|

काभ्रेपलाञ्चोक : जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरा भन्ने ठाउँमा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा रेहका छन्।

भौगोलिक हिसाबले निकै भिरालो र ईन्द्रावती नदीको माथि रहेको कारण उक्त बस्ती बस्नको लागि निकै जोखिम अवस्थामा रहेको स्थानीयबासिन्दाहरुको भनाइ छ। विकट र भिरालो भू–बनौटका कारण एक घरबाट अर्कोघरसम्म पुग्नको लागि धेरै समय लाग्ने भएकाले पनि झन रातीको वेला निकै समस्या भएको उनीहरू बताउँछन्।

मंगलवार राति परेको अविरल वर्षाका कारण बस्तीमाथिबाट गएको पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनका साथै अन्य दुईजना घाइते भएका थिए। पाँचजनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका परिवारको कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरो खस्दा पुरिएर मृत्यु भएको हो।

दुई महिना अगाडिदेखि त्यहाँ बस्दै आएका हेमबहादुरले राति आएको पानीका कारण माथिबाट पहिरो आएर बस्ने टहरा पुरिएको बताएका छन्। ‘समय हेर्नै पाएन, माथिबाट पहिरोले छोपिहाल्यो, आमा र अरू बच्चाहरू निकाल्न सक्यो, एउटा बच्चा निकाल्न नसकेर ज्यान गयो’, विलौना गर्दै तामाङले भने।

अर्का स्थानीयबासिन्दा ज्ञानीमाया तामाङले बसिरहेको वेलामा एक्कासी माथिबाट आएको पहिरोले भूकम्पपछि बनाएको घर भत्काएको बताइन्। दोस्रो किस्ता लिएर निर्माण कार्य सम्पन्न गर्न लागिरहेको घर पहिरोले भत्काएपछि फेरि पनि पहिलादेखि बस्दै आएको टहनामा नै जीवन गुजार्नुपर्ने बाध्यता भएको उनले बताइन्। बस्ने बासस्थान नै पहिरोले बगाएपछि अहिले कसरी जीवन गुजारा गर्ने भन्ने चिन्तामा रहेको उनी बताउछन्।

त्यस्तै, अर्का स्थानीबासिन्दा काले तामाङले पहिरोले घर पुरिएपछि अब कता जाने र कसरी जाने अनि बस्तुभाउलाई कसरी जोगाउने भन्ने चिन्तामा रहेको बताए। ‘सुरक्षित ठाउँमा जानु त भनेको छ, तर मान्छे कहाँ गएर बस्ने र कसरी बस्ने भन्ने अन्यौलमा छौँ’ तामाङले भने, ‘फेरि बाढी आयो भने मान्छे त यताउती जान्छौ, तर बस्तुभाउ कता लाने हो बाटो नै छैन।’

घट्ना घटेलगत्तै उद्धारको लागि पुगेको हिगुवापाटी प्रहरी चौकीका हवलदार कृष्ण अधिकारीले बस्ती निकै जोखिम भएका कारण उद्धारमा कठिनाइ भएको बताए। ‘हामी त्यहाँ पुग्दा हामीलाई कसले कसरी सहयोग गर्ने हो तपाईहरूले पहल गरिदिनु पर्‍यो भनिरहेका छन्’ उनले भने, ‘माथिबाट भिर र तलबाट नदी बगिरहेको कारण पनि बस्ती भएको सबैठाउँमा पुगेर स्थलगत अध्ययन गर्न नसक्ने अवस्थामा रहेको छ।’

त्यहाँका जोखिममा रहेका घरपरिवारमध्ये तत्कालका लागि सात घर बस्ती तलको हल्देटारमा सार्ने र बाँकीलाई माथि रहेको कालिका प्राविमा राख्ने भन्ने विषयमा नगरका प्रमुख टोकबहादुर वाईबा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसँग कुरा भइरहेको अधिकारीले बताए।

त्यहाँका वडा अध्यक्ष विष्णुमणि नेपालले भने विवरण अनुसार एउटै बस्तीका १९ घरपरिवार जोखिममा रहेको बताए। ‘अहिले उनीहरू त्यहाँ बस्न सक्ने अवस्था छैन, राज्यले दिएको सेवासुविधा लिएर बल्लबल्ल ऋण गरेर बनाएको घर भत्किसकेको र कतिपयको घर बस्न नमिल्ने भएकाले कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा सोचिरहेका छौँ’ उनले भने, ‘अझै पनि कतिपय घरका बासिन्दाहरू विकल्प नभएर त्यस्तै जोखिममा बसिरहेकाहरूलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा तत्कालीन अवस्थामा केही समयका लागि खाद्यन्न र ओड्ने चिजको ब्यवस्था गरेको छ।’

पानी अझै पनि आउने सम्भावना भएकाले त्यहाँबाट मान्छेहरू र गाईवस्तुलाई सार्ने विषयमा सोचिरहेको र सबैलाई सुरक्षित ठाउँमा जानुपर्छ भनेर सबैलाई अनुरोध गरेको नेपालले बताए।

मण्डन देउपुर नगरपाकिलाका प्रमुख टोकबहादुर वाईबाले बिहीबार नगरको बैठक बस्ने र त्यहीवेला नगरस्तरिय विपद् ब्यवस्थापन समितिको बैठक बसेर पहिलो चरणमा सम्भावित अध्ययन गर्ने र नगरले गर्न नसक्ने खालको नै अवस्था बुझिएका कारण माथिल्लो निकायसँग कुरा राख्ने तयारी भइरहेको बताए।

रेडक्रसको सहयोगमा बुधबार नै सो बस्तीका जोखिमयुक्त घरपरिवारका विशेषगरी घर नै बगाएका चार घरपरिवारलाई एक हप्तालाई पुग्ने खाद्यन्न दिएको र अरूलाई खाना पकाउने भाडाकुँडा वितरण गर्नुका साथै अन्य सामान्य क्षति भएका २८ घरधुरीलाई राहत वितरण गरेको नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाका सभापति रघुवर चौप्रधानले बताए।

यसैगरी मंगलबार राति नै परेको अविरल वर्षाका कारण भुम्लु गाउँपालिकाका १ ढुंगाना टोलका जानुका ढुंगाना र देवीप्रसाद ढुंगानाको घर पुर्दा करिब नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। त्यससँगै पहिरोका कारण त्यहाँका गैरीगाउँका १६ घरधुर जोखिममा रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.