|

मनाङ : मनाङमा पुर्ख्यौली पेसाको रूपमा रहेको चौँरीपालन धरासायी बन्दै गएको छ। हिमाली भेगको पहिचानको रूपमा रहेको यस पेसालाई निरन्तरता दिनका लागि यहाँका केही मानिसहरूले जेनतेन धानिरहेको अवस्था छ। उच्च हिमाली भेगमा हिमालको काखमा हिमाली जडिबुटी चरेर बाँच्ने चौँरीहरूलाई हिमपहिरोका कारण चरन क्षेत्रको अभाव हुँदै आएको छ।

८० वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हुँदैनथ्यो। १५-२० वर्ष अगाडिसम्म उनले गर्मीमा समेत भांग्रा भोटोसँगै चार पाँचवटा बाक्ला कपडा लगाउँथे। तर अहिले साधारण ज्याकेटको भरमा पनि जाडो कटाउन सक्ने भएका छन्। 

उमेरले आठ दशक चौँरी पालेरै जिन्दगी बित्यो तर अहिले यही काम गर्दा कल्पना नगरेका समस्याहरू आउन थालेका छन् उनलाई। पहिला  मनाङको धारापानी गाउँदेखि नै हिउँ पथ्र्यो अहिले यो सर्दैसर्दै माथि मनाङ पुगिसक्यो। हिमनदीहरू हिउँले ढकमक्क हुन्थे। ओंगेल गुरुङको भनाइअनुसार पहिले टिलपिल टिलपिल हिउँका दानेदार रेखाहरूले मनमोहक बनाउँथ्यो। अहिले बगरमा परिणत भएका हिमनदी उदांग देखिन्छन्। चौँरी  खर्कभरि सेता हिउँका थुप्रा महिनौँ दिनसम्म बिलाउँदैनने तर अहिले हिउँ पर्दापर्दै बिलाएर जान्छ। 

पहिला पहिला एकै व्यक्तिका तीनदेखि चार सय चौँरीहरू हुन्थे। चौँरी खर्क पूरै चौँरीले भरिने गर्थे तर अहिले चौँरी खर्कहरू बगर भएका छन्। उहाँकै पनि पहिले २०० चौँरी थिए, अहिले जम्मा ७० वटा छन्। गाउँभरिका सबैले चौँरी पाल्ने गर्थे। खर्कभरि हजार बढी चौँरी चरिरहन्थे। चौँरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसारमाथिका हिमाली काख हुँदै तिलिचो वेसक्याम्प र मुस्ताङ नजिकका खर्कहरूमा पुर्‍याउँदा बर्खा सकिन्थ्यो। हिउँद लागेपछि विस्तारै विस्तारै तलतिर झर्ने गरेको उनको अनुभव छ। 

त्यस्तै, यहाँका अर्का पुराना चौँरीपालक ६५ वर्षीय तप्के गुरुङको अनुभव पनि उस्तै छ। उनले विगत ४० वर्षदेखि चौँरी पाल्दै आएका छन्। गर्मीको सिजनमा पनि भांग्रा र भोटो मात्रै होइन, चार पाँचवटा बाक्ला कपडा थप्दा पनि जाडो थेग्न कठिन पथ्र्यो। हिमनदीहरू गाउँबाटै सुरु हुन्थे तर अहिले हिमालको टुप्पामा पनि हिउँ छैन। यसले पनि जलवायु परिवर्तनको पुष्टि हुन्छ। यसरी दिनानुदिन वातावरणमा खलबल आउँदा चौँरीपालन पेसा नै धरापमा परेको छ भने हिमालको अस्तित्व नै संकटमा पर्दै गएको स्थानीय बताउँछन्। 

परापूर्वकालदेखि नै हिमालको काखमा चौँरी गोठहरू राखेर आफ्नो आधा उमेरभन्दा बढी चौँरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथा व्यथा उस्तै छ। नारका लेकहरूमा रहेका चौँरी खर्कपिच्छेका घटना र उनको जीवन कथाले जो कोही मुग्ध हुने गरेका छन्। सानै उमेरदेखि चौँरी गोठमा बसेका टसी फुन्जो नारका सबै खर्कहरूका अनुभवी हुन्। 

