|

काठमाडौं : सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी  नेपाल टेलिकम (एनटिसी)ले आर्थिक वर्षमा २०७४/०७५ मा ४५ अर्ब ५६ करोड २८ लाखको संचालन आय पुर्‍याएको छ। १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको नेपाल टेलिकले जनाएको छ। 

एनटिसीको नाफामा सुधार नआउँदा एक वर्षमा तीन अर्ब ७६ करोड कमी आयकर तिरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १३ अर्ब ७२ करोड रुपैयाँको आयक बुझाएको एनटिसीले गत आर्थिक वर्षमा नौ अर्ब ९६ करोड रुपैयाँ आयकर बुझाएको छ। 

एनटिसीले चालु आर्थिक वर्षमा ४४ अर्ब २५ करोड संचालन आयको लक्ष्य निर्माण गरेको छ। एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ। 

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार चालु आर्थिक वर्षमा भ्वाइस सेवातर्फ कूल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्‍याउने तथा डाटा सेवाको घनत्वमा वृद्धि गर्दै ४५ प्रतिशत पुर्‍याउने लक्ष्य छ। पिएसटिएन नौ लेन लाइन सेवातर्फ ४२ हजार २६१ लाइन टेलिफोन वितरण गर्ने र सोही अनुरुप मुलुकका ग्रामीण तथा शहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गर्ने टेलिकमको लक्ष्य छ । 

'चालू आर्थिक वर्षमा एक लाख लाइन आइपी प्रविधिबाट प्रतिस्थापन गरी पिएसटिएन सेवाको कूल जडित क्षमताको करीब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन) क्षमता आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ' वैद्यले भनिन्।

डाटा सेवा विस्तारका लागि फोरजी/एलटिई सेवामार्फत वायरलेस ब्रोडब्याण्ड सेवालाई थप प्रवद्र्धन गर्दै शहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौँलगायत अन्य ठूला शहरमा तीन लाख क्षमताको ‘फाइबर टू दी होम नेटवर्क’ विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गरिने जनाइएको छ। 

ग्रामीण दूरसञ्चार प्रयोग गर्ने

 सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश नं १,२ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्ने टेलिकमले जनाएको छ। पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सीमा क्षेत्र आरुघाटसम्म दुई हजार १७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरिनेछ।

पोस्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने टेलिकमको लक्ष्य छ । 'मुलुकका प्रमुख शहरमा फोरजी सेवा आरम्भ भइसकेकोछ,' प्रवक्ता वैद्यले भनिन्।  मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित टेलिकमले चालू आर्थिक वर्षमा थप बिटिएस जडान गरी सेवा विस्तारलाई तीव्र पारेको छ । सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्न बोलपत्र आह्वान गरेको टेलिकमले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.