|

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका- १ झोरापाटाकी २० वर्षीया रमिला रमिला ह्यान्डबलमा स्थापित खेलाडी हुन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्‍यान्डबल प्रतियोगितामा भाग लिएकी रमिलाले खेलयात्रामा तीतामीठा र रोचक अनुभव संगालेकी छन्।

रमिला भन्छिन्, 'सानै उमेरमा खेल्न जाँदा धेरैले खिसी गर्दै हेपे। मान्छेको मूल्यांकन ज्यान, उमेर, पहिरनको आधारमा हुँदोरहेछ', ह्‍यान्डबल खेलाडी रमिलाले आफ्ना अनुभव यसरी थपिन्, ‘हेपिएको अनुभव लिएर खेल्दा पनि पदक हात पारेँ। त्यसपछि त सबैले माया गरे नि!’

१४ वर्षको उमेरमा राष्ट्रिय खेलाडी बनेकी रमिलाले भनिन्, ‘सानै उमेरमा ह्‍यान्डबलको राष्ट्रिय खेलाडीको रूपमा नाम निकाल्दा सिनियरहरू रिसाउनुभयो। मिहिनेत वा भाग्यवस भनौँ, ह्यान्डबलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएँ। कति प्रतियोगितमा जीत हात पारेँ भने कति प्रतियोगितामा खेलप्रेमीको साथ पाएकी छु।'

यसरी भइन् ह्‍यान्डबल खेलाडी
    
बुबाआमाकी कान्छी छोरी हुन् रमिला। २०५६ सालमा आमा तारादेवी रमिला र बुबा राजेन्द्रबहादुर रमिलाकी कान्छी छोरीको रूपमा जन्मिएकी रमिला अहिले उदयपुरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीमा दर्ज छन्।

'मेरो खेल जीवन अत्यन्तै रोचक छ', रमिला भन्छिन्, ‘म कक्षा ९ मा पढ्दै गर्दा साथी बबिता राईले मलाई ह्यान्डबल खेलाडी बन्न प्रेरित गर्नुभयो।' यसै क्रममा ह्‍यान्डबलकै गुरु पर्वत गुरुङले ह्‍यान्डबलमा आफूलाई प्राेत्साहन गरेको उनी बताउँछिन्। ‘म सिक्न जाँदा पूरै खेलाडीहरू मैले खेलेको अत्यन्तै अचम्भित मान्दै हेरिरहेका हुन्थ्ये’, उनले भनिन्, ‘गुरुले तिमीलाई खेल्न मन छ? भन्नुभयो। अनि त्यो भीडमा मलाई पनि जाऔँ जस्तो लाग्यो। त्यहीँबाट ह्‍यान्डबलमा प्रवेश गरेकी हुँ।’
    
उनले राष्ट्रिय टिममा पर्दा सानै उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा पहिचान बनाउँदै कान्छी उमेरकी खेलाडीका रूपमा डेव्यु गरेकी हुन्। पाकिस्तानमा भएको ह्‍यान्डबल प्रतियोगितामा नेपाली टिमलाई कास्य पदक दिलाएकी थिइन् उनले। भारत, बंगलादेश, पाकिस्तान, दुवई र कतारलगायतका अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै उनले विभिन्न पदक पनि दिलाएकी छन। राष्ट्रियस्तरका खेलमा पूर्वाञ्चल टिमबाट खेल्ने उनी आफ्नो टिमलाई स्वर्ण तथा रजत पदक दिलाउन सफल रहेकी छन्।

तर उनी यतिबेला केही खिन्न छन्। उनले भनिन्, 'मैले बाँकी जीवन पनि ह्‍यान्डबल खेलेर बिताउने सोच बनाएँ भने त्यो पूरा हुन कठिन छ।' कारण, नेपालमा खेलमै लागेर जीवन धान्न सक्ने अवस्था नभएको उनको भनाइ छ। प्रतिकूलताका बीच पनि उनी ह्‍यान्डबलमै आफ्नो भविष्य खोजिरहेकी छन्।

रमिलाको पदकयात्रा

विद्यालयस्तरीय ह्‍यान्डबल प्रतियोगितामा पुमा उच्चमावि बेल्टारबाट सहभागी हुन सुरु गरेकी हुन् रमिला। पूर्वाञ्चल ह्‍यान्डबल​ प्रतियोगितामा गोल्ड मेडल र राष्ट्रिय ह्‍यान्डबल प्रतियोगिता, २०७० मा पूर्वाञ्चलको तर्फबाट रजत पदक प्राप्त गरिन् उनले। सन् २०१४ मा पाकिस्तानमा भएको ह्‍यान्डबल प्रतियोगितमा नेपाललाई कास्य पदक दिलाउन सफल भइन्। ‘त्यसमा पाकिस्तान, श्रीलंका, यमन, माल्दिभ्स, नेपाल, बंगलादेश, माल्दिभ्स, अफ्गानिस्तान गरी आठवटा राष्ट्र सहभागी थिए। सोही प्रतियोगितामा कास्य पदक दिलाउँदा कान्छी महिला अन्तर्राष्ट्रिय ह्‍यान्डबल खेलाडी बन्न सफल भएकी हुँ', रमिला भन्छिन्। 

उनले सन् २०१६ मा भारतमा भएको एक प्रतियोगितमा पनि उपाधि चुमिन्। यसैगरी सन् २०१६ मा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितमा रमिलाले चौथो स्थानसहित अनुशासनतर्फको पुरस्कार पाएकी थिइन्।