कांला लेकदेखि चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक र फु को क्याङदेखि तिब्बतको सिमानासम्मका खर्कहरूमा बस्दाको लामो अनुभव छ उनीसँग। उनको जीवनमा हिउँमा गडेका चौँरी उतार्नदेखि हिउँ चितुवाबाट घाइते चौँरीहरूको स्याहार सुसारको लामो अनुभव छ। उनी गोठमा बसेर चौँरीको दूध, घ्युबाट बन्ने विभिन्न परिकारहरू चिज, छुर्पी, नौनीले आफ्नो घरेलु समस्या टार्दै आएका छन्। यहाँका बासिन्दाहरू चौँरीको ऊनबाट आफूले लगाउने कपडाहरू– फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामानहरू  निर्माण गरी गुजारा चलाउने गर्छन्।

अग्लाअग्ला हिमालका काखमा रहेका खर्कहरूमा चौँरी राख्ने अनि जडिबुटी जम्मा गर्ने र हिउँदमा खर्कहरू तल सर्दा जडिबुटी बोकेर झर्ने मनाङबासीको पुरानै चलन हो। लेकमा रहँदा बस्दा जम्मा गरेका जडिबुटीहरू जाडो छल्न बाहिरी जिल्ला, विशेषगरी लमजुङ, तनहुँ, पोखरा काठमाडौँलगायत ठाउँहरूमा बेचेर वा चामलसँग साटेर गर्मी लागेपछि गाउँ फर्किने चलन रहेको मनाङका पुराना चौँरीपालक खम्बा गुरुङको अनुभव छ। 

विशेषगरी चौँरी खर्कहरू चार हजार मिटरभन्दा माथि हुने हुँदा चौँरीलाई उचित हावापानी मिल्ने अर्का चौँरीपालक सुरेश थकालीले बताए। तर यो हिमालमा बस्ने जंगली जनावर स्थानीयहरूले घरपालुवा जस्तै बनाएकामा भने उनको  चित्त बुझेको छैन। उनले यिनै चौँरीबाट मनग्य आम्दानी पनि गरेका छन्। सुरेश थकालीको भनाइअनुसार चौँरीलाई हिमालकै काखमा राख्नुपर्छ भन्ने होइन तर यसलाई निश्चित प्राकृतिक  बासस्थानमा भने राख्नै पर्छ। 

हिजोआज जलवायु परिवर्तनसँगै बेमौसममा हिमपात हुने, हिमपहिरोले खर्कहरू पुरिने समस्याले गर्दा चौँरी पाल्न असहज भएको स्थानीय खम्बा गुरुङको भनाइ छ। आफू १० वर्षको उमेरदेखि चौँरी गोठमा बसेको र हालसम पनि चौँरी गोठमा नै रमाइरहेको उनी बताउँछन्। उनीसँग चौँरी र खर्कहरूको २० वर्ष लामो अनुभव छ। चौँरी खर्कमा जाँदाआउँदा वरिपरि हिमाली जंगली जनावरहरू घोरल, मृग, बँदेल, नाउरलगायतका जनावरलाइ हिउँचितुवाले लखेटिरहेका हुन्थे। आजभोलि न मृग देखिन्छन्, न त हिउँचितुवा नै। जताततै बगर र खाली छन्। 

नाफ्का मिङ्मार लामाको अनुभवमा हाल सबै चिजले ठाउँ परिवर्तन गरेजस्तो लाग्छ। हिमालको काखबाट बग्ने पानीका मुहानहरू सुकेका छन्, जडिबुटी पहिलेको जस्तो छ्यापछ्याप्ती पाइँदैन, चौँरीका हुलका हुल बथान लिएर हिँड्थे, गोठालाहरू पाखैभरि चौँरीका पछिपछि हुन्थे। ‘अहिले त एक दुईवटा गोठहरू छन्, त्यो पनि खर्कको अभावले सखाप हुने अवस्था छ’, उनले भने। 

