|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका-९ ब्रम्हदेवमा भारतीय पक्षले नेपालतर्फ एकतर्फी रुपमा बनाउँदै आएको सडक निर्माणको कार्य रोकेको छ। नेपाली सुरक्षाकर्मीको टोलीले निर्माण कार्य रोक्न लगाएको हो।

भारतीय पक्षले नेपाल तर्फको २०० मिटर क्षेत्रमा सडक बनाउनका लागि पाईप कल्भर्ट राख्न लागेको कार्य रोकेको हो। पाइप कल्भर्टका लागि खनेको खाल्टो पुर्न लगाइएको इलाका प्रहरी कार्यालय ब्रम्हदेवका प्रहरी नायव निरिक्षक दिपेन्द्र सिंह थापाले बताए। 'सडक निर्माणको सम्झौता देखाउँन भनेका छौं' उनले भने, ‘भारतीय पक्षले कुरा सुन्दै नसुनी सडक एकलौटी रुपमा बनाउन थालेको छ। यसबारे प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी सबैलाई जानकारी दिइएको छ।’ भारततर्फ पर्ने भनिएको क्षेत्रमा भने भारतीय पक्षले निर्वाध रुपमा सडक निर्माणलाई अगाडि बढाएको छ। 

हराएको सीमा स्तम्भ नं ३ भन्दा उत्तरतर्फको २०० मिटरको क्षेत्रमा भारतीय पक्षले सडक बनाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेका हुन्। सन् १९९० को सन्धिअनुसार भन्दै सडक निर्माणको कार्य अगाडि बढाउँदै आएको छ। मंगलवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारखड्का लगायतको टोलीले सडक निर्माणको कार्यको निरीक्षण पश्चात नेपालसँग सहमति नलिई कार्य अगाडि बढाएको भन्दै सर्भे टोली नआउन्जेल सम्मका लागि कार्य रोक्न भारतीय समकक्षीसँग पत्राचार गरेका थिए। पत्राचार गरे पनि भारतीय पक्षले भने सडक निर्माणको कार्यलाई निरन्तरता दिँदै आएको छ। 

भारतले टनकपुर व्यारेजदेखि एकहजार ३०० मिटर लम्बाइको भारतीय पाँच करोड ८३ लाखको लागतमा आरसिसी प्रविधिमा आधारित सडक निर्माण गरिरहेको छ। साउन ७ गते देखि सडक निर्माणको कार्य सुरु गरिएको छ। सडकमा दशवटा कल्भर्ट, एउटा बक्स कल्भर्ट, टनकपुर बाँधको सिपेज भएर आउने पानी व्यवस्थापन गर्न ड्रेन निर्माणको कार्य भइरहेको भारतीय प्राविधिक उस्मान अलि मिस्त्रीले बताए।

भारतीय निर्माण कम्पनी आरजीका ठेकेदार मुकेश चौहानलाई सडक निर्माणको जिम्मा दिइएको छ। सडकको ५० मिटर क्षेत्रमा आरसिसी गरिएको छ। सन् १९९३ मा भारतीय पक्षले मेरै अगाडि सीमास्तम्भ नं ३ तोडेको हो। स्थानीय चक्रबहादुर थापाले भने, ‘प्रतिरोध गर्दा भारतीय सुरक्षाकर्मीले धम्की दिन थालेपछि केही गर्न सकिएन। नेपाली पक्षलाई समेत जानकारी दियौं। त्यति बेला सुनवाई नै भएन।’ 

सीमा स्तम्भ हटाइएको ठाउँदेखि उत्तर तर्फको क्षेत्र नेपालको हो। तर भारतले सीमा मिच्दै सडक बनाउन थालेको उनको भनाई छ। ‘कहिले ब्रम्हदेव बजारको आधा भाग भारतमा पर्छ भनेर धम्काउछन्। धम्की सहेर नै बस्नु परेको छ’ उनले भने।

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.