|

दाङ : पछिल्लो समय धेरैले राजनीतिलाई कमाई खाने माध्यम बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका खुसीराम चौधरीले भने राजनीतिलाई उद्यमशीलतासँग जोडेर अगाडि बढ्दै छन्। धेरैले नेताले भाषण गर्ने गर्छन्, ‘मुलुकलाई समृद्ध बनाउनुपर्छ।’ तर भाषणले मात्रै मुलुक समृद्ध बन्छ भन्ने कुरामा खुसीराम पटक्कै विश्वास गर्दैनन्। जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन, तबसम्म भाषणमा गरिएका समृद्धिका गफ भाषणमै सीमित हुने उनको भनाइ छ। 

२०५६ सालदेखि विद्यार्थी राजनीतिलाई आधार बनाई राजनीतिमा लागेका खुसीराम तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष र केन्द्रकै केन्द्रीय आयोजक कमिटी सदस्य हुन्। उनले अहिले तुलसीपुर– १२ कचिलामा करिब १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन्। ‘राजनीतिलाई धेरैले खेतीपाती बनाएका छन्’, उनले भने, ‘म राजनीतिलाई उद्यमशीलतासँग जोडेर अगाडि बढ्छु।’

उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए। राजनीतिकर्मीले पनि आमनागरिक जसरी जीवनयापन गर्नुपर्ने उनको तर्क छ। परिवार चलाउन तरकारी खेती गर्दै आएका उनी मुलुक बनाउन राजनीति गर्ने गरेको सुनाउँछन्। ‘राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने छैन’, उनले  भने, ‘जीविकापोर्जनका लागि आफ्नो काम गरेर पनि देश विकासमा अगाडि बढ्न सकिन्छ।’ उनको बारीमा अहिले टमाटर र सिजनअनुसार आलु, प्याजलगायत अन्य तरकारीहरू  लगाउने गरेको बताए। 

सिँचाइको पनि राम्रो व्यवस्था रहेकाले कचिला क्षेत्रमा राम्रो  तरकारी उत्पादन हुने गरेको उनको भनाइ छ। राजनीतिलाई निरन्तरता दिँदै उनी वितग तीन वर्षदेखि तरकारी खेतीमा व्यस्त छन्। मिजासिलो, इमान्दार, सरल स्वभावका खुसीरामले आफ्नो खेतीपातीसँगै मुलुकको राजनीति र समाजका हरेक सरोकारको विषयमा जानकारी राख्ने गर्छन्। उनै खुसीरामले वार्षिक करिब आठदेखि १० लाख रुपैयाँ तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताए। कृषि क्षेत्रमा दख्खल राख्ने खुसीराम राजनीतिमा पनि त्यतिकै दख्खल राख्छन्। विद्यार्थीकालमा निकै मिहिनेती खुसीरामको शिक्षक बन्ने निकै ठूलो धोको थियो। तर उनलाई समय र परिस्थितिले राजनीतिमा ल्याइपुर्‍यायो। ‘म निकै मिहिनेत गर्थें। मैले ९ र १० कक्षमा अतिरिक्त गणित विषय लिएर पढेँ’, उनले भने, ‘मेरो धोको सक्षम शिक्षक बन्ने पनि थियो।’ तर प्लस टु पढ्दै गर्दा उनको परिस्थितिले अर्कैै मोड लियो र अहिले राजनीतिकर्मीमा ल्याइपुर्‍यायो।

 ‘अहिले अधिकार सम्पन्न नेपालको संविधान निर्माण गर्‍यौँ’, उनले भने, ‘अब मुलुकलाई समृद्ध र विकसित बनाउने लडाइँ जारी राख्नेछौँ।’

उनले अहिले राजनीतिशास्त्रमा स्नातक गरेका छन्।  २०५६ मा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महेन्द्र बहुमुखी क्याम्पस मूल इकाई कमिटी सदस्यबाट विद्यार्थीको राजनीति सुरु गरेका खुसीराम २०७१ देखि ७४ सम्म अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्य बनेर काम गरे। विद्यार्थी राजनीतिमै बढी समय बिताएका खुसीरामले युद्धको समयमा पश्चिम मगरात, थरूवान, भेरी-कर्णाली, सेती-महाकालीलगायतको नेतृत्व गरे। 

मुलुकको परिवर्तनका लागि निकै संघर्ष गरेका खुसीरामको अहिलेको यात्रा भनेको समृद्धिको मार्ग नै भएको उनी बताउँछन्। पहिले मुलुकलाई परिवर्तन गर्ने लडाइँमा होमिएको र कयौँ पटक मृत्युको मुखबाट बच्दै आएको उनले बताए। ‘अहिले अधिकार सम्पन्न नेपालको संविधान निर्माण गर्‍यौँ’, उनले भने, ‘अब मुलुकलाई समृद्ध र विकसित बनाउने लडाइँ जारी राख्नेछौँ।’ 

कृषिलाई पनि आधुनिकीकरण, व्यावसायीकरण नगर्दासम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उनको तर्क छ।  ‘हामीले समृद्धिका नारा त लगाउँछौँ’, उनले भने, ‘मुलुकलाई समृद्ध बनाउन कृषिलाई पनि व्यावसायिक र आधुनिकीकरण गर्नुपर्छ।’ 

कृषिलाई माया गर्ने उनी पछिल्लो समय खेतीयोग्य जमिनमा धमाधम घर बन्दै गएकामा चिन्तित छन्। कृषियोग्य जमिनको संरक्षण र व्यवस्थित बस्ती विकासका लागि अगाडि बढ्नुपर्ने उनले बताए। यस क्षेत्रमा अझै पनि खेतीयोग्य जमिन बाँकी रहेकाले राज्यले यसको व्यवस्थापन गर्नुपर्ने उनी सुनाउँछन्। क्षेत्रको व्यवस्थित विकासका निम्ति खेतीयोग्य र आवासीय जमिनलाई छुट्याएर सोहीबमोजिम जमिनको वर्गीकरण गरी विकास कार्यलाई अघि बढाउनु जरुरी रहेको उनले बताए।

उनी स्थानीयस्तरमा विकासको ढोका खोल्न र व्यापक रोजगारी तथा उद्यमशीलता विकास गर्नका निम्ति यस क्षेत्रलाई राम्रो सम्भावना बोकेको क्षेत्रको रूपमा समेत लिन्छन्। यसो गर्न सके  बढ्दो वैदेशिक रोजगारीलाई नियन्त्रण गर्न सकिने उनको बुझाइ छ। उनले व्यावसायिक रूपमा कृषि पेसा अँगालेका कृषकलाई राज्यले उचित साथ, सहयोग तथा सम्मान दिनुपर्ने बताए। 

अहिले वास्तविक किसानलाई भनी आएको अनुदान नाम मात्रैका व्यवसायीले लिने गरेको भन्दै उनले यस्तो समस्या अन्त्य नहुँदासम्म विकासले फड्को नमार्नेसमेत धारणा राखे। राज्यले लक्षित वर्गलाई छुट्याएको अनुदान गैरसरोकारका व्यक्तिमा जाँदा विकासले फड्को मार्न नसकेको उनको तर्क छ।  अब यसलाई सुधार गरेर लैजानुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.