बर्खाको सिजनमा चौँरी लिएर खर्कहरू सार्दै तिब्बतको बोर्डरसम्म पुगेको सम्झन्छन् स्थानीय। हिउँदको सिजन लागेर खर्कहरूमा हिमपात हुन थालेपछि खर्कहरू गाउँको वरिपरि सारिन्थ्यो। निस्याङ– ३ का याङदुङ गुरुङको पनि उस्तै अनुभव छ। ‘गोठालाहरू धेरै भएर तीर हान्ने, घोडा दौड गरेर रमाइलो गरिन्थ्यो। अहिलेको जस्तो सधैँ हिमपात हुँदैनथ्यो। हिमपात सिजनमा मात्रै हुन्थ्यो’, उनी भन्छन्, ‘खर्कहरूमा प्रशस्त घाँस पलाउँथे तर अहिले हिउँपहिरोले सबै खर्कहरू पुरिएका छन्। घाँस उम्रन छाडेको छ, हिउँले खर्कहरू छोपिएको छ। हिमपातले कठ्याङ्ग्रिएर चौँरीहरू मर्ने गरेका छन्।’

पहिले मनाङबासी प्रायः सबैले चौँरी पाल्थे भने अहिले खर्कहरूको अभावले पुराना केही सीमित चौँरीपालकले मात्रै यस पेसालाई निरन्तरता दिएका छन्। मनाङमा रहेका प्रत्येक गाउँमा २० देखि २५ घरले चौँरी पाल्दै आएकामा अहिले घटेर चार, पाँच घरले मात्र यो पेसा अँगालेको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक छ।
वातावरणविद् डा. भोला विडुवाका अनुसार बेसिजनमा हिमपात हुनु, बढी गर्मीका कारण हिउँ पग्लिएर हिउँपहिरो जानु, खर्कहरूमा उम्रिने घाँसहरू लोप हुँदै जानु, चौँरीहरूमा रोगहरूको संक्रमण देखिनुले जलवायु पविर्तनको प्रत्यक्ष असरको संकेत गर्छ।

हिउँपहिरो, बेमौसमी हिमपात हुनु नै चौँरी खर्कहरूमा देखिएको असर हो। हिउँपहिरोको कारण खर्कहरू पुरिनुका साथै घाँसपात कम उम्रिनु पनि चौँरीपालकहरूलाई ठूलो समस्या हुनु हो।

हाल आफ्नो पेसालाई बचाई राख्नका लागि व्यावसायिक फार्म दर्ता गरी मनाङका विभिन्न ठाउँ, याक खर्क, आइस लेक, नाम्के लेक, डाँफे लेक, क्याङ, भीमताङलगायतका खर्कहरूमा  चौँरीपालन गरिँदै आएको पशु सेवा कार्यलय चामे मनाङले जनाएको छ।

पशु सेवा कार्यलय मनाङका अनुसार हालसम्म यस जिल्लामा याक र चौँरी गरी जम्मा तीन हजार २७२ रहेका छन्। चरनको अभावले यो संख्या दिनदिनै घट्ने क्रममा देखिन्छ। यहाँ हालसम्म १५ वटा चौँरी फार्महरू घरेलु तथा साना उद्योग  कार्यालयमा दर्ता भएका छन्। त्यस्तै, दर्ताबिनाका १५ वटा  भन्दा बढी चौँरी फार्म रहेका छन्। यसरी दिनानु दिन चौँरीको संख्या घट्नुको प्रमुख कारण खर्कहरूको अभाव रहेको पशु स्वास्थ्य कार्यालय मनाङका पशु चिकित्सक डा. पौडेलको भनाइ छ। 

चौँरीपालनका समस्यहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर अनुसन्धान भइरहेको  जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सूर्यप्रसाद पौडेलले बताए। उनका अनुसार चरनको अभावले चौँरीहरूमा कुपोषण, निमोनिया जस्ता रोगहरू देखापरेका छन्। चौँरीमा देखिएका रोगहरूको निराकरणका लागि जिल्ला पशु स्वास्थ्य सेवा कार्यालयले काम गरिरहेको डा. पौडेलको भनाइ छ। 

