|

काठमाडौं : अमेरिकाको भिसा लगाइदिने र विभिन्न अमेरिकी प्रोजेक्ट पारिदिने भन्दै ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका डिल्लीबजारका पशन्न खातीलाई प्रहरीले पक्राउ गरेको हो। उनले अमेरिकी दूतावासको भिसा लगायतका कागजातहरू नक्कली बनाइ ठगी गरेको तथा प्रविधिको दुरुपयोग समेत गरेको उजुरी आएकाले सोही कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए।

२७ वर्षीय खातीबाट ठगिएको भनेर तीन जनाले उजुरी दिएको सिआइबीले जानकारी दिएको छ। खातीले आफू अमेरिकाको 'डिस्कभरी च्यानल'को कर्मचारी भएको भनेर नक्कली परिचयपत्र देखाउने गरेका थिए। उनले  सुरुमा सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाउने र त्यसकै आधारमा परिचय विस्तार गरेर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

खातीले पीडितहरूबाट भिसा लागेको र त्यसको विभिन्न चरणको प्रक्रियाको लागि भन्दै २० लाख लिएको उजुरी परेको थियो। उनले पीडितहरूलाई भिसा लागेको भनेर मोबाइलमा फोटो समेत देखाउने गरेको बताइएको छ।

त्यस्तै, ती पीडितले अर्को व्यक्तिलाई खातीसँग परिचय गराएपछि अमेरिकी आइएनजिओको रकम मिलाइदिने भन्दै पटक पटक गरी २५ लाख ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको एसपी भट्टराईले जानकारी दिए।

खातीले अमेरिकी राजदूतावासका उच्च पदस्त कुटनीतिज्ञसँग राम्रो चिनजान र सम्बन्ध भएको भन्दै कार्टर सेन्टर नेपाल फाउन्डेसनबाट ११ करोड रकम निकासा गराइदिने बताएर २५ लाख ठगेको पीडितको भनाइ उदृत गर्दै प्रहरीले बताएको छ।

खातीको साथबाट विभिन्न बैंकका नक्कली छाप, विभिन्न कार्यालयका नक्कली कागजात तथा परिचयपत्र, कुटनीतिज्ञहरूका नक्कली इमेल आइडी, कथित ब्ल्याक डलर बरामद गरिएको बताइएको छ।

साउन २३ गते पक्राउ परेका खातीलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ। उनलाई विद्युतीय कारोबार ऐन,२०६३ अनुसारको कसुरमा पनि अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.