|

कैलाली : गत वर्षको सफल फिल्म ‘प्रेम गीत २’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, अश्लेषा ठकुरी। उनले यस फिल्ममा नायक प्रदीप खड्कासँग जोडी बाँधेकी थिइन्। फिल्म सफल भयो। फिल्मको सफलतासँगै उनको चर्चा पनि उत्तिकै भयो।

संवादविहीन सुटिङका दुई दिन

पहिलो फिल्म अनि छायांकनको पहिलो दिन। पशुपति मन्दिरमा फिल्मको छायांकन चलिरहेको थियो। अश्लेषालाई ‘एक्सन/कट’ गरियो तर उनले कुनै संवाद बोल्नु परेन।

दोस्रो दिन गोदावरीमा छायांकन थियो। दोस्रो दिन पनि पहिलो दिनजस्तै भयो। उनी क्यामेरामा कैद थिइन् तर डाइलग भने बोल्न पाइनन्। दुई दिनसम्म पनि डाइलग बोल्न नपउँदा उनी केही केही नर्भस थिइन्। ‘म केही नर्भस भएँ तर डर भने थिएन’, उनी भन्छिन्, ‘दुई दिनमा धेरै सिक्न पाएँ। मेरो को-एक्टर प्रदीपले कसरी काम गर्छ भनेर हेर्न पाएँ। त्यहाँबाट पनि सिक्ने अवसर मिल्यो।‘

अश्लेषालाई तेस्रो दिनमा मात्र डाइलग दिइयो। उनले त्यसलाई राम्रोसँग गर्न सफल भइन्। उनी भन्छिन्, ‘तेस्रो दिन मात्र डाइलग दिनुभएको थियो तर वान टेकमा नै ओके भयो।‘

प्रदीप खड्का ‘प्रेम गीत’बाटै चर्चामा थिए। उनीसँग अभिनय गर्नुपर्दा सुरुसुरुमा केही असहज भएको थियो अश्लेषालाई। तर नाटकहरूमा काम गरिरहेकाले अभिनय गर्न भने गाह्रो भएन। उनले भनिन्, ‘थिएटरबाट आएको भएर पनि होला अभिनयका लागि भने गाह्रो भएन।’

दुर्घटनाले नायिका बनायो

कैलालीको बर्दगोरियामा जन्मिएकी अश्लेषाको वास्तविक नाम एरिका बम ठकुरी हो। उनले फिल्म क्षेत्रमा प्रवेश गरेसँगै आफ्नो नाम परिवर्तन गरेकी हुन्। कैलालीमा जन्मिए पनि उनले सानैदेखि पढाइ काठमाडौंमा नै पूरा गरिन्। पढाइमा राम्रो भएका कारण घर परिवारले उनी डक्टर भएको हेर्न चाहन्थे। परिवारले अश्लेषालाई एमबिबिएस पढाउने योजना बनाए। उनले नाम निकालिन् पनि तर पछि केही कारणवस एमबिबिएस नपढेर बिडीएस अर्थात् दन्त चिकित्सा पढ्न थालिन्।

डक्टरी पढ्दै गरेकी उनी कसरी नायिका बनिन् भन्ने एउटा रोचक प्रसंग छ। केही वर्षअघि उनी स्कुटर दुर्घटनामा परिन् र गम्भीर घाइते भइन्। यसले गर्दा उनले १३ दिन आइसियुमा बस्नुपर्‍यो भने एक महिना बेडरेस्ट गर्नुपर्‍यो। उनी छ महिना कलेज जान पाइनन्। लामो समय कलेज छुटेपछि बुबाले उनलाई त्यो नपढेर अरू केही गर्न सुझाए।

अश्लेषाका सबै दिदीबहिनी अष्ट्रेलिया छन्। उनलाई पनि उतै जान भने तर उनलाई भने यहीँ केही गर्न मन थियो। उनी न्त चिकित्सा छाडेर सोसल वर्क पढ्न थालिन्, त्यसपछि प्रशस्त समय बाँकी रह्यो। फुर्सदको समयमा सुनील पोख्रेलको ‘ज्ञ’ थिएटर जान थालिन्।

त्यही समयमा ‘प्रेम गीत २’को अडिसन सुरु भइरहेको थियो। एक जना साथीले उनलाई फिल्मको प्रस्ताव ल्याए। उनलाई निर्माण युनिटले भेट्न बोलायो, उनी गइन्। निर्माता, निर्देशक र फिल्मका नायक प्रदीप सँगै थिए। सबैले उनलाई रुचाए र फिल्मका लागि ‘ओके’ गरे। ‘सबैले थिएटरको प्रस्तुति हेरिसक्नुभएको रहेछ,’ उनी सम्झिन्छिन्, ‘मेरो अडिसन नभइ कन्फर्म भयो।’

उनी आफूलाई स्कुटर दुर्घटनाले नायिका बनाएको बताउँछिन्। भन्छिन्, ‘त्यो स्कुटी दुर्घटनाले नै मलाई डाक्टर हुनबाट रोकेर फिल्मको नायिका बनायो।’

मेरी मामुबाट स्थापित हुने विश्वास

‘प्रेम गीत २’बाट डेब्यु गरेकी अश्लेषा आफूलाई ‘मेरी मामु’ले स्थापित गराउने विश्वास व्यक्त गर्छिन्। ‘प्रेम गीत-२ ले मलाई नाम दियो, मेरी मामुले मलाई स्थापित गराउनेछ,’ अश्लेशाले विश्वास व्यक्त गरिन्।

‘मेरी मामु’मा आफ्नो भूमिका ‘सस्पेन्स’ भएको उनले बताइन्। ‘सबैको भूमिका स्पष्ट भइसकेको छ तर मेरो भूमिका लुकाइएको छ,’ उनले भनिन्, ‘मेरो भूमिका थाहा पाउनका लागि फिल्म नै हेर्नुपर्छ।’

बालमनोविज्ञान र आमा–छोराबीचको सम्बन्ध बोल्ने फिल्ममा उनी नायक सरुक ताम्राकारको जोडीका रूपमा देखिनेछन्। सरुकसँग काम गर्दा सहज भएको अश्लेषा बताउँछिन्। उनले भनिन्, ‘फिल्ममा म पहिला आए पनि सरुक मभन्दा सिनियर हुन्, उनीबाट पनि थुप्रै नयाँ कुरा सिक्न पाएकी छु।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.