तीनपुस्ते काष्ठ सामग्री निर्माण पेसा

|

काठमाडौं : 'तपाईँलाई कस्तो चाहिन्छ? म त जस्तो पनि बनाउँछु। बाजेका पालादेखि अत्याधुनिक मोडलसम्म सबै सामग्री दिनसक्छु', युवा उद्यमी समितराज सिलाकार डिल्लीबजारमा रहेको आफ्नो पसलमा बसेर ग्राहकसँग सीपको व्याख्या गर्दै थिए। उनका ग्राहकलाई पुरानो र नयाँ मोडेलका कलात्मक काठका सामग्री जोडेर आकर्षक घर बनाउनु छ।

'मलाई पुरानो फ्लेभर आउने, बाहिरको लुक्स पुरानो कलात्मक र भित्र नयाँ आधुनिक किसिमको हार्डवेयर चाहिन्छ', ग्राहकको चाहना प्रकट भयो। ग्राहकको चाहना बुझेपछि सिलाकार आवश्‍यक रकमको विषयमा 'डिल' गर्न थाले।

सिलाकार यसै विषयमा सन्तुष्ट छन् कि एउटै ग्राहकले आफ्ना बाजेको पालाको सीप र आधुनिक मोडेल एक साथ चाहन्छन् र आफूसँग त्यो सीप छ। बाजे र बुबाले बनाएको पहिचानलाई थप विस्तार गर्ने योजनामा उनी छन्।

तीन पुस्ते पेसा बन्यो व्यवसाय

पुस्तैनी व्यवसाय तथा पेसा छाडेर नयाँ व्यवसाय र पेसामा दौडनेको ठूलो जमात छ अहिले तर सिलाकारको तीन पुस्ता फर्निचर पेसामा व्यस्त छ। सिलाकार आफूभन्दा पछिका पुस्ता पनि यही पेसामा आउन् भन्ने चाहन्छन्।

उनका बाजे र बुबाले यो पेसामा पृथक पहिचान बनाएका छन्। काष्ठ सामग्रीमा राम्रो कला प्रदर्शन गरेवापत बाजे तेजराज सिलाकारले राजा त्रिभुवनबाट पुरस्कार पनि पाएका थिए। देशभरमा सबैभन्दा राम्रो कला प्रदर्शनी गर्नेमा तेस्रो नम्बरमा उनी परेका थिए। 

राम्रो कला प्रदर्शन गर्न सकेकै कारणा बुबा ईश्वरराज सिलाकारले सर्वोच्च अदालतमा फर्निसिङको काम गर्ने मौका पाए। निकै कलात्मक देखिने सर्वोच्च अदालतको आँखी झ्याल ईश्‍वराजले बनाएका थिए। उनले अहिले पनि उत्तिकै कलात्मक आँखी झ्याल बनाउने गरेका छन्।

'अहिले बाजे हुनुहुन्न, बाबुछोराले आफ्नो सीपको भरपूर प्रयोग गरेका छौँ', सिलाकार भन्छन्। बाजे र बुबाले पेसाको रूपमा काम गर्ने गरेका भए पनि छोराको पालामा त्यही पेसा व्यवसायमा परिणत भएको छ। अहिले बाबुछोराले अघि बढाएको यस उद्योगमा १८ बढी युवालाई काम गर्न भ्याईनभ्याई छ।

समित भन्छन्,
२०६७ सालमा काठमाडौं युनिभर्सिटीबाट व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेँ। बुबाले आफ्नो पेसा चलाइरहनुभएको थियो। राम्रै तलवसहित जागिर गर्नका लागि हैसियत बनाइसकेको थिएँ मैले।
नयाँ उद्योग व्यवसाय गर्नका लागि लगानीको समस्या थिएन तर मलाई बाजे र बुबाले अँगालेको पेसामा नै रमाउन मन लाग्यो तर पूर्ण व्यावसायिक रूपमा। बाजेको पालादेखि भएको उड कार्भिङको काम धित मर्ने गरी गर्न मन थियो। साथै नयाँ पुस्ताले चाहने आधुनिक मोडेलमा फर्निचर निर्माण, कम श्रम र सस्तो मूल्यमा बन्न सक्ने सामग्रीको उत्पादन गर्ने रहर थियो। तब म लागेँ यही सीप सिक्न।
लोप हुँदै गएको 'उड कार्भिङ'को कामलाई थप सशक्त बनाउने प्रयासमा उनी छन्।

