|

कालिकोट : शुभकालिका गाउँपालिका–६ हाउडीगाउँमा पहिरो जोखिम बढेपछि स्थानीय पाल टाँगेर खुला चौरमा बस्न थालेका छन्। गाउँमाथिको पहिरो निरन्तर खस्न थालेपछि हाउडी गाउँमा १७६ दलित परिवार पाल टागेर गाउँ नजिकैको खुला चौरमा बस्न थालेका हुन्। 

गाउँमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि राति कति बेला पहिरोमा पुरिने हौं भन्ने चिन्ता लाग्ने गरेकाले चौरमा पाल टाँगेर बस्न थालेको स्थानीय बलबहादुर बिकले बताए । ‘रात–दिन घरमाथिबाट पहिरो खसिरहन्छ,’ उनले भने, ‘कति बेला मरिने हो भन्ने डर लागेर चौरमा बस्न थालेका छौं।’

विस्थापित परिवार निम्न आयस्रोत भएकाले खानबस्ने समस्या रहेको स्थानीय नरपति बिकले बताए । ‘हामी खुला चौरमा बसेका छौं,’ उनले भने, ‘खानेकुराको समस्या छ।’

पानी पर्न साथ वस्तीको माथिल्लो भागबाट निरन्तर पहिरो खसिरहेकाले गाउँपालिकाले सुरक्षित स्थानमा राखेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए। ‘अहिले अस्थायी रुपमा सुरक्षित बस्नका पाल सहयोग गरेर चौरमा राखेका छौं,’ उनले भने, ‘यो समस्याको दीर्घकालीन सामाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरेका छौं।’ पहिरोका जोखिममा रहेको नागरिकलाई तत्कालका लागि त्रिपाल, मेट्रिस र केही खाद्यान्न तथा लुगाफाटोको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष चौलागाईले बताए। 

२०७२ भदौमा पहिरोमा परी यस गाउँका २४ घरमा क्षति पुग्नुका साथै २७ परिवारको खेतीयोग्य जमिन पुरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.