लेख्ने कलमसमेत काउन्सिलले दिन्छ, जामरको प्रयोग हुन्छ

|

काठमाडौ : चार वर्ष सैद्धान्तिक र एक वर्ष प्रयोगात्मक पढाइ पढेर पास भएपछि मात्र एबबिबिएस पढाइ पूरा हुन्छ। यसरी पास भएपछि एउटा व्यक्ति डाक्टर बन्छ।

यसरी चिकित्सक बनिसकेपछी बिरामी जाँच्न मेडिकल काउन्सिलमा अनिवार्य दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षा पास गर्नै पर्छ। लाइसेन्स परीक्षा पास भएपछि मात्र बिरामी जाँच्न पाइन्छ। तर पछिलो समय काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षामा एमबिबिएस पढेका धेरै विद्यार्थी फेल हुँदै आएका छन्।

हिजो (शनिबार) मात्र काउन्सिले लिएको एबिबिएसको लाइसेन्स परीक्षामा ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सका लागि लिएको परीक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परीक्षा पास गरेका छन्। सहभागी परिक्षार्थीको तुलनामा पास हुने यो संख्या एकदमै कम हो अर्थात् मात्र २४ प्रतिशत।

हिजोको परीक्षामा मात्र होइन, यसअघि काउन्सिलले गएको मंसिरमा ४ मा लिएको लाइसेन्स परीक्षामा पनि एमबीबीएसतर्फ एक हजार २०२ सहभागीमध्ये ४६१ जनाले मात्र पास गरेका थिए। उक्त संख्या ३८ प्रतिशत मात्र हो। बीडीएसतर्फ भने ८५ सहभागीमध्ये ४३ जना पास भएका थिए।

यस्तै, गत फागुन २६ गते लिएको लाइसेन्स परीक्षामा नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४.४ प्रतिशत मात्रै चिकित्सक पास भएका थिए।

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा जम्मा ३२२ जनाले आवेदन दिएका थिए। त्यसमा चार जना अनुस्पथित भएकाले जम्मा ३१८ जनाले परीक्षा दिए। त्यसमा पनि  १७३ जना मात्र पास हुन सफल भएका थिए।

मेडिकल शिक्षाको गुणस्तरीयताको बारेमा बहस चलिरहेको बेलामा पछिल्लो समय काउन्सिलले लिँदै आएको विशेषज्ञ तथा एमबिबिएस लाइसेन्स परीक्षामा थोरै मात्र चिकित्सकहरू पास हुनुले मेडिकल शिक्षाको गुणस्तरीयतामा प्रश्न उब्जिएको छ।

यसरी फेल हुनेमा पछिल्लो समय काउन्सिलबाट लिइने चिकित्सक, विशेषज्ञ चिकित्सक तथा एमबिबिएस परीक्षामा विदेशमा पढेर आएका चिकित्सकहरू फेल हुने गरे पनि यसपालि नेपालमै पढेका धेरै चिकित्सकहरू समेत फेल हुँदै आएका नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माको भनाइ छ। उनका अनुसार चीन, बंगलादेश र नेपालका केही मेडिकल कलेजहरूमा पढेका धेरै विद्यार्थीहरू लाइसेन्स परीक्षामा फेल हुने गरेका छन्। उनले भने, 'धेरैजसो बाहिर पढेर आएका र केही नेपालमै पढेकाहरूले पटक पटक लाइसेन्स परीक्षा दिँदा पनि पास नभएको पाइएको छ।'

किन धेरै फेल हुन्छन् लाइसेन्स परीक्षामा?

वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तका अनुसार काउन्सिलले पछिल्लो समय आफूले लिने परीक्षालाई कडाइ गर्नु तथा विद्यार्थीको शैक्षिक गुणस्तरसँग जोडिएको बताउँछन्। उनले भने, 'पछिलो समय काउन्सिलले पछिला लिँदा कडाइ गर्नु र विद्यार्थीको शैक्षिक गुणस्तर कमजोर हुनु नै प्रमुख कारण हो।'