फर्निसिङसम्बन्धी थप सीप सिक्न युरोपका देश र थाइल्याण्ड गएँ। स्विडेनको आसिया फर्निसिङका ब्राण्ड र थाइल्याण्ड फर्निसिङ ब्राण्डले बनाउने काष्ठ सामग्रीमा प्रयोग गर्ने प्रविधि र कला सिकेँ अनि नेपाल आएर पुरानो कलात्मक सामग्री आधुनिक मोडलबाट बनाउन सुरु गरेँ। कसैले हातैले कुँदेको चाहिन्छ भन्यो भने त्यो पनि गरिररहेको छु। हाइब्रिड काष्ठ सामग्री बनाउनु थियो, अहिले बनाइरहेको छु। अहिले सेमिअटोमेसनमा गएको छु।

अब 'फुल अटोमेसन'मा जान्छु। बीआईसीसी (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र), सर्वोच्च अदालत, यूनडीपीको विल्डिङको उड कार्भिङको काम बाजे र बुबाले गराउनुभयो। बुबा र म मिलेर अझ राम्रो पहिचान बनाउन जुटेका छौँ।

मेरो सपना

सिलाकार भन्छन्, 'कलात्मक काष्ठ सामग्रीमा आफ्नो पुस्ता हस्तान्तरण नै उनको सपना हो।' लोप हुँदै गएको 'उड कार्भिङ'को कामलाई थप सशक्त बनाउने प्रयासमा उनी छन्। दिन प्रतिदिन बढ्दै गएको व्यवसाय विस्तारलाई देशको पूर्वदेखि पश्‍चिमसम्म सबै क्षेत्रका उपभोक्ताले सहज रूपमा पाउने गरी विस्तार गर्ने योजनामा उनी छन्।

यस्ता सामग्रीले देशभित्र आफ्नो पारिवारिक इज्जत रहने र विदेशमा नेपालको इज्जत रहने बताउँछन् सिलाकार। 'हामीलाई थाहा छ, अहिले पुराना सामग्री जताततै मनपराइन्छ तर त्यस्तै गरी सामग्री बनाउने कला हामीसँग छैन। त्यसैले त्यस्ता कलाको संरक्षण गर्न सक्नुपर्छ', सिलाकारले भने, 'संसारभर नेपाली मौलिकता झल्किने यस्ता कलासहित उड कार्भिङका सामग्री फैलाउने हो, यसमा सरकारले सहयोग गर्नुपर्छ।'

उनले अब केही समयमै नौलो प्रविधिबाट काष्ठ सामग्री बनाउने तयारीमा रहेको बताए। 'अहिले म 'सेमिअटोमेसन'मा गएको छु,अब पूर्ण 'अटोमसेन'मा जानेछु,' सिलाकारले भने।

उनले अहिलेको दुई करोड रुपैयाँको वार्षिक कारोबारलाई बर्सेनि दोब्बर बनाउँदै लैजाने र रोजगारीसँगै नयाँ प्रविधि भित्र्याउने योजना रहेको बताए। सिलाकार भन्छन्, 'बाजेले बनाएको 'इलिफेन्ट कार्भिङ उड'को सीप पनि सम्झिएको छु। बुबाले आफ्नो सीप मलाई सिकाइरहनुभएको छ। स्वीडेनका चर्चित ब्राण्डका अत्याधुनिक सामग्री पनि सम्झिएको छु। सबैबाट हाइब्रिड सामग्री निकाल्ने मेरो योजना छ'। 

देशभित्र बाजे र बुबासहितको पहिचान झल्काइरहने र विदेशमा कलाको माध्यमबाट नेपाल चिनाउने आफ्नो सपना भएको सिलाकार सुनाउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.