|

बुटवल : नेपाल पत्रकार महासंघले बुद्ध जन्मस्थल लुम्बिनीको संवर्द्धन, प्रवर्द्धन र प्रचार प्रसारका लागि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने भएको छ।

महासंघको लुम्बिनीमा सम्पन्न बैठकले १४ बुँदे घोषणा पत्र जारी गर्दै लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा एउटा प्रमुख गन्तव्यका रूपमा स्थापित गरी यसको गरिमा र महत्त्वलाई बढाउनका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो।

पत्रकार महासंघ रुपन्देही र कपिलवस्तुको आतिथ्यतामा बसेको बैठकले बौद्ध दर्शन तथा लुम्बिनी क्षेत्र र यसको ऐतिहासिक तथा पूरातात्विक महत्वका बारेमा विस्तृत अध्ययन गर्न चाहने पत्रकारहरुका लागि पत्रकार लेखनवृत्ति वा छात्रवृत्ति स्थापना गर्न, पुरस्कार, अनुभव आदान प्रदान तथा भ्रमण कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ।

‘बुद्धको जन्मलगायतका ऐतिहासिक विषयहरुमा विभिन्न देशका पाठ्यक्रमलगायतका बुद्धसम्बन्धी जानकारीका सामग्रीहरुमा देखिएका गलत जानकारी तथा अन्योल हटाउनका लागि सम्बन्धित सरकारहरुसँग पहल गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ' घोषणा पत्रमा उल्लेख छ।

बैठकले मिडियासम्बन्धी कानुनहरूलाई नीतिगत रूपमा एकरूपता दिनुका साथै स्वतन्त्र प्रेसविरुद्ध हुने कुनै पनि प्रावधान नआउने सुनिश्चित गर्न आपसमा समन्वय गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारसँग माग गरेको छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागू गर्न यो बैठक माग गर्दछ' घोषणा पत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.