|

ओखलढुंगा :  २०७२ वैशाख १२ र २९ को भूकम्पले क्षतविक्षत जिल्ला अधिकांश विद्यालयको पुनर्निर्माण हुन सकेको छैन। विद्यालय व्यवस्थापन समिति तथा निर्माण उपभोक्ता समिति र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण विद्यालयको पुनर्निर्माण हुन नसकेको हो।

विद्यालयको पुनर्निर्माण समयमा नै हुन नसक्दा ओखलढु‌गाको दुर्गम गाउँका विद्यालयहरूमा बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता छ। बहुकक्षा शिक्षण गर्दा कहिलेकाहीँ ठिकै भए पनि साना कक्षाका विद्यार्थीलाई सिकाउन कठिन हुने गरेको शिक्षकहरुले बताउने गरेका छन्। कुनै समय विद्यालयको चौरमा त कुनै समय बहुकक्षा शिक्षण भइरहेको छ। तत्कालीन जिल्ला शिक्षा कार्यालयले अस्थायी शिक्षण सिकाइ केन्द निर्माणका लागि निकासा भएको बजेट समेत पहुँचका आधारमा वितरण गरेको थियो। अस्थायी शिक्षण सिकाइ केन्द्र समेत पहुँचका आधारमा वितरण भएपछि दुर्गममा भने त्रिपाल र चित्राका भरमा विद्यालय संचालन भइरहेका छन्।

भूकम्पले क्षतविक्षत भएका कक्षा कोठामा चित्राले बारेर कक्षा कोठा छुट्याइएको छ भने एउटा कक्षामा पढाउँदा अर्को कक्षामा आवाज सुनिएर पठनपाठन गर्न नमिल्ने अवस्था रहेको छ। कक्षा कोठा नहुँदा दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको सिद्धिचरण नगरपालिका –१ मा रहेको तीनपिप्ले आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा निरौलाले बताइन्। तत्कालीन जिल्ला शिक्षा कार्यालयले अस्थायी शिक्षण सिकाइ केन्द्र निर्माणका लागि आएको बजेट पहुँचका आधारमा वितरण गरेका कारण आफ्नो विद्यालयको पहुँच नपुग्दा समस्या झेल्नु परेको गुनासो छ।

पुनर्निर्माण नहुँदा शौचका लागि जंगल

त्यस्तै भवन अभावकै कारण मोलुङ गाउँपालिका–७ पात्लेको जनकल्याण अधारभूत विद्यालयले पनि समस्या झेल्नुपरेको छ। भूकम्पले भत्काएको भवन निर्माण हुन नसक्दा यहाँ पनि बहुकक्षा शिक्षण भइरहेको छ । भूकम्पले विद्यालयको शौचालय समेत भत्काएको थियो। भत्किएको शौचालय हालसम्म पुनर्निर्माण हुन नसक्दा शौच गर्न समस्या रहेको विद्यालयका शिक्षिका मनिषा तामाङको गुनासो छ।

विद्यालयकी शिक्षिका तामाङका अनुसार विद्यालय समयमा शौचालय जानुपर्दा जंगल चाहर्नु पर्ने बाध्यता छ, पुरुष शिक्षक तथा विद्यार्थीहरू त यताउता जाने गरे पनि छात्राहरु र शिक्षिकाहरूलाई समस्या रहेको छ। पात्लेको यो विद्यालय त जिल्लाको उदाहरण मात्रै हो, जिल्लाका उत्तरी तथा पश्चिमी भेगका विद्यालयहरुको हालत सबैको उस्तै छ। ओखलढुंगाको उत्तरी तथा पश्चिमी भूगोलमा भूकम्पको क्षति बढी भए पनि यो भेग जिल्ला सदरमुकामदेखि टाढा भएकै कारण पछाडि परेको जाल्पा माबि टारकेराबारीका पूर्व प्रअ तथा लिखु गाउँपालिका– ८ का अध्यक्ष विशालकुमार पौडेलको भनाइ छ।  

