|

काठमाडौंः संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो। सचिवालयद्वारा प्रस्तावित कार्यविधि छलफलमा उठेका प्रश्नहरुको जवाफसहित पारित गरिएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए।

कार्यविधिमा पत्रकारहरुलाई बैठकमा जान रोक लगाउनेसम्मको व्यवस्था गरिएको छ। समितिले आवश्यक ठानेका बेला पत्रकारहरुलाई बैठकमा जान रोक लगाउन सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको समितिका सदस्य परशुराम मेघी गुरुङले बताए।

कार्यविधिमा बैठक अवधिभर सदस्यहरुलाई मोबाईल फोन चलाउन पनि प्रतिबन्ध लगाइएको छ। त्यसैगरी सभापति वा सचिवालयलाई पूर्व जानकारी नदिई बैठकमा सदस्यहरुले अनुपस्थित हुन नपाउने कडा व्यवस्था पनि गरिएको छ। समितिका जेष्ठ सदस्य शिवाकोटीले विशेष कारण परेको अवस्थामा बाहेक सदस्यहरु बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था पनि कार्यविधिमै तय गरिएको जानकारी दिए।

बैठकका निर्णय सकेसम्म सर्वसम्मतिमै गर्ने व्यवस्था पनि गरिएको समितिका जेष्ठ सदस्य शिवाकोटीले बताए। समितिले अनुगमन र मूल्यांंकनको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग छलफल गर्ने व्यवस्थालाई पनि अनिवार्य गरेको छ। बैठकमा उपस्थित हुँदा सरकारका मन्त्रीहरुले समितिको माग बमोजिम आवश्यक कागजात तथा विवरण समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

समितिको अर्का बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ। आईतबारको बैठकमा प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुने कार्यसूचि तय गरिएको पनि समितिका सचिव मनोज गिरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.