राज्यको पैसा आफन्तको खातामा

|

उदयपुर : गत बैशाख १२ मा उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पञ्जामा परे। ढकालले सामाजिक सुरक्षा भत्ताबापतको तीन करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ आफ्नो बैंक खातामा रकमान्तर गरेपछि विवादमा आए। त्यसपछि मात्र नगरपालिकाका प्रमुख र तत्कालीन प्रशासकीय अधिकृतले थाहा पाए। उनीहरू अख्तियारमा उजुरी गर्न पुगे। र, लेखा अधिकृत ढकाल अख्तियारको पञ्जामा परे।

यसरी खुल्यो कालो कर्तुत

ढकाल कटारी नगरपालिका अाउन अघि इलामको माई नगरपालिकामा कार्यरत थिए। ढकाल कटारी आएको एक महिनामै माई नगरपालिकामा ढकालले आर्थिक अनियमिता गरेको शंका उब्जियो। कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) इलामका प्रमुख रविन कोइलाराले भने, ‘माई नगरपालिकाको नगर कार्यपालिकाले हामीलाई आन्तरिक लेखापरीक्षण गरिदिन अनुरोध गर्‍यो। माई नगरपालिकामा आर्थिक हिनामिना गरेको थाहा पाएपछि मैले कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरलाई खबर गरेँ। नभन्दै कटारी गएको एक महिनामै करोडौँ हिनामिना गरेको अारोपमा पक्राउ परे।’

उदयपुरका कोलेनिका प्रमुख नियन्त्रक हीरा न्यौपानेले इलामबाट आएको जानकारीअनुसार कटारी नगरपालिमा खबर गरेको बताए। ‘इलामबाट आएको जानकारीअनुसार कटारी नगरपालिकामा प्रमुख र कार्यकारीलाई जानकारी गराएँ’, उनले भने, ‘उहाँहरूले तत्कालै नगरपालिकाको विभिन्न खाता हेर्नुभयो। नभन्दै ढकालले माई नगरपालिकाजस्तै बनाइसकेको थाहा पाइयो।’

कटारीमा पनि आर्थिक अनियमिता गरेको थाहा पाएपछि नगर प्रमुखलगायतको टोलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरी ढकाललाई पक्राउ गर्‍यो। माई नगरपालिकाबाट तीन करोड २४ लाख ५६ हजार १४८ र कटारीबाट तीन करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ ढाकालले आफ्नो बैंक खातामा रकमान्तर गरेको भेटियो।

प्रमुख प्रशासकीय अधिकृत सहयोगी

माई नगरपालिकामा ढकालले करोडौँ रुपैयाँ हिनामिना गर्दा प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाल थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगरमा भएको आर्थिक अनियमिता अनुसन्धानका लागि तत्कालीन कार्याकारी ढकाललाई निलम्बन गरी हिरासतमा लिएको छ। नगरको आन्तरिक लेखापरीक्षण (आलेप)का क्रममा लेखा अधिकृत ढकालले संचित कोषमा जम्मा हुने रकम ‘इण्डोर्स’ गरी आफ्नो नामको बैंक खातामा जम्मा गरेका थिए।

यसको सहयोगी प्रमुख प्रशासकीय अधिकृत बनेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दाबी छ। यसैगरी कटारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेल थिए। ढकालले लुइँटेलको कीर्ते हस्ताक्षर गरेका थिए।

आफन्तको खातामा सरकारी रकम 

लेखा अधिकृत रविनचन्द्र ढकालले बैंकको नाममा विभिन्न कीर्ते पत्र तथा कागजात तयार पार्थे। दुवै नगरपालिकाको संचित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा जम्मा गर्थे। कटारीमा कीर्ते गरेको र माई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई पनि मिलाएर भ्रष्टाचार गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दाबी छ।

कटारी नपाको तीन करोड ९७ लाख ५० हजार र २०७४ माघको दोहोरो तलब निकाली ३६ हजार ९८७ तथा २०७४ चैत महिनाको तलबी भर्पाइ मिलाई ५० हजार रुपैयाँसमेत गरी कुल जम्मा तीन करोड ९८ लाख ३६ हजार ९८७ बदनियतपूर्वक अनियमित गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। ढकालले आफ्नो व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका नाममा अचल सम्पति घरजग्गा जमिनहरू खरिद गर्ने गरेको भेटिएको छ। 

ढकालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा १५ र दफा १७ को कसुर गरेको देखिएकाले तीन करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर अपराधमा सोही ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (झ) बमोजिम सजाय हुन र निजले भ्रष्टाचार गरी खाई मासेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गर्न रविनचन्द्रविरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको छ।

ढकालका श्रीमती, आमा, काकीको नाममा पनि मुद्दा    

कटारी नगरपालिकाको पैसाले ढकालकी श्रीमती रीना आचार्य, आमा प्रेमकुमारी दाहाल र काकी सावित्री प्याकुरेलको नाममा रहेको घरजग्गा खरिद गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ)ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। रविनचन्द्र ढकाल, श्रीमती रीना आचार्य, आमा प्रेमकुमारी दाहाल, सासु तुलसादेवी आचार्य, काकी सावित्री प्याकुरेल र साथी प्रमिला भण्डारीको नाममा रहेको बैंक खातामा मौज्दात देखिएकाले रकम समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरिपाउन जफत गर्न गएको साउन २० गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

