|

सिन्धुपाल्चोक : दिनभरिको चर्को घाम रातभरिको डरलाग्दो पानी। कतै पहिरोले घर बगाएका छन् त कतै विद्यालय पुरिएका छन्। भौतिक रुपमा धेरै क्षति भए पनि बाढी पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै क्षति पुर्‍याएको छैन। 

रातभरि परेको पानीपछि खसेको पहिरोले बुधबार दिउँसोसम्म बन्देउ-चौतारा सडक बन्द भयो। चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकमा पहिरोले बाटो पुरेपछि सडक अवरुद्ध भएको थियो। बर्खा लागेसँगै अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गतको बलेफीमा पहिरोले पटक-पटक सवारी आवागमन बन्द हुने र खुल्ने भइरहेको छै। कतिबेला सडक सञ्चालन हुने र बन्द हुने कुनै भर छैन। जसले गर्दा सर्वसाधारण सास्ती खेप्दै अाएका छन्। अरनिको राजमार्ग बन्द हुँदा सिन्धुपाल्चोक मात्रै नभई दोलखा, रामेछाप जाने यात्रुहरुले मर्कामा परेका छन्। 

नेपाल चीन जोड्ने सीमा गाउँ तातोपानीमा भूकम्प, भोटेकोसी बाढीपछि तंग्रिँदै गरेको यस क्षेत्रलाई वर्षायाममा गएका पहिरोले सडक अवरुद्ध पार्दा सर्वसाधरण मर्कामा परेका छन्। पैदल हिँड्न मात्रै मुस्किल परेको छैन, बिमारीका लागि औषधि किन्न जान समेत सास्ती व्यहोर्नु परिरहेको स्थानीयको दुखेसो छ। 

महिनादिनअघिको लगातार वर्षाले तातोपानी जोड्ने लार्चा, नौ किलो, दसकिलो, पोप्लाङ कोदारी, लिपिङका सडक भत्किइएका छन्। सामान्य रुपमा आइरहेको बाढीले सडक कटानका साथै माथिबाट झरिरहेने पहिरोले आवतजावतमा समस्या छ। जिल्लाको जुगल गाउँपालिकाको अधिकांश ठाउँमा अहिले सवारी साधन गुड्दैनन्। बलेफी गाउँपालिका र जुगल जोड्ने खोलाको पुलको निर्माण हुन नसक्दा विकट गाउँहरु पाङताङ, बराम्ची, गोल्चे, गुम्बालगायतका गाउँबासी समस्यामा छन्। 

सुनकोशी गाउँपालिका ६ थुम्पाखरमा जमिन भासिएपछि सुन्दरडाँडाका १२ र १२ किलोको १५ घर जोखिममा परेको छ। नयाँ बनेका, डिपिसि गरेका घर भासिएका र चर्किएको स्थानीय रुपकाजी तामाङले बताए। गाउँपालिकाले तत्काल सुरक्षाका लागि बस्तीको निरीक्षण गरेर ४५ घरपरिवारलाई त्रिपाल र प्लाष्टिक राहत स्वरुप वितरण गरेको छ। अहिले गाउँपालिकाको टोली कालिका, यमुनाडाँडा र सुनखानीका जोखिममा परेका बस्तीको निरीक्षण गरेको सुनकोसी गाउँपालिकाको अध्यक्ष श्रमण जिसीेले बताए।

पहिरोले मेलम्ची नगरपालिका–९ मा रहेको एक हाइड्रोपावरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। निरन्तरका वर्षाले इन्द्रावती तेस्रो जलविद्युत केन्द्र पहिरोको जोखिममा परेको छ। सात दशमलव पाँच मेगावाट क्षमताको हाइड्रोपावरको सर्जट्यांक माथिबाट बगेको पहिरोले विद्युत गृह अगाडि माटो भरिएको छ।

हेलम्बु जोड्ने तिम्बु सडकमा लगातारको वर्षाले क्षति पुगेको छ। तिम्बु खोलामा रहेको पक्की पुल जीर्ण भएका कारण सवारी आवागमनमा समस्या छ। बाढीले कटान गरेकोले पुलमा क्षति पुगेको हो।

पहिरोले सुनकोसी गाउँपालिका-३ कालिकाको ४३ परिवार विस्थपित भएको स्थानीय युगबहादुर खड्काले जानकारी दिए। बाह्रविसेको सरस्वती मावि पहिरोको जोखिममा छ। भवननजिक करिब एक किमि पहिरो खसेकाले विद्यालय जोखिमा परेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.