|

लमजुङ : आकाशमा उड्ने चरो पनि बस्न नसक्ने कहालीलाग्दो पहरो। हेर्दैमा आङ सिरिङ्ग हुने ठाडो चट्टान। त्यही कहालीलाग्दो चट्टानमा तुर्लुङ्ग झुन्ड्याइएको डोरीमा लहरिनु यहाँका मानिसको काम भएको छ। पर्यटकहरूका लागि भीरमौरी काड्ने भन्दा पनि प्रकृतिको वरदान पहाड, पहाडमा मौरीको भुनुभुनु आवाज र स्थानीयको साहसिक कार्यले भीरमौरीको रसस्वादनभन्दा बढी मन्त्रमुग्ध बनाएको हुन्छ। तर मह सिकारका लागि स्थानहरूको कमी हुँदा भीरमौरी संकटमा पर्दै गएको छ।

विश्वमै विरलै हुने मह सिकार लमजुङमा भने हुँदै आएको छ। कहालीलाग्दा भीर तथा पहराहरूमा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरूले भीरमौरीको महको सिकार गर्दै आएका छन्। भीर मौरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय बिना तयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ। विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीर महहरू काढिँदा मौरी मासिने खतरा त्यतिकै बढेको छ।

सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा परको हुन सक्छ। पत्याउन गाह्रो भए पनि सत्य यही हो, भीर मह काढ्दा थोरै गल्ती भएमा ज्यान पनि जान सक्छ।लमजुङमा भने मह सिकारले वर्षैपिच्छे स्थान पाउँदै आएको छ। यहाँका अधिकांश भीर पहराहरूमा भीरमह पाइन्छ। जाँगरिला मह सिकारीहरूले वर्षैपिच्छे मह सिकार गर्दै आएका छन्। अधिकांश स्थानका शिकारीले त यसलाई पुर्ख्यौली पेसा र परम्परा ठान्छन्।

भीरमह विशेषगरी यौनबर्द्धक, शक्ति दिने र हाडजोर्नीका रोगीहरूका लागि अचुक औषधिको रूपमा लिइने भएकाले पनि गाउँलेहरू मह सिकार गर्न नछाड्ने मस्याङ्दी गाउँपालिका- ६ नाइचेका स्थानीय महसिकारी आशलाल गुरुङले बताए।

भीरमह जस्तोसुकै भीरमा भने हुँदैनन्। भीरमौरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ। कहीँ कतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा सिकार गर्नका लागि चोयाको डोरीको साथ लिनुपर्छ। दुईवटा डोरी बाँधेर ठेल्ना राखी भ‍र्‍याङ जस्तो बनाएर डोरीलाई भीरको सिरानमा रहेको रूखमा बाँधी त्यसबाट सिकारी झुण्डिएर भीरमा मह काढ्ने गरिन्छ। विशेषगरी कार्तिक, मंसिर र बैशाख महिनामा भीरमौरीको मह काढ्न उपयुक्त मानिने मस्याङ्दी गाउँपालिका- ६ नाइचेका महसिकारी गंगाबहादुर गुरुङले बताए।  

भीरमौरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय बिना तयारी मह काढ्ने प्रचलन बढेपछि मौरी मासिने खतरा पनि उत्तिकै बढेको छ। विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीरमह काढिँदा र स्थानीयले अनावश्यक गोलाहरूमा जिस्क्याउँदा पनि भीरमौरीहरू दिनदिनै मासिँदै छन्। कोलाहल र मानव वस्ती नरुचाउने भीरमौरीहरू अहिले मानवीय क्रियाकलापसँगै लोप हुन थालेको मर्स्याङ्दी गाउँपालिका सिउरुङका मुक्तिप्रसाद गुरुङले बताए।

लमजुङका प्रायः गुरुङ बस्ती रहेका ठाउँहरूमा भीरमौरी रहेका छन्। भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दूधपोखरी, बन्सार, नाइचेलगायतका भीर पहराहरूमा भीरमौरीहरू प्रशस्तै मात्रामा पाइन्छन्। झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहराहरूमा भीरमौरीले घार बनाउने गर्छ। ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीरमौरी विस्तारै लोप हुँदै गएका हुन्। भीरमौरीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिए पनि यससम्बन्धी योजना र कार्यान्वयनका लागि नीति नियम बनाउन नसक्दा भीरमह भीरमा नै थन्कनु त छँदै छ, यसबाट फाइदासमेत लिन नसकेको बेसीशहर नगरपालिका- १० दिउजनथोकका बुद्धिजङ गुरुङ बताउँछन्। उनका अनुसार सरकारी निकायसँग यसलाई संरक्षण र प्रोत्साहन गर्ने योजना नहुनु र यसबारेको अनभिज्ञताले भीरमौरीको संरक्षण हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.