|

बागलुङ : सुरू भएपछि योजनासम्झौता गर्ने र काम थाल्ने परिपाटीको अन्त्य गर्न यहाँको एक नगरपालिकाले कडा कदम चालेको छ। जिल्लाको जैमिनी नगरपालिकाले प्रत्येकवर्ष बैशाख मसान्तसम्म योजना फरफारक नगर्ने उपभोक्ता समिति तथा ठेकेदार कम्पनीलाई भुक्तानी नदिने भएको हो।

नगरले सञ्चालन गर्ने योजनाहरूको विषयमा समय तालिका निर्धाण गरी बैशाख मसान्त सम्ममा काम सक्नै पर्ने बाध्यकारी नियम लागू गरिएको उपप्रमुख लिला रानाले बताए। असारे विकासको अन्त्य गर्दै समयमानै योजनाका काम सक्नका लागि बैशाख मसान्त सम्मको बाध्यकारी व्यवस्था गरेको नगरउप-प्रमुख रानाले बताए। ‘कार्तिक मसान्तसम्म उपभोक्ता समिति गठन गरेर योजना सम्झौता गर्न भनेकाछौं’ रानाले भने,‘असारे विकासको अन्त्यको लागि चालिएको कदम हो।’

हिउँदभरि चुपचाप बस्ने र वर्षातको समयमा पूर्वाधार निर्माणका काम गर्दा खर्च बढी हुने तर काम पूर्ण नहुने भएकाले यस्तो कदम चालिएको नगरपालिकाले जनाएको छ। ‘अव जेठ १ गते योजना फरफारक गराउन आउनेहरूको बजेट फ्रिज भएर जान्छ’ उनले भने, ‘जेठ महिना योजना तर्जुमा गर्ने र असार महिना नयाँ आर्थिक वर्षको बजेट तयारी गर्ने महिना हुन्।’ 

समय तालिका अनुसार काम गर्दा कर्मचारीलाई कामको भार एकै पटक नपर्ने र जनप्रतिनिधिले भावी योजनाका बिषयमा छलफल गर्न समय पाउने भएकाले यसो गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु सुवेदीले बताए। नगरपालिकाले बनाएको कार्यतालिका अनुसार चैत्रको मसान्त सम्ममा लक्षित वर्गका लागि बनाइएका योजनाहरूको काम सकिसक्नु पर्नेछ। स्थानीय रुपमा तय भएका योजनाहरूको हकमा बैशाख मसान्तको समय सीमा राखिएको भए पनि केन्द्र सरकार तथा प्रदेश सरकारका बिभिन्न विभागबाट आउने योजनामा भने यो नियम लागू नहुने सुवेदीले बताए।

वर्षातको समयमा हतारमा काम गर्दा कयौं योजनामा खर्च मात्रै हुने तर सर्वसाधारणले उपभोग गर्ने गरी योजना नबन्ने समस्या रहँदै आएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.