|

काठमाडौं : दाहाल यज्ञनिधि। अपवादको तन्नेरी पुस्ताबाहेक सबैका लागि परिचित नाम। 'जदौ' दाहाल यज्ञनिधिलाई सम्झने 'ब्रान्ड।'

यही नाम र ब्रान्डबाट उनी नेपालीमाझ लोकप्रिय मात्र होइन, सम्मानित हुन पुगे। नेपाली साहित्यमा र विशेषगरी साहित्य संचारका क्षेत्रमा दाहाल यज्ञनिधि विशिष्ट छन्। निर्दलीय व्यवस्थामा उदारवादी सोचसहित कार्यक्रम पस्कन उनलाई चट्टानी समस्या थिए। प्रतिकूलताबीच उनले संचार, शिक्षणदेखि साहित्यसम्मका क्षेत्रमा योगदान दिए।

दाहाल यज्ञनिधि लामो समयदेखि अस्वस्थ छन्।  उनको इच्छाशक्तिले मृत्युलाई पनि पर धकेलिरहेको छ, जो अहिले पनि अस्पतालमा उपचाररत छन्।

उनले लामो समय रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम संचालन गरेका थिए। त्यही उनले त्यही कार्यक्रममार्फत् ‘जदौ’ शब्दलाई लोकप्रिय पनि बनाएका हुन्। अभिवादनका लागि प्रयोग गरिने ‘नमस्ते’को सट्टा ‘जदौ’ प्रयोग गरेर उनले सीमान्तकृत र उत्पीडित वर्गको सम्मान गरेको बताउँछन्।

लामो समय शिक्षण पेसामा समेत संलग्न रहेका दाहालले लोकप्रिय रेडियो कार्यक्रम साहित्य संसारमार्फत् हजारौँ साहित्यकारलाई आमजनमा परिचित गराएका छन्। रेडियो नेपालबाट बाहिरिएपछि पनि उनले एचबिसी, अन्नपूर्णलगायतका एफएम रेडियोहरूमार्फत् साहित्यिक कार्यक्रम संचालन गरिरहे र स्रष्टा र सिर्जनालाई आमजनसम्म पुर्‍याइरहे।

साहित्ययात्रा : 'निबन्धमा बढी रमाएँ'

दाहाल यज्ञनिधि संस्कृतका विद्यार्थी, उसै पनि संस्कृत साहित्य पढ्नुपर्ने, विभिन्न सुललित छन्दका काव्य पढ्दापढ्दै उनमा कविताप्रतिको रुचि बढेर गयो। २०३१ सालमा पहिलो कविता लेखे उनले- ‘उद्वेग’ शीर्षकको। भैरव अर्याललाई देखाए उक्त कविता। भैरव अर्यालले केही सम्पादन गरिदिए र मधुपर्क साहित्यिक पत्रिकामा पठाए। उक्त कविता प्रकाशन भयो तर 'गुन्द्रुक' शीर्षकमा। 

त्यसपछिको उनको साहित्ययात्राले विश्राम लिएको छैन। उनी सिर्जनाकर्म र साहित्य संचारकर्ममा लागिरहे। कविताबाट सुरु भएको उनको साहित्ययात्रा कवितालेखनमा लामो समय रमाउन सकेन। सायद उनलाई वास्तविक जीवनमा जस्तै स्वतन्त्रता र खुलापनको आवश्यकता भयो सिर्जनामा पनि। त्यसैले अलिक फराकिलो गरी पोखिन सकिने विधा निबन्धतर्फ मोडिए दाहाल। भन्छन्, ‘स्रष्टाले फराकिलो क्षितिज खोज्दोरहेछ लेखनमा पनि, सायद मलाई पनि यही कुराको खोजी भयो र कविताभन्दा निबन्धमा बढी रमाउन थालेँ।’

तर उनी कृति प्रकाशनमा भन्दा फुटकर लेखन र प्रकाशनमै रमाए लामो समय। केही वर्षअघि मात्र उनको निबन्धकृति ‘जदौका निबन्धहरू’ प्रकाशनमा आयो, त्यो पनि शुभचिन्तकहरूको विशेष आग्रहमा। उनी आफैँ पनि आफूलाई कवितामा भन्दा निबन्धमै ‘प्रखर’ ठान्छन्। ‘म निबन्धमा बढी खुल्छु भन्ने लाग्छ’, दाहाल भन्छन्। 

