|

बैतडी : जिल्ला हलिया मुक्ति समाजका सदस्यले आफूहरुसँग घुस लिएको भन्दै दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्त हलियाले जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका छन्।

हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीले हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत नेपाल सरकारले दिएको रकमबाट प्रतिपरिवार आठ  हजार रुपैयाँ रकम घुस लिएको मुक्त हलियाहरुको दावी छ। जिल्ला प्रशासन कार्यालयमा संयुक्त रुपमा उजुरी दिँदै उनीहरुले आफ्नो रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसंँग आग्रह गरेका छन्।

जिल्ला मालपोत कार्यालय मार्फत पाएको रकममा कोलीले आठ हजारका दरले मागेको मुक्त हलिया वीरमान महरले बताए। साउन १७ मा ग्वाल्लेकका दुःखी रानाले पाएको १६ हजार रुपैयाँमध्ये नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो। कोलीले उक्त रकम लिएपछि प्रहरीमा उजुरी गरेपछि रकम फिर्ता पाएको रानाले बताए।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले उजुरीको आधारमा छानबिन गर्ने बताए। उनले भने, ‘मुक्त हलियाबाट रकम मागेको वा लिएको पाइएमा कानुनअनुसार कारवाही गरिनेछ।’ 

जिल्ला हलियामुक्ति समाजका सदस्य वीरभान कोलीले भने आफूले कोहीसँग रकम नलिएको दावी गरेका छन्। उनले आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका साथ आरोप लगाएको जिकिर गरे। 

बैतडीमा गत आर्थिक वर्षमा एक हजार मुक्त हलिया परिवारका लागि मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत रकम विनियोजन भएको थियो। सरकारले मुक्त हलियाहरुलाई घर निर्माणका लागि तीन लाख २५ हजार, जग्गा खरीदका लागि दुई लाख र घर मर्मतका लागि एक लाख २५ हजार रुपैयाँका दरले रकम दिँदै आएको छ । बैतडीमा दुई हजार २२ जना मुक्त हलिया रहेको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.