चौँरीहरूमा देखापरेका रोगहरूको रोकथाम र खर्कहरूमा भएका समस्याको तत्कालीन समाधानका लागि घाँसहरू रोप्ने काम भए तापनि प्रभावकारी नभएको उनले बताए। चौँरीपालनलाई कसरी सहज बनाउन सकिन्छ र चौँरी खर्कहरूको वैकल्पिक उपायहरूको बारेमा अनुसन्धान भएको डा. पौडेलले जानकारी दिए।
केही चौँरीपालकहरूले पशु बीमा गरेका छन् भने केहीले बीमा गर्न बाँकी रहेको पशु बीमा कम्पनीले जनाएको छ। मनाङ ओडार गाउँका युवा चौँरीपालक सुरेश थकालीले हालको अवस्थाले आफूलाई चिन्तित बनाएकाले परीक्षणका लागि आफूले २२ सय मिटरमा चौँरी गोठ राखेको र सफल भएको बताए। परीक्षणकालमा सुरुसुरुमा कठिन भए तापनि हाल सहज भएको उनको अनुभव छ। 

चौँरीपालकहरूले व्यवसायलाई निरन्तरता दिने हो भने  वैकल्पिक खर्कहरूको निर्माण गरिनुपर्ने थकालीले बताए। थकालीका अनुसार गाउँ क्षेत्रका खाली पाटनहरूमा चौँरी खर्क बनाउन सकिन्छ। दानाको व्यवस्था गरेर घरमै गाई वस्तुझैँ पाल्न सकिने उनको भनाइ छ। जिल्ला वन कार्यालय मनाङका अनुसार कुनै पनि निजी खर्कहरू नभएकाले र सबै सामुदायिक  खर्कहरूमा चौँरीहरू राख्ने गरिएको छ।

सामुदायिक खर्कले ३७ हजार ७६० हेक्टर जमिन ओगटेको छ। पछिल्लो समय हिमपहिरोका कारण अधिकांश खर्कहरू बगरमा परिणत भएका छन्।  
प्रतिकूल परिस्थितिमा पनि मनाङबासीमा चौँरीमोह हटेको छैन। यहाँका मानिसहरूको मुख्य पेसा नै चौँरीपालन भएकाले यस पेसालाई निरन्तरता दिनुपर्ने चौँरीपालक कान्छा गुरुङले बताए।  चौँरी खर्कको उचित व्यवस्थापन नहुँदा पुर्ख्यौली पेसा नै धरापमा परेको छ। 

मनाङबासीका लागि पशुपालन, जडिबुटी र पर्यटन व्यवसाय नै जीविकोपार्जनका प्रमुख आधारहरू हुन् तर पछिल्लो समय चौँरीपालक किसानहरूलाई आफ्नो पुर्ख्यौली पेसा थेग्न कठिन परेको छ। पशुपालन व्यवसायले समयानुकूल आधुनिकीकरणको माग गरिरहेको सन्दर्भमा सरकारी निकाय तथा निजी र गैरसरकारी संस्थाहरूको सहकार्यमा पशुपालनलाई व्यावसायीकरण गर्न अपरिहार्य रहेको स्थानीयको भनाइ छ। 

जलवायु परिवर्तनले मानव जीवनलाई प्रत्यक्ष रूपमा असर पार्दै आएको अवस्थामा मनाङका चौँरीपालक र चौँरी खर्कमा पनि यसको गम्भीर असर देखिएको छ। यसले गर्दा चौँरीपालकहरू वैकल्पिक चौँरी खर्कहरूको विकास गर्नका लागि सहयोगको आशमा रहेका छन्। चौँरी खर्क वरिपरि तार जाली, प्रत्येक गोठमा सोलार प्यानेल राख्ने हो भने हिउँपहिरो र जंगली जनावरबाट सुरक्षा हुने चौँरीपालकहरूको भनाइ छ। 

पुर्ख्यौली पेसा नै धरापमा पर्दै गएको अवस्थामा स्थानीय निकाय, प्रदेश र केन्द्रीय सरकारको ध्यान पुगेमा हिमाली जिल्लाको पहिचानको रूपमा रहेको यस पेसाले निरन्तरता पउने अपेक्षा स्थानीयको छ। सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रमलगायत, कृषि र पशुपालनलाई लक्ष्य गरिएका अन्य कार्यक्रमले यतातिर ध्यान दिएमा चौँरीपालकलाई सहज हुने धारणा चौँरीपालकहरूको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.