मनोमानी ढंगबाट विद्यालय समायोजन र तह घटुवा गरेको आरोप

|

धनगढी : विद्यालयलाई बन्द हडताल मुक्त राख्ने घोषणा गरेका दललेनै विद्यालयलाई बन्द घोषणा गरेका छन्। आफ्नै घोषणपत्र र संविधानविपरीत नेपाली कांग्रेस घोडाघोडी नगर कार्य समितिले घोडाघोडी नगरपालिकाभित्र अनिश्चितकालीन आम शैक्षिक हडतालकाे घोषणा गरेको छ।

घोडाघोडी नगर क्षेत्रमा रहेका ५७ विद्यालयमध्ये चार विद्यालय समायोजन र ९ विद्यालयको तह घटुवा गरेको छ। नगर प्रमुख ममताप्रसाद चौधरीले मनोमानी ढंगबाट नगरपालिका भित्रका विद्यालय समायोजन तथा तह घटुवा गरेको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरेर शैक्षिक हडतालका घोषणा गरोको हो। नगरपालिकाले गरेको निर्णय फिर्ता नलिँदासम्म विद्यालय संचालन गर्न नदिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

घोडाघोडी नगरकार्य समितिका कार्यवहाक सभापति बमबहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय समायोजन तथा तह घटुवा गरेको बिरोधमा चरणबद्ध आन्दोलन गरे पनि प्रमुख चौधरीले चासो नदिएको भन्दै २७ गते देखि अनिश्चितकालीन आम शैक्षिक हडतालका घोषणा गरेको उल्लेख छ। राजनीतिक दल नै विद्यायल बन्दको घोषणा गरेपछि आइतबारदेखि घोडाघोडी नगरपालिकाभित्र रहेका नीजि तथा सामुदायिक बिद्यालयहरूको पठनपाठन अवरुद्ध भएको छ। बन्दको पहिलो दिन नगरपालिका भित्रका  ५७ सामुदायिक विद्यालय र  ३७ निजी विद्यालयको पठनपाठन अवरुद्ध भएको छ।

‘अहिले विद्यालयमा एसईईको पुरक परीक्षामा चलिरहेको छ। परीक्षा पनि नियमित पठनपाठन गर्न नदिने गरी विद्यालय बन्द गर्न दवाब आएको छ’ कान्तिराज्य उच्च मावि पहलमानपुरका प्राचार्य उमाकान्त मिश्रले भने, ‘आइतबार बन्द गर्‍यौं। आज पनि नखोल्नुहोला भनेका छन्।’ विद्यालय बन्द गर्नु गलत भएको शिक्षक तथा विद्यार्थीले बताए। ‘समायोजनका विषयमा नगरपालिका गम्भीर बन्न नसकेकै हो । तर समायोजननै चित्त बुझ्दो भएन भनेर विद्यालय बन्द घोषणा गर्नु कुनै पनि राजनीतिक दलको दायित्वभित्र पर्दैन। राष्ट्रिय उच्च माध्यामिक विद्यालय सुखडका सह-प्रध्यापक प्रभात बोगटीले बताए।

‘विद्यार्थीको पढ्न पाउने अधिकारलाई रोक्ने अधिकार कसैलाई छैन।असन्तुष्टि भए अरु थुप्रै तरिकाले राख्न सकिन्छ। तर शैक्षिक हडताल नै गर्नु गलत हो’ उनले भने। नेपाली कांग्रेसले भने बाध्य भएर विद्यालय बन्द गर्नु परेको जनाएको छ। बिद्यालयको गुणस्तर, भौतिक पूर्वाधार, शिक्षाको सिकाई, विद्यार्थीहरूको सहभागिता लगायत विभिन्न क्षेत्रमा मूल्यांकन नगरी विद्यालय समायोज र तह घटुवाको निर्णय फिर्ता गराउन विद्यालय बन्दको घोषणा गरिएको क्षेत्र नम्बर ३ क्षेत्रीय उपसभापति लक्ष्मण शाहीले बताए। 

