प्रेस स्वतन्त्रता कसैले खोस्न सक्दैन : मन्त्री बास्कोटा

|

काठमाडौं : आदिवासी जनाजाति पत्रकारिता पुरस्कारबाट चारजना पत्रकार पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष पत्रकारिता क्षेत्रबाट योगदान दिने चारजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। यसै सन्दर्भमा फोनिजको १९ औँ स्थापना दिवसको सन्दर्भमा आइतबार अनलाइन, छापा, टेलिभिजन र रेडियो गरी चारजना पत्रकारलाई जनही ४० हजार रुपैयाँका दरले पुरस्कृत गरेको हो। 

यसरी पुरस्कृत हुनेहरूमा अनलाइन माध्यमका तर्फबाट फोनिजका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगर, टेलिभिजनबाट फोनिजका पूर्वकेन्द्रीय उपाध्यक्ष भैरव आङ्ला, छापा माध्यमबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं अन्नपूर्ण पोष्टमा कार्यरत छेटु शेर्पा र रेडियोको तर्फबाट थारू पत्रकार संघ बाँकेका अध्यक्ष बाँके निवासी विमला चौधरीलाई जनही ४० हजारका दरले पुरस्कृत गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन्। 

फोनिजका सल्लाहकार खिम घलेको संयोजकत्वमा कठित पुरस्कार छनौट समितिले फोनिजले गरेको आह्वानबाट देशभरबाट आएका निवेदनहरू मध्येबाट चारजनालाई छनौट गरेको हो। 

त्यस अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता कुनै कानुनले हनन गर्न नसक्ने बताएका छन्। सरकार सबै सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउँदै उनले आफू पनि पूर्वपत्रकार भएकोले प्रेस स्वतन्त्रताप्रति गम्भीर भएको बताए। 'प्रेस स्वतन्त्रतामाथि कुनै काँडाले घोच्दैन। यो केतुकी होइन प्वाल पर्दैन। सरकार गलत काम गर्दैन।' माइतीघर मण्डलाको नाममा केहीले बबण्डर मच्चाउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार कसैप्रति बदलाभाव नराख्ने बताए।

सरकार सार्वजनिक प्रशारण ऐन (पिएसवी)मा जान खोजेको बताउँदै उनले सरकारी क्षेत्रले मानिरहेका कुरा निजी क्षेत्रले पनि मान्नुपर्ने बताए। विगतमा गलत पत्रकारितालाई 'एलो पत्रकारिता' भनिएको भन्दै अहिले त्यो एलो पत्रकारितालाई ट्विस्ट पत्रकारिता भन्ने अवस्था आएको मन्त्री बास्कोटाले बताए। 'हिजो एलो जर्नालिज्म गरिन्थ्यो आज ट्विस्ट जर्नालिज्म गरिएको छ। जम्मै कुरा ट्विस्ट गरिन्छ', उनले भने।

अहिलेका पत्रकारले हरेक कुरा पुष्टिबिनै लेख्ने गरिएको भन्दै उनले कसैको जीवन समाप्त गर्नेगरी पत्रकारिता गर्न नपाइने बताए। 'बोल्नु, लेख्न, समाचार छाप्न पाइन्छ तर समाचार लेखेकै कारण कसैको जीवनलिला समाप्त गर्न पाइदैन। यसलाई नियमन गरिनुपर्छ', मन्त्री बास्कोटाले भने 'नयाँ चिजले नयाँ अवसर पनि थप्छ र चुनौती पनि थप्छ।' सरकारले बिग्रेको सम्बन्ध बिगारेर बराबरी अवस्थामा ल्याउदा पनि सरकारले काम गरेन भनिएको भनिएको उनले बताए।

अहिले सरकारले कर बढाउने कुरालाई ठूलो कुरा बनाएर सरकारलाई बदनाम गराउन खोजेको उनलेे बताए। भने, 'यहाँ त कर कसैले तिर्न नपर्ने सरकारले अनुदान दिएकोदियै गर्नुपर्ने कुरा गरिन्छ। कर लिइएन भने सरकार कसरी चल्छ?' 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भदौ १ गतेबाट लागू हुन गइरहेको फौजदारी संहिता, देवानी संहिताका केही बुँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाउने खालका रहेको बताए। संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उनले कानुनलाई संविधानको मर्मअनुसार अगाडि बढाउनुपर्ने बताए। विश्वको सबै लोकतान्त्रिक मुलुकले लोककल्याणकारी सन्देश दिने बताउँदै नेपालमा केही व्यक्तिले दिनुहुँदैन भनेर वकालत गरिरहेको बताए। 'राज्यले त्यस्ताखाले लोककल्याणकारी सन्देश निर्माण गरोस् र सबै मिडियालाई समान रूपमा वितरण गरोस्', उनले भने।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिताका नाममा केही व्यक्तिले गलत सन्देश प्रवाह गरिरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए। काउन्सिलले निरन्तर मिडिया अनुगमन गरिरहेको भन्दै समाचार ट्विस्ट गर्ने, गलत सन्देश प्रवाह गर्ने, धम्क्याउनेलाई कारबाहीको दायरामा ल्याइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.