सिडा नामक संस्थाले तयार गरेको तथ्यांकमा जिल्लामा रहेका सबै ३३१ विद्यालयमा पूर्ण रूपले क्षति पुगेको तथ्यांक छ। जिल्ला शिक्षा तथा समन्वय इकाइ ओखलढुंगाका प्रमुख खगेन्द्र श्रेष्ठका अनुसार सिडाले जिल्लाका सबै विद्यालयमा क्षति भन्ने तथ्यांक दिएको र सम्बन्धित विद्यालयको शिक्षकहरु मार्फतआएको तथ्याङ्कमा कतिपय विद्यालयमा केही नै नभएको भन्ने प्रतिवेदन तयार भए पछि तथ्यांक फरक फरक भएको हो।

तथ्यांक फरक फरक भएपछि के गर्ने गर्ने भन्ने दुविधा भए पछि बढी क्षति भएका र आवश्यकताका आधारमा भवन तथा कक्षाकोठा निर्माणको लागि आएको योजना वितरण गरीएको श्रेष्ठको भनाइ छ। तथ्याङ्क फरक फरक भए पछि सुरुमा काम गर्न कठिनाइ भएको र अहिले सिडा कै तथ्याङ्कका आधारमा पुनर्निर्माण भइरहेको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ शिक्षा, जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा ओखलढुंगाका प्रमुख रेविका अमात्यले बताइन्।

जिल्लामा क्षति भएका विद्यालयहरुको बास्तविक तथ्यांक आएन भन्ने गुनासो उठेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत नै पुनः सम्बन्धित विद्यालयको शिक्षकहरूमार्फत नै तथ्यांक संकलन गरियो। उक्त तथ्यांकअनुसार ओखलढुंगामा रहेका २६० विद्यालयमा नै क्षति भएर विद्यालय तथा कक्षाकोठा निर्माण गर्नुपर्ने निकर्ष निकालीएको थियो।

वास्तविक क्षति कति भयो ?

तत्कालीन जिल्ला शिक्षा कार्यालयकोे तथ्यांकअनुसार ओखलढुंगामा उच्च मावि २२ वटाको ८५ कोठा, मावि सात वटा विद्यालयको १७६ कोठा, निम्न माध्यमिक विद्यालय १३ वटाको १४७ कोठा, प्राथमिक विद्यालय ६२ वटाको ३४६ कोठा गरी जम्मा ८४ विद्यालयका ७५४ कोठामा पूर्ण रुपमा क्षति पुगेको उल्लेख छ। त्यस्तै उच्च मावि २२ वटाको १०४ कोठा, मावि ३७ वटाको १२० कोठा, निमावि ३२ वटाको १०८ कोठा, प्राथमिक ८५ वटाको २५६ कोठा गरी जम्मा १७६ विद्यालयका ५८८ कोठामा आंशिक क्षति पुगेको छ। अन्य उच्च मावि, मावि, निमावि, प्राविका गरी ३५१ कोठामा सामान्य क्षति पुगेको तथ्यांकमा उल्लेख छ भने ७० वटा विद्यालयको ७६ वटा शौचालय पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

पुनर्निर्माण हुँदै विद्यालय

भूकम्प गपछिको तीन वर्ष बितिसक्दा पनि हाल सम्म भूकम्पले पूर्ण क्षति पुर्‍याएका सबै विद्यालयहरूको पुनर्निर्माणको कार्य भने अझै पनि हुन सकेका छैनन्। तत्कालीन जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाका विभिन्न २६० विद्यालयको एक हजार ६९३ कक्षाकोठामा भूकम्पका कारण असर पुगेको छ । क्षति भएका विद्यालयमध्ये अहिले सम्म ७०वटा विद्यालयको २४३ कक्षा कोठा बनेका छन् भने विभिन्न विद्यालयको ८४५ कक्षाकोठा निर्माणको चरणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.