|

काठमाडौं : खेम ओझा स्मृति प्रतिष्ठानले विभिन्न विधामा स्थापित चारवटा पुरस्कार प्रदान गरेको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका हुन्।

१० हजार रुपैयाँ राशिको खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कार शीतल गिरीद्वारा लिखित ‘जीवाष्म’ निबन्धको पाण्डुलिपिलाई प्रदान गरियो भने पाँच हजार रुपैयाँ राशिको खेम ओझा स्मृति उत्कृष्ट कृति पुरस्कार विवेक ओझाद्वारा लिखित सामाजिक उपन्यास ‘ऐलानी’लाई प्रदान गरियो।

यसैगरी पाँच हजार रुपैयाँ राशिको खेम ओझा स्मृति संगीत पुरस्कार युवागायक शिव परियारलाई प्रदान गरियो भने सोही राशिको खेम ओझा स्मृति कला पुरस्कार कलाकार देवेन्द्र काफ्ले 'थुम्केली'लाई प्रदान गरियो।

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले यस पुरस्कारले आफूहरूलाई आफ्ना क्षेत्रमा अझ जिम्मेवार र सशक्त भएर लाग्न प्रेरित गरेको बताए। प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद ओझाले आफ्नो संरक्षणमा रहेको प्रतिष्ठानले आगामी दिनमा अझ बढी सामाजिक, साँस्कृतिक, साहित्यिक र कलाका साथै अन्य क्षेत्रमा पनि विशिष्ट योगदान देओस् भन्ने शुभेच्छा प्रकट गरे।

प्रतिष्ठानका अध्यक्ष निलमकुमार ओझाले आगामी दिनमा पाँच लाख रुपैयाँको अक्षयकोषलाई वृद्धि गरेर विज्ञान, प्रविधि, दर्शन र खेलकुदका क्षेत्रमा पनि काम गर्ने घोषणा गरे। समाजसेवी बुद्धि रेग्मीले प्रतिष्ठानलाई थप कार्य गर्न सहयोग पुगोस् भन्ने हेतुले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरे।

प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले दिवंगत व्यक्तिका नाममा यस्ता प्रतिष्ठान स्थापना गरेर सामाजिक, साहित्यिक, कला र संगीतका क्षेत्रमा विशेष काम गर्नु उदाहरणीय भएको भन्दै आगामी दिनमा प्रतिष्ठानले अझ राम्रा र उदाहरणीय कार्य गर्न शुभेच्छा व्यक्त गरे।

पाण्डुलिपि तथा उत्कृष्ट कृति पुरस्कार छनोटका लागि साहित्यकार महेश पौड्याल, गीता त्रिपाठी र प्रभाती किरण रहेको तथा कला र संगीत पुरस्कारका लागि संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देशार र कलाकार केशवराज खनाल रहेको निर्णायक समिति निर्माण गरी उक्त समितिको सिफारिसबमोजिम पुरस्कृत गरिएको प्रतिष्ठानका महासचिव घनेन्द्र ओझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.