|

विराटनगर : प्रहरीले महानगरपालिकामा बम विस्फोट गराएको आशंका गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नौजना कार्यकर्तालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। बम विस्फोट भएको एक घण्टापछि विभिन्न स्थानबाट पक्राउ गरी उनीहरूलाई मोरङ प्रहरी कार्यालयमा राखिएको छ।

नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेका कारण उनीहरूको नाम र ठेगाना भने गोप्य राखिएको मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। पक्राउ परेकाहरूको राजनीतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

विराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र दिउँसै बम विस्फोट भएको थियो। महानगरपालिको प्रमुख भीम पराजुलीको पहिलो तलामा रहेको कार्यकक्ष छेउको बीच प्यासेजमा आइतबार दिउँसो २ बजे बमविष्फोट भएको हो।

बम विस्फोट हुँदा कार्यालय प्रमुख चढने सवारी र कार्यालयका सिसा तथा फर्चिनरमा असर पुगेको छ। मानवीय क्षति नभएको मोरङ प्रहरीका प्रमु्ख एसपी केसीले जानकारी दिए। विष्फोट प्रेसर कुकर बम भएको हुन सक्ने आशंका गरिएको छ। विष्फोटबाट नगरपालिकाको झ्यालका सिसा फुटेको छ भने प्यासेजमा रहेका सोफा र दराज टुक्राटुक्रा भएको महानगरपालिको प्रमुख पराजुलीले जानकारी दिए। विष्फोटले प्रमुख पराजुलीले चढ्दै आएको को १ झ ४९४ नम्बरको गाडीको पछाडि पट्टीको सिसा फुटेको छ।

विष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो। विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएको प्रमुख पराजुलीले जानकारी दिए।मुटुरोगको विरामी रहेका उनको उपचार विराटनगरस्थित कोशी अञ्चल अस्पताल उपचार भइरहेको छ। महानगरपालिकाका प्रमुख पराजुलीले जसले घटना गराए पनि यो निन्दनिय र खेदजनक भएको प्रतिक्रिया दिए। 

घटनास्थलमा प्रहरीका तालिम प्राप्त कुकुर सहितको अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी टोली परिचालन गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ। 
सशस्त्र र नेपाली सेनाको टोली पनि परिचालित छ। एसपी केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र गहन रुपमा घटनाको अनुसन्धान सुरू गरिएको बताए। केसीले महानगरपालिकामा सिसीटिभी जडान गरिएका कारण घटनाका बारेमा चाँडै पत्ता लाग्ने प्रहरीको अनुमान छ।

विष्फोटपछि जिल्ला सुरक्षा समिति मोरङको बैठक बसेर विराटनगरको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.