|

बाँके : नेपालगञ्जमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन अब चार महिना मात्र बाँकी छ। प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना निर्माणका काम सुरु भएका छन्। तर, भौतिक संरचना निर्माण कछुवाको गतिमा भइरहेको छ। यहि गतिमा संरचना निर्माण हुने हो भने राष्ट्रिय प्रतियोगिता तोकिएको समयभन्दा पछि ढकेलिने सम्भावना बढेको छ।

संरचना निर्माणमा ढिलाई भएका कारण राष्ट्रिय प्रतियोगिता अन्योलमा परेको छ। आगामी २१ मंसिरदेखि २८ मंसिरसम्म नेपालगञ्जमा हुने प्रतियोगिता सञ्चालन गर्न चाहिने आवश्यक संरचना निर्माण गर्न सरकारले बजेट विनियोजन गरे पनि समयमा निकासा हुन नसक्दा प्रतियोगिता अन्योलमा परेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए।

विनियोजन भएको रकम सरकारले समयमा नपठाउँदा निर्माण भइरहेका संरचना अधुरो अवस्थामा छोडिएको छ। आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्जस्थित रङ्गशालामा निर्माणाधीन 'सुटिङ रेन्ज' भवन पनि रकम निकासा नहुँदा उक्त भवन निर्माण सुरु हुन नसकेको अध्यक्ष ओलीले बताए।

रकम समयमा निकासा नहुँदा संरचना निर्माणमा ढिलाई भएको छ। रकम निकासा नभएकै कारण आठौँ राष्ट्रिय प्रतियोगिता पनि अन्योलमा परेको छ,’ उनले भने, 'संरचना निर्माणमा ढिलाइ हुँदा प्रतियोगिता प्रभावित हुने खतरा बढेको छ।

उनका अनुसार प्रतियोगिताका लागि बाँके, बर्दिया र दाङमा १३ वटा भौतिक संरचना निर्माण भइरहेका छन्। तर, सरकारले चाहिने रकम निकासा नगर्दा सबै संरचना अधुरै रहेको अध्यक्ष ओलीले जानकारी दिए। उनले नेपालगञ्ज र‌ंगशालामा ट्रयाक एण्ड फिल्डका लागि छ करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि ५० लाख रुपैयाँमात्र निकासा भएको छ।

त्यसैगरि, कोहलपुरस्थित क्रिकेट मैदानका लागि २१ करोड लागत अनुमान गरिए पनि हालसम्म पर्खाल, तारजाली र गेट निर्माणका लागि मात्र रकम निकासा भएको छ। उनले भारोत्तोलन एकेडेमीका लागि विनियोजन भएको ८५ लाख मध्ये ५५ लाख रुपैयाँ मात्र निकासा भई खर्च भएको छ।

सुटिङ रेन्ज भवनका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा रकम निकासा नहुँदा फाउन्डेशनको काम मात्र भएको छ। पौडी पोखरीका लागि विनियोजन भएको रकम मध्ये ६० प्रतिशत रकम मात्र पठाइएको र बाँकी रकम निकासा हुन नसकेको अध्यक्ष ओलीले गुनासो गरे। उनले रकम निकासा नहुँदा नेपालगञ्जमा निर्माण हुन लागेको जुडो एकेडेमी निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए। जुडो एकेडेमी भवन निर्माणका लागि दुई वर्षअघि शिलान्यास भए पनि अहिलेसम्म निर्माण प्रक्रिया सुरु हुन सकेको छैन।

अध्यक्ष ओलीले दिएको जानकारी अनुसार, शुक्र मावि खजुरामा निर्माण तयारी गरिएको भलिबल एकेडेमीका लागि ६६ लाख रुपैयाँ विनियोजन भए पनि अहिलेसम्म रकम निकासा हुन सकेको छैन भने, बर्दियाका बाँसगढीमा निर्माण गरिने कवडी एकेडेमीका लागि विनियोजित एक करोड ७५ लाख मध्ये १५ लाख रुपैयाँमात्र निकासा भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा निर्माण गरिने खोखो कबर्ड हलका लागि ठेकेदार कम्पनीसँग सम्झौता भए पनि अहिलेसम्म विनियोजित रकम सम्बन्धित ठाउँमा नपुगेको अध्यक्ष ओलीको भनाई छ। खोखो कबर्ड हलका लागि एक करोड ७५ लाख रुपैयाँ सरकारले विनियोजन गरेको छ।

आठौँ राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी एक करोड २० लाख रुपैयाँमा निर्माण गर्न लागिएको गुलरियास्थित कवर्ड हलका लागि पनि १५ लाख मात्र रकम निकासा भएको छ। यसैगरी दाङको लमहीमा निर्माणाधीन क्रिकेट मैदानका लागि एक करोड २० लाख विनियोजन भएकोमा बुधबार मात्र १५ लाख रुपैयाँ निकासा भएको ओलीले जानकारी दिए।

दाङको बेलझुण्डीमा निर्माण हुने रङ्गशाला र तुल्सीपुरमा निर्माण हुने कराँते कवर्ड हलका लागि पनि रकम निकासा हुन नसकेको उनले दुखेसो पोखे। बेलझुण्डीमा निर्माण हुने रङ्गशालाका लागि सरकारले २५ करोड र तुल्सीपुरमा निर्माण हुने कवर्ड हलका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ।

आठौँ राष्ट्रिय प्रतियोगिताको समय नजिकिन थाले पनि भौतिक संरचना निर्माणका लागि विनियोजित रकम निकासा नभएपछि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली एक महिनादेखि काठमाडौंमै छन्। रकम निकासाका लागि यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा धाएर दिन बित्ने गरेको उनले बताए। कहिले मन्त्रालय त कहिले राखेप धाएर दिन बित्ने गरेको छ,’ उनले भने, ‘धाउँदाधाउँदा थाकिसकेँ।

उनले मन्त्रालय र राखेप धाएकै कारण विनियोजित रकमको केही अंश निकासा गर्न सफल भएको बताए। तर, हाल निकासा भएको रकमबाट सन्तुष्ट नभएको अध्यक्ष अोलीले बताए। विनियोजित रकम धेरै छ, तर विनियोजित रकमको १०१५ प्रतिशत मात्र निकासा हुने गरेको छ,’ उनले भने।

उनले काठमाडौंमा काम गराउन साह्रै गाह्रो भएको अनुभव सुनाए। यता कुरा मिलायो उताकाले मान्दैनन्,’ उनले भने।

सरकारले विनियोजित रकम समयमा नपठाएका कारण पूर्व अभ्यासका खेल पनि सञ्चालन हुन नसकेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक विक्रमज‌ंग थापाले बताए। उनले खेलमैदानमा पानी जमेका कारण कुनै विधाका खेलको पूर्व अभ्यास हुन नसकेको बताए।

उनले खेल मैदान नभएकोले खेलाडीले आफ्नै तरिकाले अभ्यास गरिरहेको बताए। एथ्लेटिक्सका प्रशिक्षकसमेत रहेका उनले मेडल जित्न सक्ने खेलाडीको चयन गरी पूर्वाभ्यासको तयारी गरिए पनि खेल मैदानका कारण ल्याउन नसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.