उनले साहित्यलेखनसँगै स्रष्टालाई परिचित गराउने काम पनि गरे लामो समय। भर्खरै लेख्न थालेकादेखि स्थापितसम्मलाई उनले रेडियोमार्फत् लाखौँका बीचमा परिचय गराइदिए। उनलाई नै यकिन छैन, कति स्रष्टालाई उनले ‘साहित्य संसार’मा उभ्याए, स्थापित गराए र ‘महान् साहित्यकार’ बन्न सहयोग गरे। भन्छन्, ‘कति गैरसाहित्यकारलाई समेत साहित्यकार बन्न प्रेरित गरेँ, मैले हिसाब राखेको छैन। कति त सम्पर्कमै छैनन्।’

उनको सपना थियो रे– घरको एउटा तलामा कविगोष्ठी र संगीत सम्मेलन गर्ने। तर त्यो सपना पूरा हुनसकेन। ‘समय, परिस्थिति के मिलेन, मेरो उक्त सपनाले साकार रूप लिन पाएन’, उनले भने।

केही तीता अनुभव

उनको चार दशक लामो साहित्य र साहित्य संचारयात्रामा धेरै मीठा र केही तीता अनुभवहरू रहे। स्रष्टा आफैँमा अराजक हुन्छ, त्यो अराजकता लेखनमा हुनुपर्ने धेरैको मत रहे पनि दाहाल यज्ञनिधि भने त्यसबाट केही फरक छन्। उनी वैचारिक र व्यावहारिक रूपले पनि ‘सत्य’को वकालत गर्न कुनै आइतबार बार्दैनन्। उनको सत्य पनि सापेक्ष छ भन्ने उनले नबुझेका पक्कै छैनन् तर आफ्ना कुरामा सिधा अडान र लगाव उनका लागि ‘शत्रु कमाउने’ कारक बने। 

उनले पढे संस्कृत, जहाँ पद्य साहित्यका विशिष्ट कृति र रचना पढ्नुपर्छ। संस्कृत साहित्यका धेरै कृति र रचना पढेका उनले गद्य कवितालाई पनि पद्यात्मक शैलीमा वाचन गरिदिए। त्यसपछि त्यस समयका चर्चित गद्यकवि भूपि शेरचनले उनको निकै आलोचना गरे। 

आफूमा रहेको राजनीतिक चेतनाले पंचायत र राजाको शासनको विरोध गरिरहेको अवस्थामा पनि हालका नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले आफूलाई पंचायतको सिआइडी भएको आरोप लगाएकामा उनलाई अझैसम्म नरमाइलो लागिरहेको छ।

एक पटक विपी कोइरालाको जन्मदिवसमा आफूले लेनिनले ट्रटस्कीलाई मारेको सन्दर्भ उठाउँदा वामपन्थी नेता हरिबोल गजुरेलले ‘गिरिजाको चाकडीबाज’ भनेर आरोप लगाएको सन्दर्भ पनि उनले सम्झिए। त्यसबेला उनले भनेका थिए रे, ‘म सर्वहाराको वकालत गर्छु, भोट कांग्रेसलाई हाल्छु।’

प्रभुशमशेरको मार्ने योजना

वि. सं. २०४२ सालमा कांग्रेसले सत्याग्रह गरिरहेको थियो। दाहालले रेडियो नेपालको लोकप्रिय कार्यक्रम साहित्य संसारमा वानिरा गिरीको कविता ‘रानीपोखरी’ बजाए। उक्त कवितामा ‘काला पाखण्ड, मोटा तस्कर’ उल्लेख थियो। उक्त कवितामा भक्तपुरको दत्तात्रेयको मूर्ति क्रेन लगाएर निकाल्न लाग्दा प्रहरी नै सहयोगी बनेको उल्लेख थियो। ‘सायद प्रभुशमशेरलाई उक्त कविताले व्यंग्य गरेको थियो’, दाहालले भने, ‘त्यसपछि प्रभुशमशेरले उनकी बहिनी रानी ऐश्वर्यलाई दाहाल यज्ञनिधिलाई मार्ने ठाउँ खोज भनेछन्।’

‘अनामनगर’का पण्डित

नेपालको प्रमुख प्रशासनिक केन्द्र काठमाडौंको सिंहदरबारको पूर्वपट्टि, अहिले जुन कंक्रिटको जंगल बनेको छ, त्यो हिलाम्य खेत थियो ऊबेला। उनीलगायत केही राजधानीबाहिरका मानिसले घर, टहरा बनाएर बसेका थिए। विस्तारै मान्छेको भीड बढ्न थाल्यो त्यहाँ। त्यस ठाउँको कुनै निश्चित नाम दिन आवश्यक ठानियो। 

