|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा सामाजिक सुरक्षाभत्ता वार्षिक २० लाख दुरुपयोग हुने गरेको रहस्य खुलेको छ। नगरपालिकाले सरकारबाट मासिक रुपमा तलब भत्ता तथा पेन्सन सुविधा लिइरहेकालाई समेत सामाजिक सुरक्षा भत्ता बाँडेर वार्षिक २० लाख भन्दा बढी रकम दुरुपयोग गर्ने गरेको हो।

पञ्जीकरण शाखाले गत वर्षहरूमा वितरण भएका सामाजिक सुरक्षा भत्ता पाउनेहरूमध्ये १४२ जनाले दोहोरो सुविधा लिने गरेको जानकारी दिएको हो। स्थानीय तहको निर्वाचनपछि पञ्जीकरण शाखामा निजामति कर्मचारीले जिम्मेवारी लिएपछि तत्कालीन नगर कर्मचारीले कर्मचारीले गत वर्षहरूमा गरेको भत्ता वितरणमा अनियमितता भएको रहस्य भेटिएको पञ्जीकरण शाखाका प्रमुख खड्गबहादुर खड्काले जानकारी दिए।

शाखा प्रमुख खड्काले भने,‘मैलै पञ्जीकरण शाखा सम्हालेपछि दोहोरो सुविधा लिनेहरूको लगत कट्टा गरेपछि २० लाख २५ हजार ६०० राज्यलाई बचत भएको छ।’ यसअघि कसरी भत्ता वितरण भएको थियो भन्ने बारेमा केही थाहा नभएको र आफूले शून्यबाट पञ्जीकरण शाखा सम्हालेको खड्काको भनाइ छ। सामाजिक सुरक्षा संचालन कार्यविधि २०७२ को दफा ८ मा नेपाल सरकार वा नेपाल सरकारवाट मान्यता प्राप्त संघ-संस्थाबाट मासिक रुपमा तलब भत्ता पेन्सन वा त्यस्तै प्रकृतिका अन्य कुनै मासिक सुविधा पाइरहेका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था छ। कार्यविधि विपरित गत वर्षहरूमा दोहोरो सुविधा लिएकालाई समेत भत्ता वितरण गरेको खुल्न आएपछि नगरपालिकाले भत्ता लिने लाभग्राहीको लगत कट्टा गरेको प्रमुख खड्काले जानकारी दिए। ‘म आर्थिक वर्ष २०७४/०७५ को सुरुमा नगरपालिकाको कार्यालयमा सरुवा भएर आएपछि मात्र थाहा भयो,’ खड्काले भने, ‘दोहोरो सुविधा लिनेलाई समेत भत्ता वितरण गर्ने गरिएको रहेछ।’

सामाजिक शाखा प्रमुख खड्काका अनुसार नियमित पेन्सन खाने जेष्ठ नागरिक महिला ४ जनालाई मासिक दुई हजारका दरले ९६ हजार, ज्येष्ठ नागरिक पुरुष १९ जनालाई ४ लाख ५६ हजार, दलित र ज्येष्ठ नगरिक महिलाका नाममा २४ हजार कानुन विपरित खर्च गरिएको छ। त्यसैगरी दलित ज्येष्ठ नागरिक पुरुष ४ जनाको ९६ हजार,आंशिक अपांग ३ जनालाई मासिक ६०० का दरले २१ हजार ६०० र विधुवा महिला १११ जनालाई मासिक एक हजारका दरले १३ लाख ३२ हजार रकम वितरण गरिएको तथ्यांक देखिन्छ।

नगरपालिकाले उपलव्ध गराएको विवरण अनुसार निवृत्तिभरण (पेन्सन) लिनेहरूमा सबैभन्दा बढी विधुवा महिला रहेका छन् भने त्रियुगा नगरपालिका-११ का ३७ जनाले दोहोरो सुविधा लिएको खड्काकाे दावी छ। कार्यविधिको दफा ४० अनुसार झुटाे विवरण पेश गरी वा सामाजिक सुरक्षाभत्ता दोहोरो भुक्तानी लिएको पाइएमा भत्ता रोक्का गरी भुक्तानी लिएको रकम असुलउपर गर्ने व्यवस्था छ। नगरपालिकालाई सामाजिका सुरक्षा वितरणको प्रतिवेदन बुझाइसकेको पञ्जीकरण शाखाका प्रमुख खड्काले बताए। ‘कानुनअनुसार असुलउपर गर्नुपर्ने हो। तर नगरपालिका बाेर्डले जे निर्णय गर्छ त्यही हुन्छ’ खड्काले पुन भने।

नगरपालिकाले १४२ जना दोहोरो लाभग्राहीको लगत कट्टा गरेको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए। ‘सामाजिक सुरक्षा भत्ता केन्द्रीय अनुदान हो। हामीले केन्द्रीय पञ्जीकरण विभागलाई कट्टा गरेको लगत पठाएका छौं।’अधिकृत लुइँटेलले भने,‘केन्द्रीय पञ्जीकरण विभागको आदेशअनुसार असुल गरिने छ।’ नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ज्येष्ठ नागरिक, एकल महिला, विधुवा महिला, दलित, अपांग,अशक्त र लोपोन्मुख आदिवासी गरी १० करोड एक लाख एक हजार ४०० रुपैयाँ बराबर सासुभत्ता वितरण गरेको हो।

गत आर्थिक वर्ष ११ करोड एकलाख ८५ हजार सासुभत्ता निकास गरेकोमा एक करोड ८३ हजार ६०० रुपैयाँ रकम फ्रिज भएको त्रियुगा नगरपालिकाले जनाएको छ। त्रियुगा नगरपालिकाले दुईहजार ३०९ जनालाई ज्येष्ठ नागरिकभत्ता वितरण गरेको छ। यस्तै चारजना एकल महिला, एकहजार ९५३ विधुवा महिला, १६० पूर्ण अशक्त अपांगता, २५४ जना आशिंक अशक्त अपांगले सासु भत्ता बुझेका थिए। चालु आर्थिक वर्षको लागि एकहजार ३६१ जनाको लगतकट्टा भएको छ भने ८९८ जना लगत थपगरी ६ हजार ४२० जनाले भत्ता पाउने छन्।

त्रियुगा नगरपालिका-१ देखि १३ सम्मका सेवाग्राहीले बैंकमार्फत भत्ता बुझेका छनभने वडा-१४, १५ र १६ का सेवाग्राहीले सचिवमार्फत वडा कार्यालयबाट नै भत्ता बुझेका छन्। वडा -१४, १५ र १६ नयाँ संरचनाअन्तर्गत थपिएका तत्कालीन गाविसरहरू साउने, खाँबु र जाल्पा चिलाउने हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.