|

दार्चुला : आकाश खुलेर घाम नलागे दार्चुलाको टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ। मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको बालीशिखरमा रहेका टेलिकमको मुख्य टावरमा पावर डाउन हुँदा आइतबार बेलुकिदेखि बुधबार बिहानसम्म दार्चुलाको सञ्चार पूर्ण रुपमा अवरुद्ध भयो।

मुख्य टावरको पावर सप्लाई सोलार प्यानलबाट हुने र चार दिन लगातार घाम नपर्दा पावर डाउन भई सञ्चार सेवा अवरुद्ध भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

विकल्पै नभएको हो त?

बालीशिखरको डाडामा पावर पुर्‍याउने विकल्प नै नभएको भने होइन। अहिले सोलारबाट पावर सप्लाई भएको छ भने विद्युतीय सेवा मात्रै यसको विकल्प हो। सोलारको पावर डाउन हुँदा सेवा अवरुद्ध हुने अवस्था सधैँ रहेन भएकाले विद्युत बालीशिखरसम्म पुर्‍याउनुको विकल्प नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ।

टावरसम्म विद्युत पुर्‍याउने सरकारी प्रयास पनि नभएको होइन तर निर्माण कम्पनीहरुको लापरबाही र ढिलासुस्तीले त्यहाँसम्म विद्युत पुग्न सकेको छैन। बालशिखरको टावरसम्म विद्युत पुर्‍याउन विद्युत प्राधिकरणले नै तीन वर्ष अगाडि ठेक्का खोलेको थियो। ठेक्काको पटक पटक (छ पटक) म्याद थपिए पनि टावरसम्म विद्युत पुर्‍याउन सकिएको छैन। त्यति मात्रै नभएर गत वर्ष टेलिकमले नै उक्त टावरसम्म विद्युत पुर्याउन टेण्डर आह्वान गरेको थियो तर टेलिकमको प्रयास पनि सार्थक हुन सकेन।

यसरी टावरमा विद्युत पुर्‍याउने प्रयासहरु असफल भएपछि घाम नपरेपछि दार्चुलाबासीले अहिले फोन सम्पर्कबाट बञ्चित हुनु परेको छ। निर्माण व्यावसायीको ढिलासुस्तिका कारण उपभोक्ताहरु मारमा परेकोले लापरवाही गर्ने निर्माण व्यावसायीलाई कारवाही गरी तत्काल बालीशिखरको टावसम्म विद्युत पुर्याउने काम गर्नु पर्ने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको भनाइ छ।

आमउपभोक्ता मात्रै नभएर स्वयम् उक्त क्षेत्रमा काम गर्ने निर्माण व्यवासायीहरु पनि टेलिफोन अबरुद्ध हुँदा समस्या परेको हुन सक्ने बताउँदै दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले निर्माण कम्पनीहरुको लापरवाहीविरुद्ध सरकार कडा भएर प्रस्तुत हुनुपर्ने बताउँछन्। ‘हामी चाहान्छौ सरकारी निकायले अब त चेतोस्। काम नगर्नेलाई कारबाही गरोस्। होइन भने उपभोक्ताहरु दबावमुलक कदम चाल्न बाध्य हुनेछन्।’ अध्यक्ष ठगुन्नाले भने।

कारोबार ठम्प

सञ्चार सुविधा नहुँदा बैंकिङ तथा सञ्चारसम्बन्धी कारोवारहरु बन्द भएका थिए। सञ्चार अबरुद्ध हुँदा बैंकिङ सेवा पूर्ण अबरुद्ध भएको जनता बैंक दार्चुलाका प्रवबन्ध प्रकाश भट्टले बताए। टेलिफोन सेवा नहुँदा बैंकिङ कारोवार मात्रै नभएर सञ्चारसम्बन्धी काम पनि ठप्प भएको सञ्चारकर्मीहरु बताउँछन्। टेलिफोन नहुँदा जिल्लाभित्र र जिल्लाबाट केन्द्रसम्म समाचार सम्प्रेषण गर्नसमेत नसकिएको सञ्चारकर्मी गगन विष्टको भनाइ छ।

