|

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-१ टंकिसिनवारीको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको  एकजना सुत्केरी महिलाको मृत्यु भएको छ। सुनसरीको इटहरी-१३ खनारकी २५ वर्षीया सगिरा खातुनको उपचारमा लापरबाही भएका कारणले बिहीबार मृत्यु भएको आफन्तले अाराेप लगाएका छन्। 

विरामीको मृत्युपछि आक्रोशित भएका आफन्तले दिनभरि नाराबाजी गर्दा अस्पताल तनावग्रस्त बनेको थियो। पीडितका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सवहरू कारबाही गर्न माग गरेका छन्। सुत्केरीको मृत्यु भएपछि पीडितको आक्रोसित भीड नियन्त्रण गर्न मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट अस्पतालमा भर्ना गरिएकाे थियाे। सामान्य पेट दुखेको भनेर हस्पिटल लगेकोमा उनको भर्ना गरेकै दिन अस्पतालले शल्यक्रिया गरिदिएको मृतकका काका ससुरा रहमलले बताए। पेट मात्र दुखेको विरामीको कसरी मृत्यु भयो भन्ने अस्पतालले जानकारी नदिएको पीडितको भनाइ छ। 

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने माग आफन्तको छ। हस्पिटलको स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ डा.हनुनी पी पोखरेलको टिमले सगिराको शल्यक्रिया गरेको थियो। अस्पतालका व्यवस्थापक अरविन्द्र मण्डलले विरामीलाई इन्फेक्सन भएर आमा र बच्चाको अवस्था खतरामा परेकोले शल्यक्रिया गरेको र खातुनलाई ‘एक्मसिया’ देखिएकोले बचाउन नसकेको दावी गरे। अन्त्यसम्म चिकित्सकले सक्दो सम्पूर्ण उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको अस्पतालले दावी गरेको छ। विरामी भएकी खातुनमा पोषणको समेत कमी रहेको अस्पताल प्रशासनले जनाएको छ। खातुनको मृत्यु भए पनि उनकी नवजात छोरी सकुशल रहेको अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनले पीडितलाई क्षतिपूर्ती दिने प्रस्ताव गरे पनि विरामीका आफन्तले भने क्षतिपूर्ती मात्र होइन उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाही समेत गर्नुपर्ने माग राखेका छन्। समस्या समाधानको लागि अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भएपछि सहमति हुन सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.