|

जनकपुरधाम : मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा अदालतसमक्ष हाजिर भएका छन्। उच्च अदालत जनकपुरधामले प्रदेश राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको झण्डै एक महिनापछि सोमबार उनी महोत्तरी जिल्ला अदालतमा हाजिर भएका हुन्।    

सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले यसअघि ७० दिने म्याद दिए पनि सो अवधिमा उनी हाजिर भएका थिएनन्। तर, उच्च अदालत जनकपुरका न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अविलम्ब पक्राउ गर्न गत असार २५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी गरेपछि उनी महोत्तरी जिल्ला अदालतसमक्ष हाजिर भएका हुन्।

थमन विकका श्रीमतीको जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पुर्जी जारी गरेको थियो। पक्राउ गर्न भनिएका राज्यमन्त्री शर्मासँगै जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्र राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका हुन् भने, कौशलकुमार यादव महोत्तरी निर्वाचन क्षेत्र नं. ४(क) बाट संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनीहरुमाथि तेस्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप छ।

अभियुक्तहरूलाई फरार भनी करारनामा दिइसकेको बेलामा  महोत्तरी प्रहरीले पक्राउ गर्नबाट पछि हटेको अवस्थामा असई विकको हत्याका फरार अभियुक्तहरु मध्येका एक महोत्तरी ३ ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद अभिराम शर्मा  अदालतमा हाजिर भएका छन्।

महोत्तरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको असई विकको हत्या मुद्दामा शर्मासहित जलेश्वर–६ का रमेशप्रसाद साह, सतिसनन्द चौधरी, राजा चौधरी, नरेश साह, रामराजा साह, हरिओम कुमार भगत, बिक्की साह, जलेश्वर–९ का चन्देश्वर साह, गोलु साह, रवीन्द्रराम चमार, रञ्जित साह, देवेन्द्र चौधरी, पवन कापडी, अनिल ठाकुर, फुले यादव, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, लक्ष्मी महतो, धमेन्द्र राय र सुरेश पाण्डेलाई अभियुक्त बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.