|

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका-२ सोभातालका सोवरन राना जिल्लामै सफल माछापालकका रुपमा परिचित रहेका छन्। दुई दशकदेखि माछापालन गर्दै आएका रानाले वार्षिक रुपमा ६० लाख मूल्यका माछा बिक्री गर्दै आएका छन्।

बिक्री भएका माछा बाट उनले वार्षिक रुपमा २५ लाख बढी आम्दानी लिदै आएका छन्। रानासँग माछापालनका लागि १३ वटा पोखरी रहेका छन्। पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, फंगास, सहर, रुपचन्द्र गरी एकदर्जन प्रजातिका माछापालन गरिएका छन्। उत्पादित माछा स्थानीय बजार धनगढी, बेलौरी, अत्तरिया, महेन्द्रनगरसँगै भारतको निकटवर्ती बजारमा बिक्री हुने गरेको छ। 

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस वर्ष बैंकबाट एक करोड ऋण लिएर थप सातवटा पोखरी निर्माण गरेका छन्। माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखेका छन्। ‘माछाको आहाराका लागि चारोमा मात्रै  ४० लाख खर्च लागेको छ। पोखरी थपिएकाले यसवर्ष उत्पादन दोव्वर हुने अनुमान गरेका छौं' उनले भने, ‘आम्दानी समेत यसैअनुरुप बढ्ने अपेक्षा छ।’ ह्याचलिङमा फिंगर उत्पादन गरी १६ लाखको बिक्री भएको उनको भनाई रहेको छ।

रानाले माछाका फिंगर  ४५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा २०० देखि ३०० प्रति किलो थोकमा बिक्री गर्दै आएका छन्। 'माछाको माग अधिक छ।उत्पादन त्यसअनुरुप बनाउन सकिएको छैन। सोवरनले भने, ‘लगानी गरे अनुसार आम्दानी लिनका लागि आधुनिक तरिकाले माछापालनलाई गाडी बढाएका छौं।’
सबैजना खेतीमै बढी लागेका छन्। तर खेती भन्दा माछापालनमा तेव्वर बढी आम्दानी लिन सकिन्छ। भारतीय माछा विस्थापित गर्नका लागि समेत स्थानीय किसानलाई माछापालनतर्फ डोर्‍याउनुपर्छ' उनले भने, ‘विदेश जानुभन्दा माछापालन गरे त्यसबाट चाहे जस्तो आम्दानी लिन सकिन्छ।’ 

पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको व्यवस्था गरिएको छ। पोखरीमा आन्तरिक पर्यटक भित्र्याई आम्दानी गर्ने समेत उनको योजना छ। ‘पोखरीमा डुंगा सञ्चालन गर्ने, कटेज निर्माण  गर्ने योजना बनाएको छु’ उनले भने। पोखरीकै माछा बेचेर रानाले बजार क्षेत्रमा घर घडेरी जोडनुका साथै तीन विघा जग्गा समेत खरिद गरेका छन्। रानाले दुईदर्जन बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी समेत दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.