|

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ। 

बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहान ७ बजे बाँध खुला गरीएको हो। यसअघि आईतवार नै भारतीय पक्षले बाँध खोलिने भनेर पूर्व जानकारी नेपाली प्रशासनलाई गराएको थियो।  

बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले पूर्व सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।  धौलीगंगा बाँधको पानी मंगलवार बिहानसम्मका लागि खुल्ला गरिने बताइएको छ। 
बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। 
धौलीगंगाबाट दार्चुलाको नदी तटिय क्षेत्रमा पानी पुग्न करिब २ घन्टासम्म समय लाग्ने गर्दछ। 

दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोगगरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो। 

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलामा  प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नबराज अधिकारीले बताए। गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको सिमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पूर्वसूचना आदानप्रदान गर्ने सहमति भएअनुसार भारतीय प्रशासनले जानकारी गराउँदै आएको छ।

२८० मेगावाट विद्युत क्षमताको धौलीगंगा बाधँ यस वर्षमात्रै चारपटक खोलिएको छ। यसअघि धौलीगंगा जलबिद्युत परियोजना छिरकिल्ला बाधँमा पानीको मात्रा अत्याधिक भएको कारणले साउन १२ गते पनि बाँधको ढोका खोलिएका थिए। विस २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.