|

रामेछाप : जिल्लाको मन्थली नगरपालिका-१ र लिखु तामाकोशी गाउँपालिका-७ का २७ घर धुरीलाई पानी खुवाउने उद्देश्यले निर्माण गरिएको ट्यांकी तथा धाराहरू सञ्चालनमा नआउँदै भत्किन थालेका छन्। भूकम्प पछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्वारा उपभोक्ता समितिमार्फत निर्माण गरिएको खानेपानीको ट्यांकी तथा धाराहरू सञ्चालनमा नआउँदै भत्किन थालेका हुन्। 

६५ लाखको जोडी दोभान बान्द्रे जल आपूर्ति परियोजनामार्फत मन्थली नगरपालिका-२ को १८ घर र लिखु तामाकोशी गाउँपालिका-७ का ९ घरलाई खानेपानी सुविधा पुर्‍याउँने उद्देश्यले ट्यांकी तथा धाराहरू निर्माण गरिएको हो। स्टिमेट अनुसारको गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरिएकाले निर्माण कार्य सम्पन्न नभइसक्दै भत्किएको पुनःनिर्माण प्राधिकरणअन्तर्गत रामेछापका इन्जिनियर रोषणकुमार यादवले बताए। निर्माण भएर प्रयोगमा समेत नआएका ट्याङकी तथा धाराहरु तत्कालै मर्मत गर्नु पर्ने अवस्था रहेको छ। तत्कालै मर्मत गर्न सके निर्माण भएका ट्यांकी जोगाउँन सकिने अन्यथा भत्किएर छिट्टै ध्वस्त हुने इन्जीनियर यादवको भनाई छ। 

उपभोक्ता समितिले ट्यांकी निर्माण गर्ने दक्ष कामदार नपाएपछि ट्यांक निर्माणको लागि निर्माण ब्यवसायी कुशहरी बुढाथोकीलाई जिम्मा दिएका थिए। गएको असार मसान्तमा काम सम्पन्न गर्नुपर्ने भए पनि ट्यांकीका वरिपरि घेराबार र इनटेक निर्माण हुन सकेको छैन। पैसा अपुग भएकाले काम जति सम्पन्न भएको छ त्यो भन्दा बाँकी काम गर्न नसकिने निर्माण व्यवसायीले बताएको उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी अधिकारीले बताए। 

बजेट अपुग भएको कराण इनटेक र घेराबार गर्न नसकिएको निर्माण व्यवसायीको भनाई छ। बजेट ६५ लाख भनिए पनि उपभोक्ताले १६ लाख ६६ हजार रुपैयाँ मात्र पाएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए। 

स्टिमेट अनुसारको पूरै बजेट नआएकाले ट्यांकी तथा धारा निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका इन्जिनियर अभिराम मिश्रले बताए। निर्माणको क्रममा भएका कमी कम्जोरीलाई सच्चाएर तत्कालै ट्यांकी तथा धाराको मर्मत गर्ने पनि इन्जिनियर मिश्रले प्रतिवद्धता जनाए। स्टिमेटमा १ बोरा सिमेन्टमा २ बोरा गिटी र ४ बोरा बालुवा मिलाउनु पर्ने भए पनि ट्यांकी तथा धारा निर्माण गर्न प्रयोग गरिएका सिमेन्ट गिटी र बालुवाको अनुपात १ बोरा सिमेन्टमा ४ बोरा गिटी र ६ बोरा बालुवा रहेको उपभोक्ता समितिका अध्यक्ष कृष्णहरुले अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.