|

दैलेख : माहिली छोरी निशा थापाले अहिले एमबिबिएस अध्ययन गर्नका लागि नाम निकालेर बसेकी छन् तर उनको एमबिबिएस अध्ययन रकम अभावमा रोकिएको छ। जेठी छोरी नूतन थापा सिभिल इन्जिनियर सकेर बसेकी छन्। कान्छो छोरा निराजन थापा कक्षा १२ मा पढ्दै छन्। माइली छोरीको डाक्टर बन्ने सपना थियो तर पैसा अभावमा रोकियो।

'५० देखि ६० लाख रुपैयाँ लाग्दोरहेछ। आफू खरदार छु। त्यत्रो रकम जम्मा गर्ने मेरो क्षमता छैन', स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाकी धर्मपत्नी लक्ष्मी थापाले दुखेसो पोखिन्। आफूसँग ५०-६० लाख रुपैयाँ रकम नभएका कारण छोरीलाई एमबिबिएस पढाउन नसक्ने भएको भन्दै उनले गुनासो गरिन्।

पत्रकार डेकेन्द्रराज थापाको आइतबार दैलेखमा १४औँ स्मृति दिवस मनाइयो। तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले अपहरण गरी हत्या गरिएका पत्रकार थापाको आइतबार दैलेखमा १४औँ स्मृति दिवस मनाइरहँदा फेरिएको परिस्थितिका बारेमा पनि चर्चा परिचर्चा भयो। देश विदेशसम्म एकताका चर्चा कमाएको पत्रकार थापा हत्या प्रकरण र त्यसपछि दैलेखका पत्रकारहरूले चार वर्षपछि आफ्ना सहकर्मीको शव खोजीदेखि दोषीलाई कानुनी दायरासम्म ल्याउन गरेको प्रयासको अहिले पनि चर्चा परिचर्चा हुने गरेको छ।

दैलेख बजारमा संचालित खानेपानीको पाइप लाइन काटेर खानेपानी अवरुद्ध गरेपछि खानेपानीको विषयमा छलफल गर्न गएको समयमा २०६१ असार १२ गते तत्कालीन माओवादीले पत्रकार थापालाई अपहरण गरेका थिए। अपहरण गरेको ४७ दिनपछि २०६२ साउन २७ गते पत्रकार थापालाई विभिन्न आरोपहरू लगाएर हत्या गरिएको विज्ञप्ति तत्कालीन माओवादीले जारी गरेको थियो।

हत्यापश्चात् उनको शव परिवारलाई दिइएको थिएन। चार वर्षपछि दैलेखको साविकको द्वारी गाविसको विद्यालय नजिक पखेरोमा गाडीएको शव नेपाल पत्रकार महासंघ दैलेखका तत्कालीन अध्यक्ष विष्णु शर्माको नेतृत्वमा गएको टोलीले पत्ता लगाएका थिए। मानवअधिकारवादी संघसंगठन र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलगायत विभिन्न अधिकारवादी संघसंगठनहरूको पहलमा उक्त शव उत्खनन् गरी फेरेन्सिक ल्याव परीक्षण गरिएको थियो। कंकालको पुष्टि गरिसकेपछि २०६५ साउन १८ गते परिवारले धार्मिक संस्कारअनुसार पत्रकार थापाको अन्तिम दाहसंस्कार गरेका थिए।

पत्रकार थापाको हत्यामा संलग्न नौ जनामध्ये पाँच जनाले अदालतले तोकेबमोजिमको सजाय व्यतीत गरी सामान्य जीवनयापनमा फर्किसकेका छन् भने चार जना अहिले पनि फरार सूचीमा रहेका छन्।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसी कानुनले तोकेका व्यक्तिहरूलाई सजायको दायरामा ल्याउने काम स्थानीय प्रशासनले गर्नुपर्ने बताउँछन्। दैलेखका पत्रकारहरूले त्यति बेलादेखि उठाएका कतिपय मुद्दाहरूको सम्बोधन राज्यले गर्नुपर्ने उनको तर्क छ। पीडित लक्ष्मी थापाका छोराछोरीहरूलाई सरकारले उच्च शिक्षा पढ्नका लागि सहज वातावरण निर्माण नगरेको भन्दै अध्यक्ष केसीले स्वर्गीय पत्रकार थापाकी माहिली छोरीको डाक्टर बन्ने सपना पूरा गरिदिन सरकारसँग आग्रह गरेका छन्।

तत्कालीन नेकपा माओवादी र एमाले अहिले एउटै पार्टी भएका छन्। जिल्लास्तरका दुवै तहका नेताहरूले अहिले यो विषयमा खुलेर बोल्न चाहेनन्। पार्टी एकीकरणको अन्तिम तयारीमा छ। सरकारले सबै खालका द्वन्द्वहरूको दिगो समाधानमा लागेको छ।

तर उक्त घटनाको समाधान निकाल्ने जिम्मा पार्टी र सरकारको रहेको तत्कालीन माओवादी निकटका एक स्थानीय नेताले प्रतिक्रिया दिए। ती नेताले भने, 'पत्रकार डेकेन्द्रराज थापाको हत्याको बारेमा पार्टीले उतिबैलै माफी मागिसकेको छ। शहीद घोषणा भइसकेको अवस्था छ। उल्झिएका अन्य विषयहरूको सरकारले समाधान निकाल्नेछ।'

तत्कालीन नेकपा एमाले निकटका नेताहरूको धारणा पनि त्यस्तै रहेको छ। पीडित परिवार र थापाका छोराछोरीहरूको पठनपाठनको जिम्मा सरकारले लिनुपर्ने कुरामा उनीहरूको जोड छ।

पत्रकार महासंघ दैलेखका तत्कालीन अध्यक्ष विष्णु शर्मा मानवअधिकारकर्मी एवं पत्रकार नमनकुमार शाही, तत्कालीन शाखाका उपाध्यक्ष नवीन रिजाल, पत्रकार यामप्रसाद शर्मा, प्रकाश अधिकारी, मंजुल अधिकारी, खेमराज थापा, चक्र भण्डारी, पुष्कर थापा, महेन्द्र सापकोटालगायतका पत्रकारहरूले ११ दिनसम्म पत्रकार थापाको कंकाल दैलेखको द्वारी जंगलमा कुरेका थिए।

काठमाडौंबाट आएको फरेन्सिक ल्याव परीक्षणको टोली र पत्रकार महासंघका तत्कालीन केन्द्रीय सदस्य जनक नेपालसहितको टोलीले शव उत्खनन् गरी असार १८ गते दैलेख ल्याएको थियो। करिव एक महिनापछि रिपोर्ट आएपश्चात् उनको कंकाल २०६५ साउन १८ गते विधिवत रूपमा अन्त्येष्टि गरिएको थियो।

तर उनकी श्रीमती भने अहिलेसम्म न्याय नपाएको भन्दै गुनासो गर्दै आएकी छन्। उनले कानुनले दोषी ठहर गरेका व्यक्ति खुलेआम घुमिरहेको भन्दै उनीहरूलाई सजाय दिलाएर न्यायको प्रत्याभूति दिन सरकारसँग आग्रह गरेकी छन्। उनी भन्छिन्, 'म अहिले पनि न्यायकै पक्षमा छु। मलाई न्याय हुनुपर्छ। कानुनले दोषी ठहर गरेका व्यक्तिहरूले साजय पाउनै पर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.