|

धनकुटा : पूर्वको पर्यटकीयस्थल भेडेटारनजिकै रहेको सिम्सुवा खोलाको नमस्ते झरना पर्यटकका लागि पुन: खुला गरिएको छ। 

सागुँरीगढी गाउँपालिका–६ मा रहेको झरनामा गत महिना ढुंगा खसेर एक युवकको मृत्यु भएपछि बन्द रहेको झरना बिहीबारदेखि सञ्चालनमा आएको हो। गत असार १ गते इटहरी उपमहानगरपालिका–९ का विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा ढु‌ंगा खसेर घाइते भएका थिए। उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएपछि झरना व्यवस्थापन समितिले पर्यटक आवागमन बन्द गरेको थियो।

पर्यटकको सुरक्षाको लागि झरनाको दायाबायाँ माछीकाँडे जाली लगाइएपछि झरना सञ्चालनमा आएको समितिका अध्यक्ष दिलीप लिम्बूले बताए। उनका अनुसार साँगुरीगढी गाउँपालिकाको ६ लाख र झरना व्यवस्थापन समितिको दुई लाख गरी अाठ लाख रुपैयाँ खर्च गरेर जाली लगाइएको हो। झरना सञ्चालनमा आएको पहिलो दिन बिहीबार करिब २०० पर्यटक आएको लिम्बुले जानकारी दिए।

गाउँपालिका र झरना व्यवस्थापन समितिले केही रकम खर्चेर सुरक्षा व्यवस्था अपनाएर झरना सञ्चालनमा ल्याइएको सागुँरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्याले बताए। उनले गाउँपालिकाले बुधबार झरनाको अनुगमन गरेर खोल्न अनुमति दिएको र झरना व्यवस्थापन समितिले पनि बुधबार नै बैठक बसेर झरना अवलोकन सञ्चालनमा ल्याउने निर्णय गरेको बताए।

‘गाउँपालिकाको टोलीले झरना अनुगमन गरेर पर्यटकको सुरक्षाको चुनौती केही समाधान भएजस्तो लागेर खोल्ने अनुमति दिएका हौँ’, याख्याले भने ‘गाउँपालिकाले क्रमागत योजना अन्तर्गत झरनाको व्यवस्थापनको काम गरिरहने छ।’

६० मिटर अग्लो रहेको सो झरनाको चिसो पानीमा रमाउन पूर्वी तराईसहित भारतको दार्जिलिङ, बिहारलगायत ठाउँबाट दैनिक ४०० भन्दा बढी पर्यटक अवलोकनका लागि आउने गरेका छन्।  नेपालको सार्वजनिक विदा शनिबार र भारतको सार्वजनिक विदा आइतबार तथा चाडपर्व र विशेष अवसरमा झरना अवलोकनको लागि दैनिक १५ सयसम्म पर्यटक आउँछन्। 

यस्तै सुनसान बनेका झरना आसपासमा सञ्चालित तीन दर्जन भन्दा बढी होटलहरुमा विस्तारै पर्यटकले भरिन थालेका छन। झरना आवतजावतमा बन्द हुदाँ झरना क्षेत्रमा मात्र नभई धनकुटाको भेडेटार, मूलघाट तथा सुनसरीको धरान, इटहरी लगायतका क्षेत्रमा समेत सञ्चालित होटल व्यवसायमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.