टोल आवाद गरिसकेपछि रातारात बिजुलीका पोल गाडे, तार लगाए र बाटो खोले। धोवी खोला बगरले विस्तारै नगरको रूप लिन थाल्यो। तर नामकरणका सन्दर्भमा चर्काचर्की जस्तै भयो टोलमा। केहीले राजारानीका नाममा राख्ने जोड गरे तर पदमराज जोशी र दाहालले भने अस्वीकार गरे। उनीहरूले ‘अनामनगर’ राख्न सुझाए। अन्ततः अनामनगर पारित भयो।

२७ वर्ष शिक्षण, व्याकरणमा कमजोर गुरु

दाहाल यज्ञनिधिले २७ वर्ष शिक्षण गरे विद्यालयमा। आफूलाई सधैँ व्याकरणमा कमजोर ठानिरहे उनले। ‘व्याकरणमा कमजोर गुरु हुँ म। व्याकरण पढाउनु छ भने कविता सुनाएर भोलिपल्ट पढेर गएर पढाउँथेँ’, उनले भने।

उनमा केही लेखकप्रति अत्यन्तै रोष देखिन्छ। सर्वहाराको लेखक हुँ भनेर छुट्टाछुट्टै दस्ता बनाउँदै हिँड्नेहरूले नेपाली साहित्यको बदनाम पनि गरिरहेका उनको भनाइ छ। यस्ता सर्वहाराको वकालत गर्नेहरू नै सामन्तहरूको भक्तिगान गाउन अगाडि रहेको आरोप पनि छ उनको।

सन्तुष्ट/असन्तुष्ट पक्ष

दाहाल यज्ञनिधिले जीवनका साढे छ दशक वसन्त पार गर्दा धेरै आरोह/अवरोह भोगे। दुर्गम खोटाङमा जन्मिएर धरान हुँदै राजधानी काठमाडौंसम्मको यात्रा तय गरे। ऊबेलाका शास्त्री/स्नातक दाहालले राम्रै जागिर पाए– शिक्षण। साहित्य र साहित्य संचारकर्ममा पनि लामो समय रमाए/रमाइरहेका छन्। उनलाई जीवनमा सबैभन्दा ठूलो सन्तुष्टि साहित्य संचारमा रहेछ। भन्छन्, ‘साहित्यिक पत्रकारितामा जे जति गरेँ, त्यसमा म अत्यन्तै सन्तुष्ट छु।’ 

यसमा पनि उनलाई बढी खुसी त धेरै राम्रा स्रष्टा आफ्ना कारण नेपाली साहित्यले पाएकामा लाग्छ रे! सँगसँगै ओझेलमा परेका र मूलधारको नेपाली साहित्यले बेवास्ता गरेका धेरै स्रष्टालाई परिचित गराउन पाएकामा पनि उनी निकै सन्तुष्ट ठान्छन् आफूलाई।

त्यसो त अर्को पाटो पनि छ– असन्तुष्टिको। ‘खासै केहीमा असन्तुष्टि छैन’ भन्दै केही असन्तुष्टि पनि व्यक्त गरिहाले उनले। ‘नेपाल बौद्धिक र हार्दिक बनिरहोस् भन्ने मेरो सोच थियो’, यसरी पोखे दाहालले आफ्ना असन्तुष्टि, ‘पेट र महत्त्वाकांक्षाका कारण पठित पनि यस्ता रहेनन्।’

लामो समयदेखि मिर्गौलाका बिरामी दाहाल यज्ञनिधिको गल्दो शरीर र बुढ्यौलीले पनि गाँज्दै गएको अनुहार अलिक मलीन देखियो यसबेला।
उनी राजनीतिक/सामाजिक अवस्थाबारे पनि सन्तुष्ट देखिएनन्। राजनीतिक नेतृत्व र सामाजिक अभियन्ता/अगुवाहरू नै अन्ततः चरित्रहीन/सिद्धान्तहीन बन्दै गएकामा पनि उनको असन्तुष्टि रहेछ। ‘एक हजार समाचार छापामा आए भने ९०० वटाचाहिँ चरित्र र सैद्धान्तिक विचलनका आउँछन्, कसरी संभव छ रामराज्य?’, उनको चिन्ता यसरी प्रकट भयो।

उनी आफूलाई सच्चा कांग्रेस ठान्छन् राजनीतिक रूपमा। ‘२०३० सालदेखि कांग्रेस हुँ। पार्टीगत रूपमा मैले कांग्रेसको सेवा गरेको छु तर कांग्रेसको आवरणमा कांग्रेसमाराप्रति भने मेरो वितृष्णा छ।’ तर यो ‘तथ्य’ पत्ता लगाउन उनलाई ५० वर्षको उमेरसम्म कुर्नुपर्‍यो रे!

