्रममा उपस्थित वक्ताहरूले दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमले पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

    ‘पुस्तक पढ्दा महिला तथा बालबालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष गरिरहेको नेपालका लागि अवकाशपछि पनि उत्तिकै सक्रिय गौतमको अनुभव र अठोट अत्यन्त उपयोगी छ।’ ज्ञवालीले गौतमको बेलाको गुल्मी र अहिलेको गुल्मीमा धेरै अन्तर आइसकेको भएता पनि अहिले पनि धेरै केटाकेटीहरू स्कुलभन्दा बाहिरै रहनुलाई साझा चूनौतिका रूपमा उल्लेख गरे।

    कार्यक्रमका अर्का वक्ता थिए गुल्मीस्थित लेखकको गाउँबाटै आएका अर्का मन्त्री गोकर्ण विष्ट। ‘त्योबेलाको गुल्मीबाट उठेर आफू सँगसँगै आफ्नो ठाउँलाई पनि माथि उठाउन खोज्ने गौतम मेरो निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ,’ विष्टले लेखकलाई उनकै गाउँसँग जोड्दै भने, ‘उहाँले सिँगो विश्वलाई जे जति योगदान दिनुभयो त्यसका निम्ति आज गाउँलेका तर्फबाट धन्यवाद दिन म उपस्थित भएको छु।’

    ‘गौतमले राष्ट्रसंघको मुख्यालयमा मात्र नभएर विश्वका धेरै मुलुकमा महत्वपूर्ण जिम्मेवारीका साथ खटिनुभएको थियो,’ कार्यक्रममा उपस्थित अर्का वक्ता एवं राष्ट्रसंघका नेपालस्थित आवासिय प्रतिनिधि भेलेरी जुलियान्डले भनिन्, ‘हामीलाई सुनाउनका निम्ति उहाँसँग धेरै अनुभव छन् जुन यस पुस्तकमा पाउन सकिन्छ।’

    गौतमको पुस्तकभित्र एउटा मात्र होइन अनेकानेक पुस्तकहरू रहेको देशभित्र राजनीतिक विकासक्रममा थुप्रै महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका स्वतन्त्र विश्लेषक निलाम्बर आचार्यले बताए। उनले थपे, ‘जस्तै अवरोधलाई पनि छिचोलेर परिवर्तन ल्याउने मानिसको साहस र उपलब्धिहरू यसमा अटाएका छन्।’

    कार्यक्रममा बोल्दै लेखक गौतमले आफ्नो पुस्तक विशेषगरि युवा पुस्ताका निम्ति उपयोगी बन्नसक्ने उल्लेख गरे। ‘पुस्तकको पछिल्लो तीन अध्याय मेरो जीवनको अनुभवमा उभिएको छ,’ गौतमले भने, ‘नेपालका तन्नेरीहरूलाई निराश बनाइरहेको अहिलेको परिस्थितीमा यी अनुभवहरुले बाधा अवरोध चिर्न सघाइदियो भने म यो पुस्तक सफल भएको ठान्नेछु।’

    गौतम दुर्गम गाउँबाट उठेर संयुक्त राष्ट्रसंघको सहायक महाचिव र राष्ट्रसंघीय बालकोष (युनिसेफ)को उप–कार्यकारी निर्देशकसम्म बन्न सफल व्यक्ति हुन्। उनले पुस्तकको बिक्रीबाट उठेको पैसा नेपालका छोरीहरूको शिक्षामा खर्च गरिने घोषणा पनि गरे।

    गौतमको यो दोश्रो कृति हो। यसअघि उनले लेखेको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’ प्रकाशित भइसकेको छ। यो कृति नेपालय पब्लिकेशनले प्रकाशन गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]