पुराना कम्युनिस्ट नेताको स्वास्थ्यलाभको कामना

|

चितवन : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर- १० स्थित सिर्जनाचोकमा बस्दै आएका पुराना कम्युनिस्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका छन्।

विगत चार महिनादेखि अन्ननलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहेका ७० वर्षीय पौडेललाई आइतबार भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।

वि.सं. २०३४ मा नेकपाको सदस्यता लिएका पौडेललाई २०३६/०३७ सालतिर दाहालले नै संगठित गरेका थिए। नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन)का संस्थापक सदस्य पौडेल पूर्व गाविस अध्यक्ष हुन्। दिवाकर बालग्राम माडीका संस्थापक सदस्य पौडेल समाजसेवीसमेत हुन्।

२०४७ को पार्टी एकीकरणपछि उनी संयुक्त जनमोर्चाको जिल्ला सल्लाहकार भएको छोरा टुकनारायण पौडेलले जानकारी दिए। आइतबार भेटघाटका क्रममा उनीहरूले विगतका राजनीतिक अभियानका दु:खसुख साटेको छोरा टुकनारायणले जानकारी दिए।

'राजनीतिक अभियानका क्रममा गाइएका गीत बुबाले सम्झाउनुभयो, अध्यक्ष दाहालले पनि साइकल चढेर माडी पुगेको अनुभव स्मरण गर्नुभयो', टुकनारायणले भने। उनका तीन अंशमध्ये ठूलो छोरा सन्देश पौडेलको अंश पार्टीलाई दिइएको थियो।

त्यो बेला माडीको पार्टी घर भनेकै भुवानीप्रसादको घर थियो। उनको विगत चार महिनादेखि भारतको राजीव गान्धी अस्पताल र चितवनको क्यान्सर अस्पतालमा उपचार भएपछि स्वास्थ्यमा केही सुधार भएकाले अहिले घरमा नै आराम गरिरहेका छन्। हाल उनका जेठा छोरा सन्देश पौडेल भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध छन्।

यसैबीच शनिबार चितवन आएका अध्यक्ष दाहाल पार्टी कार्यकर्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग विकास निर्माण र राष्ट्रिय राजनीतिका विषयमा छलफल तथा आन्तरिक कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.