|
प्रतीकात्मक फोटो

काठमाडौं : मुख्य समस्याका रुपमा रहेको काठमाडौं उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ। काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो।

कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक,धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आगामी हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रियानुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने कामपा सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिए। 

पहिलो पटक परीक्षणका रुपमा गरिने उक्त पार्किङस्थलको प्रभावकारिता हेरि अन्य स्थानमा पनि निर्माण गरिने कामपा सार्वजनिक प्रमुख काफ्लेले जानकारी दिए। उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधा सम्पन्न हुन्छ। कोही व्यक्ति नयाँ सडक जान लागेको छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ। कारणवश अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए सो स्थानमा सवारी साधन पार्किङ गर्न लगेमा त्यहाँ ठाउँ पाइने छैन। 

दर्ता गरिएको सवारी साधनको नम्बर सही छ वा छैन भनी ‘सेन्सर मेशिन’ले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्क गर्न सकिन्छ। जुन सवारी साधनको नम्बर दर्ता भएको छ। उक्त सवारी साधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले बताए। नयाँ सडकमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङस्थल निर्माण गर्ने तयारी पनि कामपाको छ। उक्त पार्किङस्थलमा एकै पटकमा साना-ठूला गरी झण्डै एक हजार सवारी साधन राख्न मिल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.