भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले आज घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन्। घण्टाकर्ण पर्व नेवारहरुको मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वको रुपमा लिने गरिएको हो।
घण्टाकर्ण चतुर्दशीका दिन नेवार समुदायले गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा गर्दछन्। यस दिन बिहान सबेरै उठेर घरलाई लितपोत गरी सफा पार्ने र परिकारका सबै सदस्य नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई घरको सम्पूर्ण भागमा उक्त जलले छर्केर चोखो बनाउने प्रचलन छ। घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुडा समेत धोएर चोखो बनाउनु पर्दछ। जल नछर्केसम्म कसैले खान नहुने मान्यता छ।
घर चोखो बनाएपछि बौ वाय् ज्या (भुत मन्छाउने कार्य) हुन्छ। काँचो माटोको सानो कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बात्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राखिन्छ। यसैलाई बौ वाय् ज्या अर्थात भुत पन्छाउने कार्य भनिन्छ। बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन छ।
बौ वाय् ज्या सँगसँगै घरघरको मुल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ। यसो गरे घरमा भुतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ। घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाइदिने चलन पनि छ। वयस्क युवतीले आजको दिन विशेष गरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन छ।
साँझ घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूल समेत राखेर छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ। यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वाँलमा जौँ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्नु पर्दछ।
घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक–चोकमा ठड्याएर राखिन्छ। सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ। साँझ पख बाजागाजाका साथ राक्षसको प्रतीक नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर जलाइन्छ। जलाएर फर्केपछि घिनताङघिसि तालमा नाचेर आउने परम्परा छ।
यस पर्वलाई किसानहरुको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुवात भएको संकेत पर्वको रुपमा पनि लिइन्छ। नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाइन्छ।
नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीनकालदेखि मनाइँदै आएको इतिहासविद् तथा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए। काठमाडौं उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखि यो पर्व मनाउँदै आएको उनको भनाइ छ। यस पर्वले मानिसमा भएका नकारात्मक सोंच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरिएको संस्कृतिविद् डा. श्रेष्ठ बताउँछन्।
कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो। घण्टाकर्णलाई शिवको प्रतीकको रुपमा पनि लिइन्छ। पौराणिक कथनअनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्छन्। शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन्। तर, कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक संकट परेपछि उनले घण्टाकर्णको रुप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा. श्रेष्ठले बताए।
घण्टाकर्णकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वको रुपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्त्वको कार्य नगर्ने परम्परा रहेको छ। नेवार समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने भैरब नाच, व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत घण्टाकर्ण पर्वपछि सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।