‘हामीले एक महिनादेखि आन्दोलन गरिरहेका छौं। प्रमुखले कुनै चासो दिएनन्। अन्त्यमा बाध्य भएर विद्यालय बन्दको घोषणा गरेका हौं,' शाहीले भने। प्रहरी र प्रशानको दम्भमा मेयरले मनोमानी गर्न खोजेको आरोप शाहीले लगाए। घोडाघोडी नगरपालिका प्रमुख चौधरीले भने छलफलकै चरणमा विद्यालय बन्द गरिएको बताए। नगरपालिकाभित्र सबै अध्ययनपछि विद्यालयको समायोजन तथा तह घटुवाको निर्णय गरिएको चौधरीले बताए। ‘हामीले सबै पक्षसँग छलफल पछि मात्रै निर्णय गरेका हौं,’ प्रमुख चौधरीले भने ‘निर्णयमा हस्ताक्षर गर्नेहरूले फेरि आन्दोलन सुरु गरेका छन्। यो त गलत होइन र ?’ वार्ता र सम्वादबाट समाधान निकाल्नु पर्नेमा विद्यालय बन्द गरेर बिद्यार्थीलाई सास्ती दिएको प्रमुख चौधरीले आरोप लगाए। 

घोडाघोडी नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै विद्यालय शान्तिको क्षेत्र रहेको भन्दै बन्द नगर्न र नगराउन निर्देशन दिएको थियो। आइतबारदेखि घोषणा गरिएको अनिश्चितकालीन आमशैक्षिक हडतालले यस क्षेत्रका हजारौं बालबालिका विद्यालय जानबाट वन्चित भएका छन्। घोडाघोडी नगरपालिका-४ जनकपुरमा रहेको मेलघट्टी माध्यामिक बिद्यालयले सोमबार सूचना जारी गरी विद्यालयमा उपस्थित हुन विद्यार्थीलाई निर्देशन दिएको छ।

चार दिनदेखि नगरपालिकाको ताला अझै खुलेन

नगरपालिकाले एकलौटी रुपमा आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि २०७४ बनाएर विद्यालयहरूको मिलान तथा कक्षा÷तह घटुवाको  बिरोधमा नगरपालिकाको कार्यालयमा लगाइएको ताला एक साता पुग्नैलाग्दा पनि खुल्न सकेको छैन। नेपाल विद्यार्थी संघले गत बुधबार दोस्रो पटक तालाबन्दी गरेको हो।पहिलो पटक साउन १७ गते नेवि संघले नै तालाबन्दी गरेकाे थियो। आफ्ना मागप्रति नगर प्रमुख सकारात्मक नदेखिएको तालाबन्दी जारी राखेको नेवि संघले जनाएको छ। नेवि संघले विद्यालय समायोजन तथा तह मिलान प्रक्रिया तत्काल स्थगित गर्न माग गरेको छ।

नगरपालिकाले सहमति पालना नगरेकाले पुनः तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघ घोडाघोडी नगर समितिका संयोजक कलक जंग सिंहले बताए। ‘यस अघि नगर प्रमुख चौधरी, इलाका प्रशासन कार्यालयका प्रमुख दिनेशकुमार गुप्ता, नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख दीपककुमार आचार्य, वडा १ का वडा अध्यक्ष मनराज शाहीसहित भएको सहमति पूरा नभएपछि पुन तालाबन्दी गरेका हौं’ नेबिसंघ घोडाघोडी नगर संयोजक सिंहले भने।

बुधबार  लगाइएको ताला नखुल्दा नगरपालिकाबाट हुने सबै कामकाज ठप्प भएका छन्। नगरप्रमुखले पटक पटक छलफल भए पनि ताला खोल्न सहमत नभएको बताएका छन्। ‘हामीले धेरै पटक छलफल गरेका छौं। तर ताला खुलेको छैन’ नगरप्रमुख चौधरीले भने। घोडाघोडी नगरपालिकाले भने नगर क्षेत्रभित्र शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यालय समायोजना गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.