यस्तै, पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रका अनुसार विद्यार्थीहरूमा पढाइ नपुग्नुको एउटा उदाहरण लाइसेन्स परीक्षामा फेल हुनु रहेको बताउँछन्। उनले भने, 'चिकित्सक लाइसेन्स परीक्षामा पाठ्यक्रममै रहेका उनीहरूले पढ्दै आएका विषयवस्तुलाई प्रश्न बताएर परीक्षा लिने भए पनि विद्यार्थीहरू फेल हुनु भनेको उनीहरूको लागि पढाइ नपुग्नु नै हो।'

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. गणेश गुरुङ भने एमबिबिएस लाइसेन्स परीक्षामा विद्यार्थीले पाँच वर्षसम्म पढेरै आएको विषयवस्तुको आधारमा परीक्षा लिने गरे पनि धेरै जना फेल हुनुमा उनीहरूको पढाइको गुणस्तर रहेको बताउँछन्। यस्तै, पटक पटक परीक्षामा फेल भएकाहरू परीक्षामा सहभागी हुनुले पनि फेल हुने विद्यार्थीको संख्या धेरै रहेको बताउँछन्। उनले भने, 'बाहिरबाट पढेर आएकाहरू पटक पटक परीक्षामा सहभागी हुँदासमेत पास हुन सक्दैन। यसरी परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या धेरै छ, जसले गर्दा बाहिर पढेर आउने विद्यार्थीको पढाइको गुणस्तर कम रहेको देखिन्छ।'

कसरी हुन्छ लाइसेन्स परीक्षा?

एमबिबिएस पढाइ पूरा गरिसकेपछि क्लिनिकल प्राक्टिस गर्नका लागि काउन्सिलबाट लाइसेन्स परीक्षामा पास हुनुपर्छ, जसका लागि काउन्सिलले हरेक चार/चार महिनामा चिकित्सक लाइसेन्स परीक्षा लिने गर्छ। यसरी परीक्षामा सहभागी हुनका लागि परीक्षार्थीले परीक्षामा भाग लिनका लागि अनलाइनबाट आफूले एमबिबिएस पूरा गरेको प्रमाणपत्रसहित फाराम भर्नुपर्छ। यसरी भरेको फारामलाई काउन्सिलले अनलाइनबाटै कागजपत्र चेकजाँच गरी भेरिफाई गर्छ र परीक्षाका लागि योग्य भए ईमेलबाट प्रवेशपत्र पठाइदिन्छ। परीक्षार्थीले लाइसेन्स परीक्षा दिन आउँदा त्यो प्रेवेशपत्र प्रिन्ट गरेर प्रवेशपत्रसहित परिचय खुल्ने आफ्नो अरू कुनै कागजपत्र पनि साथमै ल्याउनुपर्छ।

परीक्षार्थीलाई परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि तीन ठाउँमा चेक गरिन्छ। पहिलो चेकमा परिक्षार्थीको प्रवेशपत्र चेक गरिन्छ। विद्यार्थीलाई प्रवेशपत्र दिँदा बारकोड राखिएको हुन्छ। यसरी प्रवेशपत्र चेक गर्दा उक्त बारकोड र प्रवेशपत्रमा भएको फोटो र प्रत्यक्ष रूपमा सहभागी भएको मानिससँग दाँजेर चेक गरिन्छ। दोस्रो र तेस्रो चेकमा परीक्षार्थीको झोला, मोबाइल चेक गरिन्छ। परीक्षार्थीले प्रवेशपत्रबाहेक केही लैजान पाउँदैन। परीक्षामा लेख्ने कलमसमेत काउन्सिलले नै दिन्छ भने १५ जना परीक्षार्थी बराबर एक जना निरीक्षक खटिएका हुन्छन्।

परीक्षाको सम्पूर्ण नतिजा नआएसम्म त्यहाँ रहेका र अनुगमन गर्न गएका स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषद्लगायतका अधिकारी तथा परीक्षा गराउन सहभागी भएकाहरूलाई बाहिर जान दिइँदैन। उत्तरपुस्तिका मेसिनबाट चेक गर्ने गरिन्छ। यस्तै, काउन्सिलको परीक्षामा मोबाइललगायतका उपकरणले काम नगरून् भन्नका लागि र परीक्षामा चोरी र अनियमितता नहोस् भन्नका लागि 'जामर'को समेत प्रयोग गरिन्छ। एक पटक परीक्षामा फेल भएकाहरूले चार महिनापछि पुन: परीक्षा दिन पाउने व्यवस्था भने काउन्सिलले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.