‘सरकार जनतामाझ अलोकप्रिय बन्दै गयो, समीक्षा होस्’

|
फोटो : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्।

प्रधानमन्त्रीको सांसदहरूसँगको नियमित छलफलका क्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रदेश ५ सांसदहरूले अर्थमन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन्।

प्रधानमन्त्रीले नियमित रुपमा नेकपाका सांसदहरू र कार्यकर्ताहरूसँग भेटघाट र छलफल गर्दै आएका छन्। यसअघिका भेटमा सांसदहरूले स्थनीय र निर्वाचन क्षेत्रका समस्या सुनाउने र तीबारेमा छलफल गर्ने भएपनि यसपटकको प्रदेश ५ का सांसदहरूको भेटमा भने मन्त्री हटाउन माग आएको हो। मन्त्री खतिवडाप्रति नेकपाका सांसदहरूले बजेट पेश गर्ने क्रमदेखि नै असन्तुष्टी जनाउँदै संसदमै चर्को आलोचना गरेका थिए। उनीहरूले राजनीतिक रुपमा भन्दापनि ब्युरोक्र्याट शैलीमा बजेट ल्याएकोमा असन्तुष्टि जनाएका थिए।

सांसदहरूले प्रधानमन्त्रीसँगको भेटका क्रममा सरकारका पछिल्ला कामकारबाहीप्रति चरम असन्तुष्टि जनाएका छन्। 'लोकप्रिय प्रधानमन्त्रीले ल्याएको बजेट नै अलोकप्रिय भएको' भन्दै प्रधानमन्त्रीसँग सांसदहरूको गुनासो थियो।

दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणि चौधरीले सरकारको कामकारबाहीमा जनता सन्तुष्ट हुन नसकेको बताइन्। उनले सरकारले जनतालाई विकास र समृद्ध राष्ट्र हुन्छ भनेर विश्वस्त पार्नुपर्ने बताए।

उनले भने, 'दुई तिहाई बहुमत प्राप्त लोकप्रय प्रधानमन्त्रीले ल्याएको बजेट अलोकप्रिय भयो। यस्तो बजेटले सरकारको छबी राम्रो बन्दैन।' अर्थमन्त्रीप्रति चरम असन्तुष्ट देखिएका उनले थपे, 'सरकारले ल्याएको बजेटबाट जनता असन्तुष्ट छन्, जनतालाई कसरी सन्तुष्ट पार्नु पर्छ अब सरकारले सोच्नै पर्छ। अर्थमन्त्रालयले गरेका कामबाट हामी सन्तुष्ट छैनौँ, यदि सकिन्छ भने अहिलेका अर्थमन्त्री परिवर्तन गर्नुपर्छ।'

त्यसैगरी सांसद सोमप्रसाद पाण्डेले यातायात क्षेत्रामा रहेको सिन्डिकेट हटाउने र सिन्डिकेटधारीलाई कारबाही गर्ने भनेपनि कार्यान्वन हुन नसकेकोप्रति प्रधानमन्त्रीसमक्ष असन्तुष्टी पोखे। उनले काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्छौँ भनेर सरकारले दाबी गरेको तर त्यसो हुन नसकेको पाण्डेको भनाइ थियो।

‘सरकार अलोकप्रिय बन्दै गयो, समीक्षा होस्’

सांसद खिमलाल भट्टराईले सरकारको जनतामाझ लोकप्रियताबाट क्रमशः अलोकप्रियता तर्फ अघि बढिरहेको बताए। उनले भने, ‘जनताले निकै आशा गरेका थिए। तर अहिले सरकार त्यो अवस्थामा छैन, लोकप्रियता खस्किएको छ। सरकार अलोकप्रिय जस्तो भयो।’ उनले कहाँनेर कमजोरी भयो भनेर समीक्षा गर्नुपर्ने र त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए। उनले सुकुम्बासीलाई लालपूर्जा दिनुपर्ने लगायतका बाचा पूरा गर्नुपर्ने पनि बताए।

सांसद हिराचन्द्र केसीले भने, ‘तत्काल सरकारले काम गर्न सकेन। कहाँनेर, के कसरी यस्तो भयो? कहाँनेर समस्या छ? यसलाई सच्याएर सरकार अगाडि बढ्नुपर्छ।’

सांसदहरूको गुनासो सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सरकारले सबै बजेट सिध्याएका कारण त्यसलाई व्यवस्थापन गर्नुपर्ने भएकाले अहिलेको सरकारले कतिपय कार्यक्रमलाई सम्बोधन गर्न नसकेको बताए। उनले सरकारले विस्तारै जनतामाझ गरेका बाचा पूरा गर्दै जाने बताए। उनले आगामी वर्षदेखि वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता लगायतका अहिले छुटेका कार्यक्रम सम्बोधन गरिने बताए। उनले भने, ‘कुनैपनि अविश्वासमा रहनुपर्दैन। दु:खमनाउ गर्नुपर्ने छैन, ढुक्कसँग देश अगाडि बढ्छ।’

सांसदहरूको असन्तुष्टी सुनेका प्रधानमन्त्री ओलीले जवाफमा पार्टी एकताको काममा व्यस्त हुनुपरेकाले सरकारका काम कारबाही सन्तुलित ढंगले अगाडि बढ्न नसकेको स्वीकार गरेको भेटमा सहभागी एक सांसदले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.