जिल्लाको आधा भाग नियमित समस्यामा

जिल्लाको सञ्चार सेवा मूख्य रिपिटर टावरमा खरावी आउँदा अबरुद्ध भएपनि जिल्लाको आधाभन्दा बढी भागमा नियमित समस्या हुने गर्दछ। इन्टरनेट र फोन सेवामा कुनै समस्या नभएको बेलासमेत दार्चुला जिल्लाको ठुलो भूगोल टावरमा पावर सप्लाई नहुँदा सञ्चारबिहिन रहने गरेको छ।

जिल्लाको मार्मा, नौगाड, अपिहिमाल, लेकम, ब्यास र दुहु गाउँपालिकालगायत अधिकांश क्षेत्र नेपाल टेलिकमको सञ्चार सेवाको प्रभाबकारी पहुँच पुग्न सकेको छैन्। महाकाली नगरपालिकाकै वडा नम्बर २, ७ र ८ तथा शैल्यसिखर नगरपालिकाको समेत केहि क्षेत्रमा समेत राम्रो सँग मोबाइल फोन सुविधा छैन।

नौगाड, मार्मा, अपि, दुहु लगायत क्षेत्रमा विद्युत अभावका कारण बादल लागे मोबाइल फोनले कामै गर्न छोड्ने गरेको छ। मार्मा क्षेत्रमा घामकै भरमा सञ्चार सुचारु हुने र रातीको समयमा ठुलो भुगोल सञ्चारबिहिन हुने गरेको छ। टेलिफोन पहुँच पुगेपनि विद्युतीकरण नहुँदा सञ्चारबाट सेवाग्राहीले समस्या झेल्नपरेको हो। सञ्चार पहुच नपुगेको क्षेत्रमा टावर बिस्तार र सबै टावरहरुसम्म बिद्युतिकरणको सुबिधा भएमात्रै नियमित टेलिफोन र इन्टरनेट सेवा जनताले पाउँने स्थानीयको भनाइ छ।

सतहत्तर हजार बढी सेवाग्राही

नेपाल टेलिकम दार्चुलाका जिल्लाभरी ७७ हजार बढी सेवाग्राहि रहेका छन्। टेलिकमको तथ्याङक अनुसार एडिएसएल इन्टरनेट, ल्यान्डलाइन, सिडिएमए र जिएसएम सबै सेवा लिने सेवाग्राहिहरुको संख्या ७७ हजार ४४ रहेको छ। झन्डै उक्त संख्यामा सेवाग्राहिहरुले जिल्लाभरीका दुइ दर्जन बढी टावरहरुबाट टेलिफोन इन्टरनेट सेवा लिइरहेका हुन्।

टेलिकम दार्चुलाबाट ल्यान्डलाइन ८ सय १६ लाइनको क्षमता भएकोमा ७ सय ४२ बितरण भएर ७४ बाकी रहेका छन्। एडिएसएल इन्टरनेट ६ सय ३ लाइनको क्षमता रहेकोमा ३ सय ३२ लाइन बितरण भइसकेका छन्।

सिडिएमए स्काइ सिमकार्ड अन्तरगत पोष्टपेड ८ सय ५२ र प्रिपेड ३३ हजार ५ सय १८ गरी कुल ३४ हजार ३ सय ७० सिमकार्ड बितरण भएका छन। जिएसएम नमस्ते सिमकार्ड अन्तरगत पोष्टपेड १ सय २२ र प्रिपेड ४१ हजार ४ सय ७८ गरी कुल ४१ हजार ६ सय सिमकार्ड बितरण भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ।

स्काइ र नमस्ते सिमकार्ड मात्रै ७५ हजार ९ सय ७० जना सेवाग्राहिले हालसम्म टेलिकमबाट लगेको तथ्याङ्क छ। नेपाल टेलिकम दार्चुलाको आधिकारिक तथ्याङक अनुसार झन्डै ७६ हजार जनाले सिमकार्ड लगेको देखिएपनि बजारमा ब्ल्याक रुपमा बिभिन्न पसलहरुबाट समेत धेरै मानिसले सिमकार्ड खरिद गरेर प्रयोग गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.