लेखा अधिकृत ढकालको नालीबेली

माई नगरपालिकामा कार्यरत रहँदा रविनचन्द्र ढकालले प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाललाई समेत प्रलोभनमा पारी कार्यकारी अधिकृतको नामको दस्तखत आफैँले कीर्ते गर्ने तथा राजस्व तिरेका बैंक भौचरहरू समेत कीर्ते खडा गरी तीन करोड २४ लाख ५६ हजार १४८ रुपैयाँ आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ। उक्त रकम आफैँले खर्च गर्नुका साथै आफ्नो तथा आफ्ना परिवारका सदस्यहरूको नाममा अचल सम्पत्ती जग्गा जमिनहरू खरिद गर्ने गरेको अदुआआद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा १५ र दफा १७ को कसुर गरेको तथा प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकालले रविनचन्द्र ढकालसँगको मिलेमतोमा काम गरेको आरोप छ। नगरपालिकाको रकम मिलाई आएको प्रतिफल मिलेर उपभोग गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत कालीदासले रविनचन्द्रसँगबाट १० लाख रुपैयाँ नगद लिएको अदुआआको विज्ञप्तिमा उल्लेख छ। 

यसरी चंगुलमा परे कालीदास

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विज्ञप्तिअनुसार माई नगरपालिकाको रकमले रविनचन्द्र ढकालले झापा र ललितपुरमा जग्गा खरिद गरेका छन्। खरिद गरेका जग्गामध्ये उत्कृष्ट एक एक कित्ता जग्गा निज अथवा निजको विश्वासिलो पात्रको नाममा पास गर्ने वा त्यसबेला कायम हुन आउने मूल्य बराबरको रकम उनले तोकेको व्यक्तिको खातामा जम्मा गरिदिने भन्ने आपसी सहमति गरेका थिए। 

सोही सहमतिको आधारबाट कर्तव्य विमुख भई अनदेखा प्रमाणीकरण गरेका गोश्वारा भौचरहरूमा रकम यकिन गरी चेक नम्बर उल्लेख गर्नुपर्नेमा चेक नम्बर उल्लेख नगरी हचुवाको भरमा चेक तथा भौचरहरूमा दस्तखत गर्ने, गोश्वारा भौचर संलग्न रहेका बिल भर्पाइहरू प्रमुख प्रशासकीय अधिकृतले प्रमाणीकरण गरेका छन्। चेक तथा गोश्वारा भौचर प्रमाणित गर्नुपर्नेमा बिल भर्पाइको आधिकारिकता यकिन नै नगरी हचुवामा चेकमा दस्तखत गर्ने कार्य गरी सहकर्मी रविनचन्द्रसँगको मिलेमतोमा आफ्नो जिम्मेवारी र कर्तव्यको दुरूपयोग गरी दुई करोड ३४ लाख ४३ हजार १०० रुपैयाँ सरकारी कोषको रकम रविनचन्द्रको निजी खातामा प्रमुख प्रशासकीय अधिकृत कालीदासले सारिदिएको पाइएको छ। 

रविनचन्द्र ढकालको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा १५ र दफा १७ को कसुर गरेकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १५ बमोजिम सजाय हुन तथा निजले भ्रष्टाचार गरी खाई मासेको बिगो जम्मा तीन करोड २४ लाख ५६ हजार १४८ रुपैयाँ कायम गरी ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर अपराधमा सोही ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (झ) बमोजिम सजाय माग गरिएको छ। भ्रष्टाचार गरी खाई मासेको बिगो तीन करोड २४ लाख ५६ हजार १४८ रुपैयाँ ढकालबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गर्ने तयारी गरिएको छ। 

प्रमुख प्रशासकीय अधिकृत ढकाललाई पनि मुद्दा

प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा परिभाषित कसुर गरेको सप्रमाण पुष्टि भएकाले दुई करोड ३४ लाख ४३ हजार १०० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा व्यवस्था भएबमोजिम ढकालबाट ऐनको दफा १७ बमोजिम असुल उपर गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को देहाय (झ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरिपाउन साथै रविनचन्द्र ढकालले भ्रष्टाचार गरी कमाएको रकमबाट खरिद गरिएको निज रविनचन्द्र ढकाल, श्रीमती रीना आचार्य, आमा प्रेमकुमारी दाहालको नाममा रहेको जग्गा तथा निज रविनचन्द्र ढकाल, श्रीमती रिना आचार्य र आमा प्रेमकुमारी दाहालको नाममा रहेका बैंक खाताहरूमा मौज्दात देखिएको रकमहरू समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरिपाउन मागदाबी लिई गएको साउन २० गते विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। 

सात करोड भ्रष्टाचार गर्ने ढकालको जागिरे यात्रा

इलामको माई नगरपालिका र उदययपुरको कटारी नगरपालिकाबाट झण्डै सात करोड रुपैयाँ भ्रष्टाचार गरेका ढकाललाई अख्तियारले बैशाख १२ मा काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको थियो। लेखा अधिकृत रविनचन्द्र ढकालले अधिकृत भएको अढाई वर्षमै सात करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारको छ महिना लामो छानबिनबाट ढकालले सामाजिक सुरक्षा भत्तावापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा जम्मा गरेको तथ्य फेलापरेको छ। 

सिन्धुली कमलामाई नगरपालिका-५ का ढकाल २०६८ फागुनमा कोष तथा लेखा नियन्त्रण कर्यालय सिन्धुलीमा सहलेखापालबाट प्रवेश गरेका थिए। सहलेखापालबाट २०६९ माघमा लेखामा नाम निकाले। त्यसपछि २०७२ मंसिर १५ मा लेखा अधिकृतमा ह्याट्रिक गरेका हुन्।

नगरपालिकाको तीन करोड ९८ लाख लिएर भागेका लेखा अधिकृत ढकाल पक्राउ

माई नगरपालिका अनियमितता प्रकरण : प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बनमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.