|

काठमाडौं : नेपाली फोटो पत्रकारहरूले बंगलादेश सरकारले पक्राउ गरिएका पत्रकार एवं सामाजिक अभियन्ता शाहिदुल आलमको रिहाइको माग गर्दै काठमाडौंस्थित बंगलादेशी राजदूतावास अगाडि प्रदर्शन गरेका छन्।

बिहीबार बिहान नेपाली फोटो पत्रकारहरूले आलमको रिहाइका लागि माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड, आलमको फोटो भएका प्लेकार्ड बोकेका थिए।

बंगलादेशका चर्चित पत्रकार एवं सामाजिक अभियन्ता ६३ वर्षीय शाहिदुल आलमलाई साउन २० गते पक्राउ गरिएको थियो। उनलाई घरबाटै पक्राउ गरेर कारागारमा राखिएको छ। उनलाई सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर कारमा हालेर लगेका थिए। त्यसरी नियन्त्रण गरिएको दोस्रो दिन मात्र उनलाई औपचारिक रुपमा पक्राउ गरिएको बताइएको थियो।

बंगलादेशमा भइरहेको विद्यार्थीहरूको आन्दोलनलाई भड्काउने किसिमको अभिव्यक्ति दिएको अभियोगमा आलमलाई पक्राउ गरिएको बताइएको छ। उनले विद्यार्थीको आन्दोलनलाई थप हिंसात्म बनाउने तथा प्रधानमन्त्रीको आलोचना गरेको भन्दै पक्राउ गरिएको हो।

आलम फोटो पत्रकारिता र सामाजिक कार्यका माध्यमबाट विश्वभर चर्चित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.