|

बैतडी : नेपाली सेनाले बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोलामा रहेको मणिलेक माविमा निर्माण गरेको लैंगिक अपांगमैत्री शौचालय प्रयोगविहीन बनेको छ। ०७३ मा निर्माण गरेको १० सिटे लैंगिक अपांगमैत्री आधुनिक शौचालय पानीको अभावमा प्रयोगविहीन बनेको हो।

तत्कालीन नेपाली सेनाको रणशुर गुल्म, साविकको जिल्ला विकास समिति र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ८ लाख बढीको लागतमा शौचालय निर्माण गरिएको थियो।

शौचालय निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिको ३ लाख,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको २ लाख र रणशुर गुल्मको ३ लाख २० हजारको लगानी रहेको छ।

शौचालय प्रयोगमा ल्याउन नसक्दा विद्यार्थीहरुलाई समस्या भएको छ। आधुनिक शौचालय निर्माण भएको भए पनि आफूहरूले शौचालय प्रयोग गर्न नपाएको कक्षा ११ की छात्रा निर्मला टेरले बताइन्। शौचालय प्रयोगमा नआउँदा छात्राहरुलाई बढी समस्या छ उनले भनिन्, 'शौचालय प्रयोगमा नआउँदा अरू बेलाभन्दा पनि महिनावारी भएको बढी समस्या हुने गरेको छ।'

विद्यालयमा शौचालय प्रयोगमा नआउँदा छात्राहरुलाई समस्या हुने गरेको शिक्षिका कलावती चन्दले बताइन्।  महिनावारी भएका बेला शौचालय नभएकै कारण छात्राहरु विद्यालय आउँदैनन् उनले भनिन्, 'शौचालय नहुँदा छात्राहरुलाई महिनावारी भएको बेला झन् समस्या हुने गरेको छ।'

दुई वर्ष अघि बनेको तर पानीको अभावमा लैगिंक तथा अपांगमैत्री शौचालय प्रयोगमा आउन नसकेको विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। पानीको अभावमा बन्द अवस्थामा रहेको शौचालय सञ्चालनका लागि प्रयास भइरहेको छ प्रधानाध्यापक रावलले भने, 'विद्यालयमा पानीको व्यवस्था गरिदिन वडा कार्यालय,शिक्षा कार्यालयलाई अनुरोध गरेका छौं।'

यो विषयमा व्यवस्थापन समितिको बैठकमा समेत छलफल भएको समेत उनको भनाइ रहेको छ। मणिलेक मावि गुरुखोलामा हाल ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.