|

पर्वत : गाउँपालिका उपप्रमुखको राजीनामा माग गर्दै पर्वतको पैयूँ गाउँपालिकाका-३ जना वडाध्यक्षहरूले बिहीबार दोस्राे दिन पनि गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन्। नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित बनेका वडाध्यक्षहरू महेन्द्र श्रेष्ठ, उमाकान्त भुर्तेल र बिष्णुप्रसाद काफ्लेले बुधबारबाट धर्ना दिन सुरू गरेका छन्।

वडा-४ का वडाध्यक्ष श्रेष्ठ पारिवारिक भेटको लागि जापान जाँदा कार्यवहाक अरुलाई हस्तान्त्रण गरेको बारेमा गाउँपालिकाको कार्यालयमा जानकारी नगराएको भन्दै कांग्रेसबाट बिजयी बनेकी उपप्रमुख जसमति गुरुङले स्पष्टीकरण सोधेपछि उनीहरूले गुरुङको राजीनामा माग गर्दै धर्ना दिएका हुन्। वडाध्यक्ष श्रेष्ठले उपप्रमुख गुरुङले बिना कारण स्पष्टीकरण सोधेर बैठकमा लगातार ३ पटक अनुपस्थित भएको भन्दै पदरिक्त गराउने प्रयास गरिरहेको दावी गर्छन्। आफूले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवहाकजिम्मेवारी दिएर जापान गएको र कार्यवहाक दिइएको बारे आफूले गाउँपालिकामा लिखित पत्र समेत दर्ता गराएको वडाध्यक्ष श्रेष्ठको भनाई छ।

वडाध्यक्षहरूले आफूहरूलाई उपप्रमुखले सधैँ हैरानी मात्र दिएका कारण बाध्य भएर धर्नामा बस्नु परेको बताएका छन्। उनीहरूले बुधबारबाट अनशन नै बस्ने तयारी गरेको भए पनि नेकपाको निर्देशनपछि अनशन छोडेर धर्नामा बसेको बताए। गाउँपालिकाका प्रमुख खगेन्द्रप्रसाद तिवारीले भने श्रेष्ठ भ्रमणमा गएका बेलामा गाउँपालिका कार्यालयमा जानकारी नगराएका कारण स्पष्टीकरण सोध्न बाध्यता भएपछि विवाद सुरू भएको बताए। 

उपप्रमुख जसमति गुरुङले पत्र पठाएपछि वडाध्यक्ष श्रेष्ठ जापानबाट नेपाल फर्किएका थिए। श्रेष्ठ नेपाल फर्किए लगत्तै गएको सोमबार नेकपाका केही कार्यकर्ता र केही जनप्रतिनिधिले समेत गाउँपालिकाका प्रमुख तिवारी र उपाध्यक्ष गुरुङलाईभित्रै राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। उक्त ताला भने प्रहरीले फुटाएर उनीहरूलाई बाहिर निकालेको थियो।

समस्या समाधानको लागि बुधबार र बिहीबार पटक पटक वार्ता गरिए पनि निष्कर्षविहीन भएकाे छ। नेकपाका प्रतिनिधिहरूले उपाध्यक्ष गुरुङले राजिनामा दिनुपर्ने अडान राखेका छन् भने नेपाली कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधिहरूले भने उपाध्यक्षले माफी मागेर समस्याको निकास निकाल्ने पक्षमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.