|

संखुवासभा : पाँचखपन नगरपालिका २ का वडा सचिवले नगरपालिकाले तोकेभन्दा दोब्बर भत्ता लिएको खुलेको छ। वडा सचिवलाई एउटा वडा कार्यालय हेरेबापत नगरपालिकाले दुई हजारका दरले भत्ता दिने भनी निर्णय गरेको थियो। तर सचिव रामप्रसाद रेग्मीलाई नगरले नै १ र ३ नम्बर वडा हेर्ने गरी कार्य क्षेत्र तोकेको थियो।

रेग्मीले  नगरको निर्णयलाई बेवास्था गर्दे आफू खुसी पाँच हजारका दरले तीनवटा वडाबाट मासिक १५ हजार लिने गरेको खुलेको हो।

उनले एक वडाबाट अर्को वडा जाँदा, मिटिङमा जाँदा र व्यक्तिगत  काममा सदरमुकामसम्म जाँदाको समेत बैठक भत्ता भनी कागजपत्र मिलाइ महिनाको ६० हजार बढी रकम लिएको भन्दै अख्तियारमा उजुरी परेपछि रेग्मीलाई अख्तियारले सरकारी सम्पत्ति दुरुपयोग गरेको देखिएको भन्दै  आवश्यक अनुसन्धान गरी कारबाही गर्न पत्र पठाएको छ। तर नगर प्रमुख विपिन राईले यस विषयमा सोध्दा आफूलाई जानकारी नभएको बताए। तर उपप्रमुख भीमादेवी राईले मंगलबार नगरपालिकामा आवश्यक छलफलका लागि बैठक राख्ने बताइन्।

सचिव रेग्मीले आफूमाथि लागेको आरोपको झुटो भएको भन्दै त्यसको खण्डन गरेका छन्। उनले भने, 'मलाई फसाउन कार्यालय भित्रकै  कर्मचारी लागिपरेका छन्। मेरो चरित्र हत्या गर्ने केही व्यक्तिले सामाजिक सञ्जालमा नामै किटान गरेर नभएको आरोप लगाएका छन्।'

आफूलाई लागेको आरोप बारे २५ गते नगरपालिका कार्यालयमा निवेदन दर्ता गराएर प्रमुख र उपप्रमुखलाई जानकारी गराएको उनले बताए। १ नम्बर वडाअध्यक्ष टेकबहादुर बुढाथोकी भने वडा सचिवले तोकेभन्दा बढी भत्ता लिएको बारे आफूलाई जानकारी नभएको बताए। तर सरकारी सम्पत्ति दुरुपयोग गरेको भन्दै वडा सचिवमाथि लागेको आरोप छानबिन गरी कडा कारबाही गर्नु पर्ने स्थानीय देबराज पुरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.