|
फाइल फोटो

  • रमेश गिरी-

भक्तपुर : दैनिक घण्टौँसम्म लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजाम घटाउन जडीबुटी-पेप्सीकोलाको वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ। प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सुरू गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडक जामलाई कम गर्ने उपाय स्वरुप विकल्प खोजिएको हो। 

प्रतिनिधिसभा सदस्य बस्नेत,भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट,महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारी, भक्तपुरका ट्राफिक प्रहरी प्रमुख जगत नेपालीलगायत विभिन्न सरोकारवालाको टोलीले उक्त क्षेत्रको अवलोकन गरी शुक्रबारदेखि सडक मर्मतसहित ग्राभेल बिछ्याउने कार्य सुरू गरेको छ। 

पूर्व मन्त्री बस्नेतले भने,'म निर्वाचित भएर आएपछि कोटेश्वर-जडीबुटीलाई जाममुक्त बनाउने,अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो सडक बनाउने, भक्तपुरका बालुवालगायतका खानीमा देखिएको अनियमिततालाई नियन्त्रण गर्ने सरोकारवाला निकायसँग समन्वय गर्दै अभियान सञ्चालन गरेको छु।' उनले नयाँ सञ्चालनमा ल्याउन लागेको पेप्सीकोला जडीबुटी सडकबाट चाबहिल जाने सवारी साधन सञ्चालन गराउने, ललितपुर जाने सवारीलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली तथा बालकुमारी सडक मर्मतकार्य सकिएलगत्तै आवश्यक दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। 

४३ करोडको लगानीमा भइरहेको मनोहरा जग्गा एकीकरण आयोजनामा रहेकोे नौ मिटरको जडीबुटी-पेप्सीकोला सडकमा केही दिनमै यातायाता सञ्चालन हुने गरी तयारी गरिएको छ। त्यस्तै मनोहरा नदीको दायाँबाँया २०/२० मिटर चौडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर निर्माणकार्य तत्काल सुरू गर्न उनले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिए। करिडोर निर्माण सम्पन्न भएसँगै यातायातका साधनको चाप जडीबुटी नाकामा कम हुने बताउँदै बस्नेतले सडक जामको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरूङ मागर्न नै भएको बताए। उनले कोटेश्वर सडकको दाँयावाँया सर्भिस ट्र्याक निर्माण गर्ने कार्यको डिपिआर भइसकेता पनि नागरिक उड्डयान प्राधिकरणको कारणले निर्माणकार्य अगाडि बढ्न नसकेको पनि बताए। 

अहिले कोटेश्वरको जाम न्यूनीकरण गर्नको निम्ति यसको विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडककको करिडोर निर्माण गर्न १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म तीन करोड विनियोजन भई काम सम्पन्न हुने चरणमा रहेको छ। मेलम्ची खानेपानीको ढल बिछ्ययाउने कार्यले योजना सम्पन्न गर्न केही ढिला हुन गएको हो। 

बस्नेतले भक्तपुरमा सुरक्षित हाइवे निर्माण गर्न विशेष अभियान चलाइएको बताउँदै उज्यालो हाइवे निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सोलार बत्ती जडान कार्य भएको र बाँकी ठाउँमा पनि तुरुन्तै सुरू गरिने बताए। त्यस्तै वाग्मती सभ्यताले हनुमन्ते करिडोर निर्माण गर्ने ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेकाले यसको निर्माण अगाडि बढिसकेको उनको भनाइ छ। सडकको स्थलगत अवलोकन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले वैकल्पिक रुपमा पेप्सीकोला-जडीबुटीसम्मको बाटो र जडीबुटीदेखि बालकुमारीबाट यातायात सञ्चालन गर्दा ७० प्रतिशत कोटेश्वरको जाम घट्ने बताए। 

विगत केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानस्वरुप दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाएपश्चात् दुर्घटनामा न्यूनीकरण आएको भट्टले बताए। उनले भने, 'हाम्रो यो निर्माण केही व्यवसायीलाई त असर परेको होला। तर सडक दुर्घटनामा कमी ल्याउन सफल भएका छौं। मनोहरा करिडोल निर्माणको जिम्मा लिएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निर्माण गर्न सुरू भइसकेको बताउँदै यहाँका सुकुम्वासी वस्ती तथा स्थानीय सरोकारवालाले निर्माण कार्यमा अवरोध पुर्‍याएकाले समस्या आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.