|

डोल्पा : वर्षायाममा सुरु भएसँगै डोल्पालीका दुःखका दिन सुरु हुन्छ। वर्षायाममा देशैभर बाढी पहिरोको प्रकोप हुने भए पनि डोल्पालीले भने मौसमी नाकाबन्दी नै खेप्नु पर्दछ।

प्रत्येक वर्षको असार अन्तिमबाट डोल्पामा वर्षात सुरु हुने भएकाले यातायातको भरपर्दो विकल्पको रुपमा रहेको जुफाल विमानस्थलबाट सातामा एक दुई वटा मात्र उडान हुन्छ।  दुर्गमको भरपर्दो यातायातको साधन जहाज सेवा नै बन्द भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीदेखि आवत–जावतमा समस्या हुने गरेको छ। 

विमानस्थल पुगे पनि मौसमको प्रतिकूलताका कारण हप्तौँ कुर्नुपर्ने भएकाले खर्च सकिएर गन्तव्य जान नसकी फर्किनुपर्ने समस्या हुने गरेको ठूलीभेरी नगरपालिकाका अमर कठायतले गुनासो गरे। कठायतका अनुसार असार अन्तिमदेखि साउन अन्तिमसम्म डोल्पालीका लागि कष्टकर दिन हुन्। ‘यो समयमा न प्लेन आँउछ, न जिल्लाबाहिर जान बाटो नै हुन्छ्,’ उनले भने, ‘यतिखेर मौसमी नाकाबन्दी नै हुन्छ।’

वर्षायाममा ढुवानीको माध्यमका रुपमा रहेको घोडा र खच्चडहरु समेत बन्द हुँदा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुने गर्दछ। यही मौकामा व्यापारीहरुले सामानको दोब्बर मूल्य उठाउने त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय दुर्गाप्रसाद देवकोटाले गुनासो गरे।

वर्षाका कारण सडक भासिएर हिँड्नै नमिल्ने हुने र जिल्लाबाहिर जान ठूलोभेरीको तिरैतिर भिरको बाटो हिँड्नुपर्ने भएकाले अत्यन्तै जोखिमपूर्ण हुने गरेको छ। ‘वर्षायाम ठूलोभेरीमा पानीको वहाव उच्च हुने भएकाले विभिन्न ठाउँको बाटो भत्काउने गर्दछ,’ लिकु गाँउका स्थानीय लोकेश खत्रीले भने, ‘भीरबाट ढुंगा खसेर वर्षमा तीनचार जनाले ज्यान गुमाउने गर्दछन्।’

केही साताअघि मात्रै घरबाट सदरमुकाम जाँदा भीरबाट खसेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको थियो। अरु बेला तीन घण्टामै पुगिने ठाउँमा वर्षायाममा छ घण्टा हिँड्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.