|

अछाम : जिल्लाको पंचदेवल विनायक नगरपालिका– ६ तोलीमा गरिब घर परिवार परिचयपत्र वितरणमा भएको विवाद उत्कर्षमा पुगेको छ। 

नगरपालिकाले परिचयपत्र वितरणका लागि आयोजना गरेको शिविरमा परिचयपत्र पाउनुपर्ने गरिबहरूको नामावली नभेटिएपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा तोडफोडको प्रयास गरेका थिए।

स्थानीयको चर्को नाराबाजीपछि परिचयपत्र वितरण कार्य प्रभावित भएको नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख अष्टराज गौतमले बताए।

स्थानीयको भीड नारा बाजिका साथ वडा कार्यालयभित्र पस्दा त्यहाँ राखिएका सामग्री केही तहसनहस भएको भन्दै वडा कार्यालयले स्थानीय दुई महिलासहित छ जनाविरुद्ध सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता गराएको छ।

वडा कार्यालय तोडफोड गरेका भन्दै स्थानीय अमरबहादुर रावल, कलम शाही, दानबहादुर रावल, पदम रावल, धना शाही, मनसरा शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। उनीहरूलाई म्याद थप गरेर बयान लिने काम भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले बताए।

वडा कार्यालयमा भने सामान्य क्षति मात्र भएकोे छ।

घटना यसरी भयो

साउन १९ गते बिहान १० बजेदेखि वडा कार्यालयमा परिचयपत्र वितरण सुरुका लागि तरखर हुँदै थियो। परिचयपत्र पाउने आशा लिएका वडाका गरिब नागरिकहरू वडा कार्यालयबाहिर भेला भइसकेका थिए।

परिचयपत्र पाउनेहरूको सूचीमा अधिकांश नागरिकहरू छुटेको तथ्य बाहिर आएपछि स्थानीयले वितरण कार्य रोक्न सरकारी टोलीलाई पटक पटक आग्रह गर्दा पनि वितरण कार्य नरोकिँदा नाराबाजी सुरु भयो। करिब ३०० बढीको भीड नाराबाजीका साथ वडा कार्यालय घेराउको लागी पुग्यो। केहि यूवाहरूले वडा कार्यालयका कुर्षि टेवल उठाउन थाले। वितरण टोलिले वितरण कार्य रोक्यो। केहि बेरमा भीड शान्त बन्यो। नगरपालिकाका प्रशासकीय अधिकृत गौतमले इलाका प्रहरी कार्यालयमा सुरक्षाका लागि फोन गरे र उनीलगायत सरकारी टोल नगरपालिका कार्यालय फर्कियो। सरकारी टोलि फर्के पछी केहि स्थानीयहरू घरतिर लागे भने केही भने वडा कार्यालय आसपासमा बसिरहेका बेला एकाएक प्रहरी पुग्यो। नजिक रहेका छ जना युवाहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठायो। उनीहरूविरुद्ध अहिले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ।

अहिले प्रहरी हिरासतमा रहेका स्थानीय छ जना भने आफूले कुनै पनि गल्ती नगरेको बताउँदै आएका छन्। गरिबको परिचयपत्र दिनुपर्छ भन्दैमा आफूविरुद्ध सार्वजनिक मुद्दा चलाइएको उनीहरूको भनाइ छ।

आफूले परिचयपत्र पाउनुपर्छ भन्दा प्रहरी हिरासतमा जानुपरेको गुनासो सुन्ने निकाय नै नभएको हिरासतमा रहेका अमर रावलले बताए।

‘सरकारले परिचयपत्र दिन्छ भन्ने सुनेर खुसी थिएँ, अहिले जेलको बास दियो’, आरोपी मनसरा शाहीले भनिन्। उनीहरूले स्थानीय सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाएका छन्।

घटनापछि नगरपालिकाले अयोजना गरेको सर्वपक्षीय, सर्वदलीय बैठकमा सहभागी सरोकारवालाले प्रहरी हिरासतमा रहेका छ जनालाई तत्काल रिहाई गरिनुपर्ने बताएका छन्। नगरपालिकास्थित अन्य वडाका वडा अध्यक्षहरूले पनि उनीहरूलाई तत्काल रिहाईको पहल गर्नुपर्ने बताए।

गरिबको सूचीमा परेनन् अतिगरिबहरू

जिल्लाको पंचदेवल विनायक नगरपालिका– २ का महाजित विकका आमाबुबा बितेको पाँच वर्ष पुग्यो। एचआइभी एड्सको संक्रमणका कारण आमाबाबु गुमाएका विकका तीन भाइबहिनीलाई वाक नेपाल नाम गैरसरकारी संस्थाले पालन पोषण गरिरहेको छ। सम्पतिको नाममा कुनै पनि स्रोत नभएका उनको नाम भने त्यो सूचीमा परेको छैन। उनी मात्र होइन, जिल्लाका अधिकांश गरिबीको रेखामुनि रहेकाहरूको नामावली नै नरहेको भन्दै जिल्लाभर गरिब घर परिवार पहिचान बोर्डको आलोचना भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.