|

ओखलढुंगा : किसानद्वारा उत्पादित दूध संकलन गर्ने माध्यम नहुँदा ओखलढुंगा सदरमुकाम आसपासका किसानहरू मारमा परेका छन्। सदरमुकाममा दैनिक ३०० लिटरभन्दा बढी दूधको माग हुने गरे पनि संकलन गर्ने सञ्जाल नहुँदा दूध किसान मारमा परेका हुन्। तर ओखलढुंगा सदरमुकाममा सधैँ दूध अभाव हुँदै आएको छ।

जिल्लामा सञ्चालित एकमात्र शुभलक्ष्मी दुग्ध प्रशोधन तथा चिस्यान केन्द्रले अहिले मुश्किलले ८० लिटर मात्रै दूध संकलन गरिरहेको छ। दुई वर्षअघि कृषि विकास मन्त्रालयअन्तर्गत् व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा सात लाख रूपैयाँ सहयोगमा स्थानीय शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित उक्त केन्द्रले दूध संकलनको समस्याकै कारण लक्षित कारोबार गर्न नसकेको केन्द्रका सञ्चालक ज्ञानेन्द्र रूम्दालीले बताए। हाल उक्त दुग्ध प्रशोधन तथा चिस्यान केन्द्रले ओखलढुंगा सदरमुकाम आसपासका गाउँ नारायणस्थान, अँधेरी, सल्लेरी र बेतिनीबाट मात्रै दूध संकलन गर्दै आएको छ।

'दूध संकलन केन्द्र हुने हो भने बिहान बेलुकीको दूध एकैपटक चिस्याएर सदरमुकाम ल्याएर अभाव टार्न सकिन्थ्यो, तर संकलन केन्द्र स्थापना गर्नै मुश्किल भएको छ', रुम्दालीले भने।

उनका अनुसार एउटा दूध संकलन केन्द्र स्थापनाका लागि जेनेरेटर, फ्रिज, ट्यांकीलगायतका वस्तुहरू खरीद गर्दा कम्तीमा आठ लाख रूपैयाँभन्दा बढी खर्च हुने देखिन्छ। यस्ता संकलन केन्द्र जिल्लामा तीनदेखि पाँचवटासम्म आवश्यक छ। संकलन केन्द्र स्थापना गर्नका लागि ठूलो बजेट आवश्यक परेपछि शुभलक्ष्मी दूग्ध प्रशोधन तथा चिस्यान केन्द्र पछाडि हटेको हो। हाल सदरमुकाममा दूध ल्याउनका लागि भाडामा बोलेरो जीप रिजर्भ गर्नुपर्ने समस्या छ।

दूध संकलन हुने गाउँमा नियमित गाडी चल्दैनन्। जसका कारण एक लिटर दूध ढुवानी गर्न २० रूपैयाँसम्म लागत लाग्ने गरेको केन्द्रका सञ्चालकहरू बताउँछन्। सदरमुकाममा दूधको अभाव टारौं भनेर कस्सिएर लागिपरेको केन्द्रका अर्का सञ्चालक पूर्णकुमार श्रेष्ठले बताए। संकलन केन्द्र स्थापना गर्न र ढुवानीको साधन खरीद गर्नै आफूहरूलाई गाह्रो भएकोले अन्य चिस्यान केन्द्रको बारेमा त सोच्न सक्ने अवस्था नै नभएको उनको भनाई छ।

दूधको अभावका कारण यहाँका उपभोक्ता एक लिटर दूधका लागि लाइनमा बस्नुपर्ने बाध्यता छ। केन्द्र स्थापनाकै चरणमा सदरमुकामको रमाइलोडाँडा, जिविसटोल, भैरवटोल, मिलनचोकलगायतका क्षेत्रमा एजेन्टमार्फत् दूध वितरण गरिएको भए पनि अहिले सो सेवा पनि बन्द भएको छ।

जिल्लाका कटुञ्जे, विगुटार, पात्ले, हर्कपुर, प्राप्चा, च्यानाम, कुन्तादेवी लगायतका क्षेत्रमा गाई भैँसी पाल्ने किसानको संख्या उल्लेख्य छ तर संकलन केन्द्र नहुँदा यी क्षेत्रबाट दूध संकलन गर्नै समस्या छ। किसानले उत्पादन गरेको दूधबाट दही तथा घ्यू बनाएर बेच्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.