उनी राखेप च्याम्पियनसीप, २०७४ मा पनि सहभागी भई तृतीय स्थान हासिल गरिन्। देश तथा विदेशमा हुने ह्‍यान्डबल प्रतियोगितमा प्रायजसो सहभागिता जनाउँछिन् उनी। 

यसरी बताइन् आफ्ना अनुभव

उनको विचारमा नेपाली खेल क्षेत्रमा सुधारको ठूलो खाँचो छ। उनी पूर्वाधार विकासमा जोड दिन्छिन्। खेलका लागि पूर्वाधार नै जिरो बराबर रहेको उनको ठम्याइ छ। रमिला भन्छिन्, 'खेलाडी छनोट फेयर हुन सकेको छैन। नातावाद-कृपावाद छ। त्यो अन्त्य हुनुपर्छ। तेस्रो, अयोग्य खेलाडीलाई पैसाको चलखेल गरी प्रतियोगितामा समावेश गराउने प्रचलनको अन्त्य गर्न जरुरी छ। चौथो, राष्ट्रिय खेलकुद परिषद्ले राम्रो/नराम्रो छुट्याउन सक्नुपर्छ।'

रमिलाले राष्ट्रिय खेलकुद परिषद्ले पहिला पैसाको डिलिङ गरेर खेल्न नजान्ने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी गराउने गरेको आरोप लगाइन्। उनी भन्छिन्, 'छनोट प्रक्रियामा झनै समस्या छ। ह्‍यान्डबलको मात्र होइन, यहाँ जुनसुकै विधाका खेलाडीलाई सोध्दा पनि हुन्छ, छनोट गर्नेहरूसँगको हिमचिम, उठबस हुनेले मात्र मौका पाउँछन्। जसले खेल्न सक्छ, जो खेलमा दक्ष छ, उसले नपाउने अवस्था जगजाहेर छ। नेपालमा खेल क्षेत्रको विकास गर्न मैले भनेका जस्ता धेरै कुरामा सुधार गर्न जरुरी छ।' 

अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा खेलेका खेलाडीहरू साउदी, कतार, दुवईमा गएर आफ्नो रोजीरोटी चलाइरहेका बताउँदै उनले भनिन्, 'यस्ता खेलाडीलाई राज्यले उचित व्यवस्थापन गर्न सक्नुपर्छ तर त्यो छैन। मैले बाँकी जीवन पनि ह्‍यान्डबल खेलेर विताउने सोच बनाएँ भने त्यो पूरा हुँदैन। त्यस कारण मैले अब खेल क्षेत्र बाध्यताले छोड्नु नै पर्ने हुन्छ।' यस्तो अवस्थाको अन्त्य भए धेरै खुसी हुने उनको भनाइ छ।

'विदेशी खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पैसा पाउँछन्, हामीले खान मात्र'

'म ह्‍यान्डबलकी खेलाडी हुँ। मैले वास्तवमा ह्‍यान्डबलकै कुरा गर्नुपर्छ। मैले खेलेका अन्तर्राष्ट्रिय ह्‍यान्डबल प्रतियोगितको रोचक काहानी छ', उनले भनिन्, 'पाकिस्तानमा खेल्दा त्यही प्रतियोगिता खेल्न आउने अन्य देशका खेलाडीहरू सरकारले भत्ता दिन्छ भन्थे। हामीले भात मात्र खाएर खेल्नुपर्थ्यो। हामीलाई पनि भत्ता दिने व्यवस्था गरे हाम्रो मनोबल बढ्ने थियो नि! गोजीको पैसा लिएर जानुपर्ने अवस्था छ।' त्यस कारण पनि ह्यान्डबल खेल नेपालमा ओझेलमा परेको उनको ठम्याइ छ।

हरेक दिन सफलता हात पनि नलाग्ने र हरेक दिन असफलता मात्रै पनि हात नलाग्ने उनको बुझाइ छ। 'यस कारण असफलतै असफलताबीचबाट सफलता खोज्न निरन्तरता दिनुपर्छ', उनी भन्छिन्, 'तर सरकारले खेल क्षेत्रको व्यवस्थापनमा धेरै कुरा सुधार्न जरुरी छ।'

पुरस्कार र सम्मान

भर्खरै मात्र प्लस टु सकेर अहिले विभिन्न संघसंस्थामा सरिक भएर काम गरिरहेकी उनलाई स्थानीय धेरै संघसंस्थाले सम्मान गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा देशलाई कास्य पदक दिलाएवापत राष्ट्रिय खेलकुद परिषद्ले प्रोत्साहन तथा सम्मान प्रदान गरेको छ उनलाई। बंगालादेशमा पनि पोत्साहन पत्र सहित उनले सम्मान पाएको दावी गर्छिन। त्यस्तै राखेप च्याम्पियनसिपमा परिषदले सम्मान गरेको छ। उदयपुर जिल्ला शिक्षा कार्यालयको प्रतिभाको खोजीमा परी नेपाल जेसिजले छनौट गर्ने उत्कृष्ट युवा पुरस्कारमा प्रथम तथा गोल्ड मेडलिस्ट पाएकी छिन। 

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा समितिले खेलाडी रमिलालाई वर्ष २०७५ सालको उत्कृष्ट युवा उद्यमी प्रतिभा पुरुस्कार बाट सम्मानित गरेको छ। राष्ट्रिय ह्यान्डबल खेलाडी  रमिलाले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएकी छन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट रमिलालाई अन्तर्राष्ट्रिय संगठन नेपाल जेसिजले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएकी छन्। नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनमा रमिलालाई प्रचण्डले नगद र सम्मानपत्रसहित दोसल्ला ओढाएर भैरहवाको सिद्धार्थ नगरमा सम्मान गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.