उनमा केही लेखकप्रति अत्यन्तै रोष देखिन्छ। सर्वहाराको लेखक हुँ भनेर छुट्टाछुट्टै दस्ता बनाउँदै हिँड्नेहरूले नेपाली साहित्यको बदनाम पनि गरिरहेका उनको भनाइ छ। यस्ता सर्वहाराको वकालत गर्नेहरू नै सामन्तहरूको भक्तिगान गाउन अगाडि रहेको आरोप पनि छ उनको।

सम्मान र पुरस्कारबारे उनको वितृष्णा देखिन्छ। देशकै ठूलो र सम्मानित मानिएको पुरस्कार मदन पुरस्कारको त उनले निकै आलोचना गरे। नेपाली साहित्यमा अधिकांश पुरस्कारबारे सोचेर मात्र निर्णय गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘मदनशमशेरको अपुतालीमा पुरस्कार जोडिदिएकाले नेपालमा पुरस्कार शब्द नै बदनाम छ।’

सम्मानयोग्य पात्रहरू

दाहाल यज्ञनिधिका नजरमा नेपालमा सम्मानयोग्य पात्रहरू अत्यन्त कम छन्। माहिली सर्किनी र मरनीदेवीलाई उनी उच्च सम्मानका पात्र ठान्छन्। माहिली सर्किनी, जो रूपसी थिइन्, जसका श्रीमानलाई मान्छे काटेको आरोपमा चन्द्रशमशेरले जेला हालेका थिए, उनले चन्द्रशमशेरलाई बग्गीमा हिँडिरहेका बेला बाटैमा रोकिन्। र, माहिलीलाई दरबारमा लगियो अनि नाच्न, गाउन लगाएर बक्सिस दिएर फर्काइयो।

उनले ‘बाहुनले छाडे वेद पढ्न, क्षेत्रीले छाडे शासन गर्न, यो कुन धर्मको शासन हो, घाँस काट्नेले मान्छे काट्यो भन्ने?’ गाएपछि चन्द्रशमशेरले उनका श्रीमानलाई जेलमुक्त गरिदिएछन्। ‘ती एक वीराङ्गना हुन्, जससँग त्यस्तो साहस र बुद्धि थियो र त्यस बेलाको निर्दयी शासकलाई पनि झुकाइन्’, दाहालले भने, ‘यसर्थ माहिली सर्किनी सम्मानयोग्य पात्र थिइन्।’

यसपछि उनले देखेका सम्मानयोग्य पात्र हुन्, मरनीदेवी। केही वर्षअघि पूर्वी तराईको महोत्तरी सिमरदही– २ की मरनीदेवी साहलाई बोक्सीको आरोपमा अपमान गरियो। वि. सं. २०५८ साउन ३० गते मरनीदेवीलाई बोक्सीको आरोप लगाउँदै छिमेकीहरूले सार्वजनिक स्थलमा कुटपिट गरे। मलमूत्र खुवाएर अपमान गरे। साउन २९ गते गाउँकै एक विवाह भोजमा छारो रोग लागेका एक बालकको भोजस्थलमै मृत्यु भएपछि उनीमाथि उक्त बालकमाथि बोक्सी लागेको आरोप लगाइयो। उनलाई बोक्सी प्रमाणित गर्न अनेक प्रपंच रचियो। एउटा पूजाको नाटक गरेर उनलाई विष खुवाएर मार्ने प्रयास भयो।

तर आज मरनीदेवीले न्याय पाएकी मात्र छैनन्, बोक्सी जस्ता सामाजिक कुप्रथाको अन्त्य, पिछडिएका र उत्पीडित वर्गको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहेकी छन्। ‘यस कारण पनि मरनीदेवी सम्मानयोग्य व्यक्ति हुन्’, दाहालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.