|

भद्रपुर, (झापा) : इलामका वन जंगलमा अवैध रूपमा रूख काटेर चिरान गरिएको वा गोलिया आकारको काठ झापातिर तस्करी हुने गरेको पाइएको छ। 
झापासँग जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको हो। 

काहीँ काठ तस्करमा आवद्ध गिरोह सक्रिय छन् भने काहीँ सामुदायिक वनका पदाधिकारीकै मिलोमतोमा काठ तस्करी हुने गरेको समेत पाइएको छ। 

जिल्ला वन कार्यालय झापाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा काठ तस्करीमा संलग्न ३३ जना पक्राउ परेका छन्। यीबाट वन कार्यालय झापाले ५९६.३६ क्युविक फिट काठ बरामद गरेको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। बरामद गरिएको काठ सिसौ र साल जातका रहेका छन्। 

काठ तस्करीमा प्रयोग भएका ट्र्याक्टर र पिक अप भ्यान गरी नौवटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको सहायक वन अधिकृत उप्रेतीले बताए। उनका अनुसार जिल्ला वन कार्यालय÷निकुञ्ज÷आरक्ष÷संरक्षण क्षेत्रमा दायर मुद्दातर्फ ११ जना, झापा जिल्ला अदालतमा दायर मुद्दातर्फ पाँच जना रहेकामा अघिल्लो वर्षसमेत गरी ३८ जनाको मद्दा फछर्यौट भइसकेको छ भने १६ जनाको मुद्दा फछ्र्यौट हुन बाँकी छ। 

काठसहित पक्राउ परेका अधिकांश व्यक्ति झापाका स्थायी बासिन्दा भए पनि काठचाहिँ इलामका वन जंगलबाट तस्करी गरी झापा ल्याएको अनुसन्धानको क्रममा खुल्ने गरेको वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए। ‘रातीराती वन जंगलमा प्रवेश गरेका तस्कर समूहले रूख ढाल्ने र बेच्नका लागि झापाका बजारतर्फ ल्याउने गरेको विशेष सूचनाको आधारमा काठसहित ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पर्छन्’, उनले भने।

झापा वनमा २६ लाख बढी बेरुजु

जिल्ला वन कार्यालय झापामा २६ लाख ३१ हजार ७२९ रुपैयाँ ७ पैसा बेरुजु देखिएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा नियमिततर्फ पाँच लाख ४९ हजार २७६ रुपैयाँ ७७ पैसा र असुल उपरतर्फ २० लाख ८२ हजार ४५२ रुपैयाँ ९३ पैसा बेरुजु देखिएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए। 

गत आ.व.मा नियमति र असुल उपर गरी ३६ लाख सात हजार ८५३ रुपैयाँ बेरुजु देखिएको थियो। त्यसमध्ये नियमिततर्फ २३ लाख ५६ हजार १५ रुपैयाँ र असुलउपरतर्फ २४ हजार ७७२ रुपैयाँ बेरुजु रकम फर्छ्यौट भएको थियो। आर्थिक वर्ष २०७३/०७४को नियमति र असुल उपर गरी हाल २६ लाख ३१ हजार ७२९ रुपैयाँ ७ पैसा बेरुजु देखिएको उनले बताए। तथ्यांकअनुसार असुल उपर गर्ने रकम फर्छ्यौटतर्फ ढिलासुस्ती भइरहेको पाइएको छ।

झापामा १५ सय ५७ हेक्टर वन क्षेत्र अतिक्रमको चपेटामा 

वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म १५ सय ५७.१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेका थियो। वन कार्यालयको तथ्यांकअनुसार आ.व. २०७४/०७५ मा ०.१ हेक्टर वन क्षेत्र अतिक्रमबाट हटाइएको छ भने १५ सय ५७ हेक्टर वन क्षेत्र अझै पनि अतिक्रमणको चपेटामा परेको देखिन्छ। वर्षौंदेखि अतिक्रमण गरी राखिएकाले हटाउन नसकिएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए। 

वन अतिक्रमण हटाउन तथ्यांक अद्यावधिकमार्फत् नियमित सशस्त्र एकल तथा संयुक्त गस्ती परिचालन, सूचना प्रसारण, सामुदायिक वन उपभोक्ता समितिलाई निर्देशन, अन्तर्क्रिया, छलफल, तारबार एवं वृक्षरोप गर्दा पनि अतिक्रमण हटाउन नसकिएको उनले बताए। ‘पहिल्यै वन क्षेत्र अतिक्रमण गरी गाउँ बस्ती विस्तार भएको छ’, उनले भने, ‘समय समयमा गठित सुकुम्बासी आयोगबाट वितरण गरिएको जमिनले पनि समस्या पारेको छ।’ अहिले कतै धर्म वा संस्थाको नाममा पनि वन अतिक्रमण भएको देखिन थालेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.